साफ महिला च्याम्पियनसिप : नेपालको सामना भारतसँग

डिसी नेपाल
११ कार्तिक २०८१ ७:००

काठमाडौं। काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलका खेल आज हुँदै छन्।

आज पहिलो सेमिफाइनल खेल बंगलादेश र भुटानबीच अपराह्न साढे १ बजे दशरथ रंगशालामा हुने तालिका रहेको छ। त्यस्तै दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ।

समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन्।

बंगलादेश समूह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो। बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो। त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो। त्यस्तै समूह ए बाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो।

त्यस्तै समूह बी मा भने नेपाल समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो। नेपालले तिन खेलमा कुल १७ गोल गर्यो भने कुनै गोल खाएको छैन।

त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ।

भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *