खानेपानी समस्या सम्बोधन गर्न ४२ अर्बको परियोजना ल्याउने तयारीमा छौँ: मन्त्री यादव

डिसी नेपाल
१० कार्तिक २०८१ १८:२७

पर्सा। खानेपानीमन्त्री प्रदीप यादवले तराई मधेसका जिल्लामा देखिएको खानीपानी समस्या समाधानका लागि सरकारले रु ४२ अर्बको परियोजना ल्याउने तयारी गरेको जानकारी दिएका छन्।

रेडियो सिमाञ्चलको आज वीरगञ्जमा एक कार्यक्रमबीचको उद्घाटन गर्दै उनले खानेपानी समस्याको दीघकालीन समाधान गर्न सुनकोशी मरिन डाइर्भसन सिँचाइ परियोजनाबाट मधेसका ६ जिल्लामा खानेपानी पुर्‍याउने योजनामा सरकार रहेको बताए।

मन्त्री यादवले पहिलेदेखि निर्माण भएका तर सञ्चालनमा नआएका ओभर योजना सञ्चालनमा ल्याउनुका साथै डिपटुवेल जडान जस्ता कार्यक्रमलाई सरकारले अगाडि बढाइरहेको बताए।

यसैगरी उनले काठमाडौंवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन सुन्दरीजलमा रु २५ करोड ५० लाख लिटर क्षमता भएको पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको जानकारी दिए। सो कार्य पूरा भएपछि काठमाडौंवासीलाई सातै दिन २४सै घण्टा शुद्ध खानेपानी उपलब्ध गराउन सकिने मन्त्री यादवको भनाइ थियो।

‘सुन्दरीजलबाट काठमाडौंमा ल्याएको पानीमा समस्या भए खानेपानी आपूर्तीलाई सहज बनाई राख्न सिस्नेरीस्थित कुलेखानीको पानी काठमाडौं लैजाने योजना बनाएका छौँ। त्यसका लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाइसकेको छ, चाँडै परियोजनालाई मूर्त रूप दिनेगरी काम अगाडि बढाउँछौँ’, उनले भने।

कार्यक्रममा रेडियो सञ्चालक नेपाल पोष्ट मिडिया प्रालिका अध्यक्ष मनोज पटेल, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानलगायतले पत्रकारितामा बढ्दै गएको विकृतिप्रति चिन्ता व्यक्त गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *