लघु कथा : सम्बन्ध

सविता बस्नेत दानी
१० कार्तिक २०८१ ५:४२

“किन हो के आज, के भयो तिमीलाई? कति छट्पटिएकी रातिको १२ बजिसक्यो सुत अब”

मनिषा बारम्बार कोल्टे फेरिरहँदा सायद उनीसँगै सुतेका श्रीमानलाई डिष्ट्रब भएछ क्यारे निद्राबाट ब्युँझेर कराउन थाले।
“हस सुत्छु” बनावटी जवाफ तयार थियो मनिषासँग।

उनी आँखा चिम्लेर निदाउने धेरै कोसिस गरिन्, लामो-लामो सास फेरिन्, १ देखि १०० सुल्टो र उल्टो गन्ने कोसिस गरिन् तर २०-२५ सम्म गनेपछि मन टक्क अडिन्थ्यो, झलझली अबोध बालिका कृषाको मुहार आँखा वरपर घुमिरहन्थ्यो।

“म्याम, हिजो राति पनि मेरो पापा र मम्माको फाइट परेको नि, मेरो पापाले मम्मालाई बक्सिङ हान्सेको अनि मम्माले किक हान्सेको, पापाले त मामुको ल्यापटप पनि फुटाइदिसियो। मम्माले पनि ढोकामा किक हान्सियो, मलाई र दादालाई कति धेरै डर लागेको थियो, हिजो हामी त भोकै सुतेको नि म्याम” एकै सासमा कृषाले बोल्दा मनिषालाई आङै जिरिङ भएको थियो।

“पछि त पापा कता गैसियो-गैसियो, मम्मा पनि ढोका लगाएर रुँदै बसिसियो, हामीले मम्मा भोक लाग्यो भनेर भन्दा पनि सुन्सेन। अस्ति नै सन्डे पनि फाइट परेको थियो पापा मम्मीको। त्यति बेला त पापाले मलाई टिपेर सोफामा फाल्दिसेको, दादालाई पनि धकेलिसेको थियो, दादा त भित्तामा ठोकिसेको।”

मनिषा असमन्जसमा परेकी थिइन् के बोल्ने मेसो नै पाउन सकेकी थिइन्, अबोध बालसुलभता देखेर।

“म्याम, अब हाम्रो पापा र मम्मा त सँगै नबस्ने रे। पापा अनिसा आन्टीसँग बस्ने रे, अनि मम्मा पनि प्रमोद अकंलसँग बस्ने रे…….. हामी चाहिँ कहाँ बस्ने होला है म्याम? मामाघर जाँदा मम्मीले आमासँग कुरा गरेको सुनेको म मम्मासँग बस्ने रे अनि दादा पापासँग। नभए हामीलाई होस्टेलमा राखिदिने रे। मलाई र दादालाई मम्मा पापा सबैसँग बस्न मन छ म्याम, म त होस्टेल नबस्ने।”

कृषाको भावविहीन अनुहार देखेर मनिषा उद्वेलित भएकी थिइन्।

“म्याम, मलाई त घरै जान मन लाग्दैन, आज पनि राती पापा मम्माको फाइट पर्ने होला। आज छुट्टी नभए नि हुने नि है म्याम? मलाई घरै जानू पर्दैन थियो नि।”
आफनो विद्यार्थीको सबै प्रश्नको उत्तर दिने शिक्षिका आज उत्तर विहीन भएकी थिइन्। सायद जिन्दगीमा पहिलो पटक उनले साना बालबालिकालाई सम्झाउने शब्दको कमी महसुस गरेकी थिइन्। उमेर ६-७ बर्षको भएर के गर्नु, जिन्दगीले ठक्कर ख्वाए पछि।

स्कुलबाट घर फर्किए पनि मन भने उतैतिर हराएको थियो मनिषाको। आमाको मन न हो, भत्भती पोलिरहेको थियो, अनेकौ तरंगहरु चलिरहेका थिए मनभित्र।
‘के आज पनि कृषाको पापा मम्मा झगडा गर्दै होलान्? आज पनि हात हाला-हाल भएको होला? बिचरा ती अबोध बालबालिका के गर्दै होलान्? खाना खाए होलान् कि खाएनन् होला?‘

उनको मुख सुकेर आयो, उठेर बोतलको पानी घटघट पिइन्।

उनको शरीर पुरै पसिनाले भिजेको थियो, लामो सास फेरिन्, सुस्केरा हालिन्, सँगै सुतेकी छोरीलाई एक तमासले हेरिरहिन्,। छोरीको अनुहारमा कृषाको अनुहार देखिन्।
“म्याम आज छुट्टी नभए नि हुने नि मलाई घरै जानु पर्दैन थियो नि”

कृषाको यही वाक्य बारम्बार उनको कानमा गुन्जिरहेको थियो, एकछिन कान थुनेर बस्दापनि झन् झन् ठूलो स्वरमा यहि वाक्य गुन्जिरहन्थ्यो। दुबै हातले कान डम्म थुनिन् र आँखा बेस्सरी चिम्लिइन्, निदाउन खोजिन्, तर आँखामा गढेको कृषाको विचलित मुहारले निद्रादेवीसँग निहुँ खोजिरहेको थियो ……

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *