टर्कीको सरकारी एयरोस्पेस कम्पनीमा आक्रमण, चार जनाको मृत्यु, धेरै घाइते

डिसी नेपाल
८ कार्तिक २०८१ १०:५७

काठमाडौं । टर्कीको अंकारामा बुधबार सरकारी उड्डयन कम्पनी बाहिर विस्फोट भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार टर्किस एरोस्पेस इन्डस्ट्रिज बाहिर विस्फोट र गोलीबारी भएको थियो ।

यस आक्रमणमा हालसम्म चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने १४ जना घाइते भएका छन् । यो कम्पनी उत्तर-पश्चिम अंकारा देखि २८ किलोमिटरको दूरीमा स्थित छ।

टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले आफ्नो एक्स खातामा यस आक्रमणलाई आतंकवादी हमला भनेका छन्। उनले लेखेका छन्, ‘यो आक्रमणमा केही शहीद भएका छन् र धेरै घाइते भएका छन् ।’

सामाजिक सञ्जालमा भाइरल भइरहेको सीसीटीभी फुटेजमा एयरलाइन्स भित्र दुईजना हतियारधारी व्यक्ति रहेको देख्न सकिन्छ ।

बीबीसीका कूटनीतिक संवाददाता पल एडम्सले त्यहाँ कतिजना आक्रमणकारी थिए भन्ने अहिले नै भन्न नसकिने बताए ।

यद्यपि टर्कीका आन्तरिक मन्त्रीले त्यहाँ दुईजना आक्रमणकारी रहेको बताएका छन्।

यो हतियार र एयरोस्पेस टेक्नोलोजीसँग सम्बन्धित सरकारी कम्पनी हो, जसको मुख्यालय राजधानी अंकारा नजिक छ।

यो कम्पनीले सैन्य, नागरिक विमान र हेलिकप्टर बनाउँछ।

यसबाहेक, कम्पनीले टर्की सेनाका लागि ड्रोन प्रणाली पनि बनाउँछ। यो कम्पनीले विश्वका धेरै देशहरूमा हतियार र ड्रोन पनि निर्यात गर्छ।

टर्कीले विश्वका अन्य देशबाट हतियारमाथिको निर्भरता कम गर्न यो कम्पनी बनाएको थियो । यस कम्पनीको निर्माणमा नेटो सदस्य राष्ट्रले महत्वपूर्ण भूमिका खेलेको छ र अमेरिकाको एफ-१६ लडाकु विमान पनि यहाँ निर्माण गरिन्छ। साथै पुराना लडाकु विमानलाई आधुनिकीकरण गर्ने काम पनि यही कम्पनीमा भइरहेको छ ।

बीबीसीका रक्षा संवाददाता फ्रान्क गार्डनरले टर्कीमा हुने आतंकवादी हमला कुनै नयाँ कुरा नभएको बताएका छन् ।

ऐतिहासिक रूपमा, कुर्दिश पृथकतावादीहरूलाई त्यस्ता आक्रमणहरूको लागि जिम्मेवार ठहराइएको छ। कुर्दिश पृथकतावादीहरूको शिविर उत्तरी सिरियामा छ। टर्की वायुसेनाले यी क्षेत्रमा लगातार हवाई हमला गरिरहेको छ।

तर टर्कीमा इस्लामिक स्टेट (आईएस)को पनि उपस्थिति छ।

आक्रमण भएको टर्किस एरोस्पेस कम्पनीले बनाएको ड्रोनका कारण आर्मेनिया र अजरबैजानबीचको युद्धको समीकरण नै बदलिएको छ ।

जब रुसले युक्रेनमा आक्रमण गर्‍यो, सुरुका दिनहरूमा रुसी ट्याङ्कहरूलाई टर्किमा बनाइएको ड्रोनद्वारा निशाना बनाइयो। पछि युक्रेनले नै ड्रोन बनाउन थाल्यो ।

अहिले यस विषयमा अनुसन्धान सुरु भएको छ । यस हमलाबाट कसलाई फाइदा भयो र किन यो हमला गरियो भन्ने कुरा अनुसन्धानले मात्रै खुल्नेछ ।

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *