बैतडीमा ७ हजार नयाँ मतदाता, अद्यावधिक कार्य सम्पन्न

डिसी नेपाल
३० साउन २०७६ १०:४९

बैतडी । आउँदो मङ्सिरमा हुने उपनिर्वाचनका लागि बैतडीमा मतदाता नामावली अद्यावधिक कार्य सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र घुम्ती शिविरमार्फत सङ्कलन गरिएको मतदाता नामावली सङ्कलन अद्यावधिक गरेर निर्वाचन आयोगमा पठाइएको हो।

बैतडीमा यही साउन १६ गतेसम्म एक लाख ४३ हजार २४३ ले मतदाता नामावलीमा नाम दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी माधव फुयालले जानकारी दिए। विसं २०७४ भदौ ४ गतेसम्म बैतडीमा एक लाख ३६ हजार २४२ को मतदाता नामावलीमा नाम दर्ता रहेको थियो।

प्रतिनिधिसभाको निर्वाचनमा एक लाख ३२ हजार ३१९ ले मतदान गर्न पाउने अन्तिममा नामावली आएको थियो। मतदान गर्न नपाउने १६ वर्ष पूरा भई १८ वर्ष नपुगेका रहेका थिए । १८ वर्ष पूरा भएपछि मात्रै निर्वाचन मतदानमा सहभागी हुन पाउने व्यवस्था छ। त्यसपश्चात पुनः शुरु भएको मतदाता नामावली सङ्कलनमा बैतडीमा सात हजार एक जनाले आफ्नो नाम दर्ता गराएका छन्।

सङ्कलन भएका मतदाता नामावली निर्वाचन आयोगमा पठाइसकिएको र भदौ दोस्रो हप्तामा मात्र वास्तविक नामावली आउने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ। बैतडीका तीन वडामा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुने भएको छ । वडाध्यक्ष रिक्त रहेको दोगडाकेदार गाउँपालिका–४, पुर्चौडी नगरपालिका–४ र सुर्नया गाउँपालिका–१ मा उपनिर्वाचन हुन लागेको हो।

दोगडाकेदार गाउँपालिका–४ का वडाध्यक्ष मानबहादुर विष्टको बिरामी भई निधन भएको र पुर्चौडी नगरपालिका–४ का वडाध्यक्ष गौतमप्रसाद भट्ट र सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष कलशबहादुर चन्दको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। उपनिर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता भएकाले मत हाल्न पाउने छन्। बैतडीसहित देशभर रिक्त रहेका विभिन्न ५१ पदका लागि आगामी मङ्सिरमा उपनिर्वाचन हुँदैछ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *