नाबालिग बलात्कारका आरोपी बचाउन एसपी नै लागेपछि १५ दिन ढिलो गरी अनुसन्धान सुरु

डिसी नेपाल
९ कार्तिक २०८१ ८:१४

काठमाडौं। दाङको भालुवाङमा नाबालिग बलात्कार गरेको विषयमा सशस्त्र प्रहरीका एसपी नै बचाउन लागेपछि प्रहरीले आरोपीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। बालिका बलात्कृत भएको १५ दिनपछि मात्रै आरोपीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ।

सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्। उनीहरुले बलात्कार गरेको विषयमा गणभित्र यसअघि नै थाह भएपनि त्यहाँका एसपी रमेश थापाले लुकाउन खोज्दा आरोपीहरु पक्राउ पर्न सकेका थिएनन्।

सो आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका दुई सहायक हवलदार पक्राउ परेका छन्। ‘राप्ती गाउँपालिका-१, भालुवाङ पुल्चोकमा रहेको सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ मा कार्यरत सशस्त्र प्रहरीका सहायक हवलदार भरत रोकामगर र रेवन पचभैया मगर पक्राउ परेका हुन्’, लुम्बिनी प्रदेश प्रमुख डीआईजी कुबेर कठायतले बताए।

सशस्त्र कार्यालय बाहिर दशैंमा पिङ खेल्न गएको बेला ती हवल्दारले दुई बालिकालाई बलात्कार गरेको खुलेको छ।

गत असोज २४ गते भालुवाङ पुल्चोक बजारमा डेरा गरी बस्ने ८ वर्षीय र १४ वर्षीय बालिका पिङ खेल्न गएको अवस्थामा बलात्कार गरेको पीडित पक्षको जाहेरीका आधारमा अनुसन्धानका लागि सशस्त्र प्रहरीका आरोपित दुई सहायक हवलदारलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाइएको हो सशस्त्र प्रहरी मूख्यालय जनाएको छ।

‘सशस्त्र प्रहरीका दुई कर्मचारीमाथि आरोप लागेपछि अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ’, सशस्त्र प्रहरी मूख्यालयका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले भने।

घटना असोज २४ गतेको भएपनि ढाकछोपका कारणले ढिला गरी सार्वजनिक भएको हो। उनीहरूलाई हिजो जिल्ला अदालत दाङबाट अनुसन्धान लागि म्याद थप गरिएको छ।

दशैंको समयमा, असोज २४ गते बेलुकीपख गणनजिकै पिङ खेल्न गएका ८ वर्षीया र १४ वर्षीया बालिकामाथि अपरिचित व्यक्तिले बलात्कार गरेको भन्दै पीडितका आफन्तले सोही रात प्रहरीलाई सूचना दिएका थिए। सूचना पाएलगत्तै प्रहरीले अनुसन्धान थाले पनि बलात्कारमा संलग्न भनिएका व्यक्तिको पहिचान हुन सकिरहेको थिएन।

‘सशस्त्र प्रहरीकै एसपी थापाले उनीहरुलाई संरक्षण गरेको देखियो’,स्रोतले भन्यो। प्रहरीले लामो समयसम्म पनि दोषी पहिचान गरी नियन्त्रणमा लिन नसकेको भन्दै स्थानीयले बुधबार विरोध गरेका थिए।

बुधबार त स्थानीयले भालुवाङ बजार बन्द गराउनुका साथै त्यहाँको सशस्त्र प्रहरीको २९ नम्बर ज्वालामाई गणमासमेत घेराउ गर्दै आरोपितलाई नजोगाउन माग गरेपछि बाध्य भएर एसपी थापाले उनीहरुलाई अनुसन्धानका लागि जिम्मा लगाएका हुन्।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपीथापाले घटना अनुसन्धानका लागि सशस्त्र प्रहरीले निष्पक्ष रूपमा सघाउने बताए। ‘कुनै व्यक्तिले गर्ने गल्तीमा सिंगो संगठन जोड्न हुँदैन, एसपी साबले पनि जोगाउन खोज्नु भयो होला भन्ने हामीले कल्पना गर्दैनौ, थाह पाएपछि उहाँले नै अनुसन्धान लागि पठाउनु भएको होला’, डिएसपी थापाले भने।

तर त्यहाँका एसपी निकै विवादित रहेका छन्। विगतमा सिराहको कमाण्ड गर्दा पनि उनी विवादित भएका थिए। मदिरा तस्करीको गाडीले छाडेको र त्यही गाडीले भारतीय नागरिकलाई ठक्कर दिएको विषयमा उनी विवादमा तानिएका थिए।

अहिले दाङमा पनि भालुवाङबाट गाई गोरु तस्करी हुनुमा उनको हात रहेको भन्दै सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *