फूल : प्रणयिता विश्वात्माको प्रणय

हृषिकेश ढकाल
११ कार्तिक २०८१ ११:०३

“नटिप्नु हेर कोपिला!
नचुँड्नु पाप लाग्दछ।
नच्यात्नु फूल नानी हो!
दया र धर्म भाग्दछ॥”
महामानव महाकविजी

फूल!
सुन्तला रङ्गकी सयपत्री फूलमा समर्पित !
फूल!
एक फूलमा समर्पित!
फूल!
सर्वसुगन्धी तुलसीकी मञ्जरी, फूल-मञ्जरीमा समर्पित!
फूल !
घरका भित्ताहरू सजाईरहेकी,
ढकमक्क फुलेर गुलाफी, लहरे-‘र्‍याम्बलर’ गुलाफमा समर्पित!
फूल!
पाहुनाको स्वागतमा गेटमा मधुमालतीसँगै ढकमक्क सजिएकी,
“बार्बारा कार्स्ट” र “मोनरोभिया रेड बर्गन्डी क्वीन” बुगनभिलियामा समर्पित!
फूल!
सम्पूर्ण फूलमा समर्पित!
फूल!
फूलको अवधारणामा समर्पित!

श्रीतलेजु भवानी

उपक्षेप

फूल
फूललाई
फूल
फूलरूपी ईश्वरलाई
फूल
फूलरूपी हृदयहरूलाई
फूल
फूलै फूलको मौसमलाई
फूल
बहारलाई
अनि फूल! उत्सवरूपी जीवन-तिहारलाई

फूल

केही शब्द फूललाई-

फूल के हो? फुलिदिनु फूल हो। केवल फुलिदिनु। बस्। जगका लागि फुलिदिनु, अर्काका लागि फुलिदिनु फूल हो, अरूका लागि फुलिदिनु फूल हो। कोही कसरी अरूका लागि मात्रै फुल्न सक्छ? कोही सक्तैन। एक फूलले सक्छ। केवल फूलले सक्छ। पूर्णतः स्वार्थ रहित हुनु फूल हुनु हो। पूर्णतः स्वार्थ रहित फुलाई फूल हो।

निस्वार्थता फूल हो। निस्वार्थताको अर्थ नै फूल हो। निष्काम फूल हो। निष्कामताको प्रतीक फूल हो। निष्कामतारूपी अङ्गरागको बास्नाराग फूल हो। सुगन्ध फूल हो। फूल सुगन्ध हो। नश्वरता प्रति वीतरागी भई केवल सुगन्धस्वरूपमा स्थित हुनु फूल हो। विकार र विषय अनि विषय वासनाले भरिएको हुनु क्लेशित मन हो।

सम्पूर्ण विषय वासना-विकारादिबाट मुक्त भई निर्मल-कञ्चन भएको मन हुनु फूल हो। अझै अगाडि मन हराएर ब्रह्मस्वरूपमा कैवल्य फुलाई हुनु फूल हो। अतः स्वरूपानन्द फूल हो। स्वार्थ हुनु विषयी मन हो। स्वार्थबाट मुक्त भई नि:स्वार्थ हुनु फूल हो। अर्काको लागि फुलिदिने।

अरूको उपकारका लागि नै भनेर जन्म लिने फूल हो। अर्काको आराधना सफल पार्नका खातिर आफू मेटिने, अर्काको प्रेम सफल पार्न, अर्काको भक्ति सिद्ध गर्न, अर्काको प्रेम प्रमाणित गर्न जन्मेको नै फूल हो।

एक फूल फूल मात्र हुन्न, जग कल्याणका लागि प्रेमकोटी-प्रेमस्वरूप भएका मुक्त, सिद्ध, महात्मा सबै फूल हुन्। अतः एक योगीजन-सिद्धमहात्मा फूल हो। मुक्त फूल हो। सिद्ध फूल हो। मुक्तसिद्ध सबै फूल हो।

फूल त झर्दछ यहाँ तर फूलको फुलाई अमर हो। जसरी मुक्ति अमर हो, शरीर त झर्दछ यहाँ, त्यसरी मोक्ष फुलाएर भौतिक फूल झर्दछ। मुक्ति आजन्मा हो, फूलाई आजन्मा हो, अजर हो, अमर हो। फूलको फूलाई एक सर्वोच्चता हो, सगरमाथा शिखर हो जहाँ पुगी अमरता भेटिन्छ र नश्वरता तल ओर्लन्छ; आत्मा अनन्तमा प्रक्षेपित परमात्मामा मिल्दछ र नश्वर शरीर मर्त्यलोकमा झर्दछ।

फूल फूल मात्र हैन मोक्षको विम्ब हो। त्यस्तै फूलाई विम्ब हो; मुक्तिको विम्ब। फूल फुलाएर त्यो फुलाई अनन्तमा घोलिँदछ। अनि ईश्वरको प्रेमित अभिव्यक्ति-फूल यता अस्तित्वमा चैँ अनेक स्वरूपमा अभिव्यक्त छ; सिङ देखि पुच्छर सम्म, जुरो देखि खुर सम्मै पूजनीय, वन्दनीय, जगको कल्याणरूप, कल्याणस्वरूप, कल्याणरूपा, कल्याणस्वरूपा भगवती देवी गाई एक पवित्रतम फूल हुन्।

विभिन्न जनावरमा ईश्वर विभिन्न घनत्वमा अभिव्यक्त छन्। गाई उच्चतम हुन्। हरेक प्राणीका बालक मधुर हुन्छन्। मानवकै एक बालकको अद्वितीय मुस्कान अर्को एक सुन्दर फूल हो। नाजुकताको प्रतिमूर्ति, कोमलताको अर्थ, सिङ्गो बालक नै एक सुन्दर फूल हो। बालकको रूपमा फुलेको ईश्वर आफ्नो अबोध सुकोमलताको सबैभन्दा नजिकको अभिव्यक्ति हो। बालकको दिल चल्दछ र ईश्वर बालक स्वरूपमा मिठो लीला गर्दछन्।

मान्छे ठूलो हुन्छ, दिमाग चल्दछ, ईश्वर टाढा भाग्दछन्। मनको विषयी दिमागी खेललाई परास्त गरेर फेरि बालकको झैँ अबोध स्वरूपमा फर्कनु मानव जन्मको यात्रा हो कि जस्तो भान हुन्छ; जहाँ ईश्वर फेरि एक मानिसलाई मुहारमा मुस्कान दिँदै जिन्दगी गुलजार गर्न आइपुग्दछन्। हुर्किएको मानिस बालरूपमा फर्कनु भन्ने अर्थ-जहाँ दिमाग चैँ साधनामा प्रयासरत छ। अनि यस्तै-यस्तै।

फूल ईश्वरको मौनी अभिव्यक्ति हो।

मौन ईश्वर, उसलाई थाहा छ सबै किनभने ऊ द्रष्टा हो। मौनता द्रष्टा हो। मौनता साक्षी हो। मौनतालाई सबै थाहा हुन्छ। किनभने ऊ साक्षी हो, द्रष्टा हो। मौनता बोध हो। त्यसरी नै फूललाई सबै थाहा छ किनभने फूल बोध हो। फूल साक्षी हो। बोधमा केवल मन्द मुस्कान रहन्छ। फूल मन्द मुस्कान हो। फूल दैव्य रोमाञ्चको मन्द मुस्कान हो।

मौनी मुस्कानयुक्त फूल बोधमा मौन छ। बस् फुलिदिन्छ। यहाँ बोध फुलिदिन्छ। मुस्कान फुलिदिन्छ, मौनता फुलिदिन्छ। फूल सुन्दर छ। सुन्दरता मौन छ, अरूहरू चर्चा गर्छन्। सुन्दरता चर्चित छ। फूल चर्चित छ। चर्चित सुन्दरताको चर्चा गर्छन्। चर्चित फूलको चर्चा गर्छन्। चर्चित ईश्वरको चर्चा गर्छन्।

चर्चितको दिव्यश्री मौनताको चर्चा गर्छन्। आफ्नो दिव्य मौनताले ऊ चर्चित छ। दुवै; ईश्वर पनि फूल पनि। मौनता परम शक्तिशाली हो। मौन आफ्नो मौनताबाट सबथोक बोल्दछ, मौनतामा त्यस्तो शक्ति छ। मौनता स्वतन्त्रताको प्रतीक हो। “साधक उच्चतम अवस्थामा पुग्दा हरप्रकारको आलम्बनबाट स्वतन्त्र हुनु नै वास्तविक स्वतन्त्रता हो” भन्दै महावाणीहरूले भनेका छन्; “शब्द पिँजडा हो”।

यति सम्म स्वतन्त्र कि अर्थको सिमाना बोकेको शब्दको पनि पिँजडा-सिमाना तोडेर मौन फूल परम स्वतन्त्र छ। अतः फूल स्वतन्त्रताको प्रतीक हो। बोटमा बाँधिएर ऊ फुलेको छ। बोटमा बाँधिएर ऊ फुले पनि जसरी शरीरमा बाँधिएर एक मानव फुल्दा मुक्त कहिन्छ त्यसरी नै फूलको फुलाई मुक्ति हो। फुल्नु मुक्ति हो, फुल्नु मुक्त हुनु हो। अतः फूल मुक्त छ। त्यही भएर ऊ नि:स्वार्थ लोकका लागि फुलेको छ।
अनि,

कतै यहाँ फूल फुलेको छ ईश्वरमा चढिनलाई

कतै यहाँ फूल फुलेको छ आफैँ सजिनलाई

कतै फूल फुलेको छ बाग सजिनलाई

कतै फूल फुलेको छ मण्डप सजिनलाई

कतै फूल फुलेको छ उत्सव सजाउनलाई

कतै फूल फुलेको छ उत्सवको आशियाना सजाउनलाई

कतै फूल फुलेको छ पिरतीको बाटो सजाउनलाई

कतै फूल फुलेको छ उनी आउने बाटो कोमल तुल्याउनलाई

कतै फूल फुलेको छ प्रेम मनाउनलाई

कतै फूल फुलेको छ प्रेम जगाउनलाई

अनि कतै फूल फुलेको छ प्रेम सजाउनलाई

त कतै फूल फुलेको छ प्रेमलाई फूल देख्नलाई।।

यहाँ हर तरफ फूल फुलेको छ।

अतः फूल प्रेम-वन्दन हो, हृदयको रञ्जन हो, मनको दैवी मनोरञ्जन हो, लोकको दैव्य लोकरञ्जन हो। फूल दर्शनीय छ, वन्दनीय छ, फूल प्रशंशनीय छ, स्मरणीय छ। हृदय भित्र भौतिक संसार हराउँदछ र मिठो स्वप्नसंसार खडा हुन्छ। हृदयको स्वप्नबागमा फूल चिन्तनीय छ। अनि हृदय बाहिरको संसार-दृष्यबागमा त झन् फूल रमणीय छ। पूजाको साधन फूल यहाँ स्वयम् पूजनीय छ।

फूलमा मधुकर-माहुरी आउँछन्, रसिक झुम्मिन्छन् र भुनभुनाउँछन् – प्रणय-राग अलाप्छन्;

“म त आएँ लिन तिमीलाई
तिमी फूल भई फुलन

मायाँ नै मायाँ छ तिम्रो नाउँमा
तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा..”

फूल बिना गीत खल्लो छ, गजल अधुरो छ, कविता अपुरो छ, उपन्यास अलिनो छ।
फूलमा गीत लेखिए, कविता, गजल, लेखिए उपन्यास।

फूलले कवि बनायो, हृदय कोमल तुल्यायो, फूलले सायर बनायो। फूलले उपन्यासकार। अतः फूलले कवि, गजलकार, साहित्यकार, दार्शनिक, चित्रकार, गीतकार, मूर्तिकार आदि जन्माई नै रहने छिन्।

एक फूल फूल मात्र हुन्न। फूल साहित्य हो, दर्शन हो, गीतको शब्द हो, प्रकृतिको सङ्गीत हो, तानस्वरूप, एक्काइस मूर्च्छनाका एउटै प्रतिमूर्ति फूल हो, फूलको फुलाई हो। तालप्रिय, तालस्वरूप फूल साङ्गीतिक मात्र छैन तौर्यत्रिक (नृत्य, गायन र वाद्यमय) छ। जीवनलाई मिठास अर्थ दिने साङ्गीतिक बास्नाराग फूल हो।

ईश्वर यहाँ फुल्दछ पहिले मानव हृदय भएर, तब मानव हृदय फुल्दछ ईश्वरमय भएर। हृदय जब ईश्वरमय भएर फुल्दछ, हृदय जब प्रेमस्वरूप हुन पुग्दछ तब अद्वितीय कलाको रूपमा ईश्वर अभिव्यक्त हुन्छ। त्यस पछि मन्दिर बन्छन् ईश्वरलाई केन्द्रमा राखेर, फूलस्वरूप भएको हृदयले फूललाई केन्द्रमा राखेर।

ईश्वर फूल हो, ईश्वरमय भएर फुलेको हृदय फूल हो। यहाँ फूलले फूललाई पुज्दछ फूलमय भावित भएर। फूल भाव हो, यसको कोमलताले दिने अपरिवर्तनीय कोमल स्वरूप प्रभाव हो। निरसताबाट भगवद् रसिकता तर्फ लाने फूल, मनको सधैँको लागि बदलाव हो।

विज्ञान, सङ्गीत, साहित्य, गणित, नृत्य आदि सबै कलाका आयाम हुन्। कला आउँदा सबै आउँछन्; कला निर्माण हुँदा प्रकृतिको अनुमति भएको विज्ञानको वैज्ञानिकता चाहिन्छ, गणितको सुनिश्चितता, प्रकृतिको ऊर्जाको बहाव अनुरूप भएर आध्यात्मिक उन्नतिका खातिर शक्ति सञ्चय गर्न वास्तु निर्देशनको पालना, कलाको रसले साहित्य-रस टुसाउँदछ तब मन सङ्गीतमय झुम्दछ, शब्द फुर्दछन् गीत बन्दछ, लोक नाच्तछ।

यहाँ अप्रतिम कला फुलेको छ मन्दिर भएर, मन्दिरको अनुपम वास्तु भएर, शिल्प भएर, वास्तुशिल्प भएर। यहाँ मानव हृदय फुलेको छ कलाबाट विज्ञान, सङ्गीत, साहित्य, गणित, नृत्य आदि भएर।

मन्दिरमा कला छ, त्यस कला भित्र साहित्य छ, सङ्गीत, प्रकृति अनुरूप विज्ञान छ, गणित आदि। त्यही भएर यसरी परिपूर्ण-भरिपूर्ण मन्दिरको दर्शनले भावको प्रस्फुरण हुन्छ, भावले भक्तिको मूल फुटाउँदछ अनि फर्किएर फेरि उही दिव्य-भव्य मन्दिरको दर्शनले मानव जन्म भगवद् प्रेममा लपक्क धन्यधन्य छ, धनधान्य छ।

जब भक्तिको मूल फुट्दछ तब अमृतस्रावरूपी श्रीभगवद् रसको प्रवाहले जिन्दगी भगवत् रसिक हुन पुग्दछ। प्रेममा आनन्दै आनन्द छ। एकै धर्मकाको त संसारभरबाट तीर्थाटन त छँदै नै छ तर सात समुद्र पारबाट अन्य धर्मका पनि मानिस मन्दिरको ‘दर्शन’ गर्न त्यही भएर आउँदा हुन्।

तत्त्व-विग्रहरूपी फूल यहाँ केन्द्रमा हुन्छ, मन्दिरको गर्भगृहमा हुन्छ, हृदयको गर्भगृहमा हुन्छ। यस फूललाई कलाको बहुआयामिक रूपबाट साहित्य, सङ्गीत, विज्ञान, गणितादि अनेक रूपी बहुआयामिक पत्रदलले केन्द्रलाई परिवेष्टित-सजाउँदछन् र चराचरमा यो शृङ्गारलाई प्रसारण गरेर अस्तित्वमा मिठास भर्दछन् जसरी श्रीशिवलिङ्गलाई अष्टदलले परिवेष्टित गरेर अस्तित्वमा परमानन्द प्रसारण गरिरहेछन्। “अष्टदलोपरिवेष्टितलिङ्गं सर्वसमुद्भवकारणलिङ्गम् ।”

कला जति विराट देखिन्छ, द्रष्टाको हृदय फुल्दा त्यस खँदिलो कलामा अन्तर्निहित परिपूर्णतम तत्त्वसँग प्रेम त्यति गहिरिन्छ । कला सृजना गर्ने स्रष्टाको फुलेको हृदयको अभिव्यक्ति द्रष्टाको चित्तलाई अचेत तुल्याउने कार्य रूपमा यहाँ घटित हुन पुग्दछ। मन्दिर जति विराट छ, मन्दिर निर्माण गर्ने हृदयले बोकेको तत्त्वको गहनतम गुरुत्वको सघनता कति होला आँकलन गर्न कठिन भए पनि अलिअलि सम्म चैँ अनुमान गर्न सकिन्छ।

त्यसरी नै फूल ईश्वरको सुन्दर कला हो। यस सुन्दर कलाको चिन्तनपानबाट ईश्वरको असिमित गुरुत्व पुरै नबुझे पनि केही आँकलन गर्न सकिन्छ; हृदय शब्तातीत हुन्छन् अनि भाव मूर्च्छित! यही गहनतम गुरुत्व जब गएर एक हृदयमा विराजमान हुन्छ तब त्यो तत्त्व अद्वितीय कला स्वरूपमा फुल्दछ। ईश्वर हृदय फुलाउँदछ अनि उसले फुलाएको हृदयबाट अनुपम कलारूपमा ऊ स्वयम् फेरि बाहिर प्रस्फुरित-फुलेर अभिव्यक्त हुन्छ।

सङ्गीतको कहानी त्यही हो, विज्ञान, गणितको त्यही, साहित्य, दर्शन, नृत्यको त्यही। कला भनेर यहाँ सबै रचनालाई सामूहिक प्रतिनिधित्वको जनाउ हो। जुनसुकै विधाको प्रतिभा अद्वितीयरूपमा प्रस्तुत हुँदा कलाको दिव्यतामा उठ्तछ।

यसरी अव्यक्तबाट हृदयमा अनि हृदयबाट अभिव्यक्त हुँदै संसारमा ईश्वर सर्वत्र फुलेको छ। सिङ्गो अस्तित्व फुलेको छ। अतः सिङ्गो अस्तित्व एक फूल हो। एक सुन्दर फूल। ईश्वरको एक सुन्दर रचना! फूल ईश्वरको मधुर कलारूपमा अभिव्यक्ति हो।

यसरी उसले सिङ्गो अस्तित्व फुलाएको छ। फुल्ने पनि ऊ नै हो, फुलाउने हृदयरूपी माध्यम पनि ऊ नै हो। अनि यसरी उसले आफूले फुलाएको अस्तित्वरूपी दिव्य कमलमा ऊ स्वयम् नृत्यरत छ। ईश्वर प्रणयिता हो, फूल प्रणयिनी। ईश्वर प्रियतम हो। फूल प्रिया। यो अस्तित्व प्रियाप्रियतमको मधुर लास्य हो, प्रणयिता-प्रणयिनीको अलौकिक प्रणय हो।

हरेक घरमा फूलको बाग हुनु जरुरी छ किनकि फूल शान्तिको प्रतीक हो। फूलको दर्शन मनको शान्ति हो, प्रेमको अनुभूति हो। फूलको दर्शन ईश्वरको दिव्य मुस्कानको दर्शन हो।

ईश्वर देखि संसारसम्म यहाँ हर तरफ फूल फुलेको छ।

पारलौकिक आयाममा देवताको आनन्दरमणको स्वर्गबागदेखि यस विश्वम्भराका विभिन्न धराधामहरूमा श्रीदेवी र श्रीभगवान्का युगलस्वरूपलाई रञ्जित तुल्याउन, जस्तै श्रावण प्रतिपदादेखि पूर्णिमासम्म चल्ने झुलनकालमा झुलाउन सजाइएको झुलामा जडित मनमोहक फूल हुन् त कतै एक दुर्लभातिदुर्लभ ज्ञानावतार-प्रेमावतार, महामानव महाकवि देवकोटाजीले उल्लेख गर्नुभएको धरतीका क्षेत्रहरूका सम्राटका बेबिलोनको झुलन बगैँचाहरूमा सजिन-सजाउनलाई, अनि कतै केशर शमसेरहरूका “गार्डेन अफ ड्रिम्स”हरूमा, अनि कतै मन्दिर बाहिर फूल बेचेर परिवारको लालनपालन गराउनलाई-सृष्टि, स्थिति, संहार बखतको आवश्यकता हुनलाई अनि अझै अगाडि मोक्ष सिकाउनलाई, यहाँ हर तरफ फूल फुलेको छ। यो सबै ईश्वरको फुलाई हो।

जङ्गलमा राताम्यै भएर लालीगुराँस ढकमक्कै फुलेको छ, हिमाल आफ्नो देदीप्यमान-दीप्तिमान्-दिव्यातिदिव्य, घरी काञ्चन-सुवर्णमय त घरी निष्कलंक सपाट, श्रीदक्षिणामूर्तिवर्ण-श्वेतमय भई झललल फूलेको छ। फूलै फूलको मौसम भएर पनि ईश्वर फुलेको छ, सुख्खा पतझडको अभिव्यक्ति पनि उसैको फुलाई हो।

लालीगुराँसको जङ्गल भित्र हिमवृष्टिबाट रहस्यमयी मोहक सेतो रङ्गमा सेताम्य हिमानी भएर विस्तीर्ण उज्यालो, शुक्लवर्णरूपमा पनि ऊ फुल्दछ, रोमाञ्चक वर्षाको वर्षण भएर पनि ऊ फुलेकै छ, अनि वसन्ती-हरियाली-नयाँ पालुवा भएर पनि ऊ फुल्न भ्याएकै छ। ग्रैष्मको तिखो चर्को घाम भएर पनि ऊ फुल्दछ, कक्र्याउने पौषको पारिलो घामको न्यानो भएर पनि अनि ऊ फेरि फुलिदिन्छ।

फूलको महिमा अपरम्पार छ जसरी प्रेमको महिमा अपरम्पार छ। किनभने प्रेम फूल हो, फूल प्रेम हो। प्रेमको अभिव्यक्ति फूल हो, फूलको अभिव्यक्ति प्रेम हो। केवल प्रेम। अर्को केही छैन सायद। फूलको अर्को अर्थ केही नलाग्ला पनि। मात्र प्रेम। प्रेम आए पछि त संसारै आयो। संसारै मात्र आएन ईश्वरै आयो। सबै आयो। सबथोक आयो।

फूल आए पछि त सबै आयो। मनमा, हृदयमा फूल आए पछि सबथोक आयो। ईश्वरको चरणकमल नै आयो, अब के आउन बाँकि रह्यो?! त्यही भएर फूलको दृष्टिमा संसार फूलमय, सिङ्गो चराचर दृश्य फूलमय, दृश्यपटरूप-सिङ्गो अस्तित्व फूलमय! हृदय फूलमय हुँदा द्रष्टा फूलमय। जब द्रष्टा नै फूलस्वरूप-फूलमय त दृष्टि स्वतः फूलमय, सिङ्गो दृश्य फूलमय। दृश्य मात्र हैन तब त दृश्य-अदृश्य सबै फूलस्वरूप फूलमय। तब त द्रष्टा नै फूल हुन पुग्दछन्। “फूलको आँखामा फूलै संसार..” ।

एक फूल स्वरूप भएका रसिक द्रष्टाले हेर्दा मुस्कुराउँदै नजर झुकाएकी फूल हो।

शास्त्रहरू भन्छन्-“भगवान् शिवको एक नजर मात्र के परेथ्यो सिङ्गो प्रकृति शैवी हुनुभो!” सिङ्गो प्रकृति-अस्तित्व शैवी हुनु फूल हो। प्रकृति-पुरुषको महानृत्य फूल हो, फूलको मदालसी मुस्कान हो।

श्रीदेवी राधारानीको माथ भगवान् श्रीकृष्णले सजाउनु फूल हो। अनि भगवान् श्रीकृष्णचन्द्रको गलामा श्रीराधारानीले सजाउने हार फूल हो। सिङ्गो श्रीभाण्डीर-वन फूल हो। श्रीराधारानी र श्रीकृष्णको दिव्यश्री विवाहोत्सव फूल हो।

यो विवाहोत्सवको दर्शनमा धन्यधन्य भएर अनन्त लम्बाईको तरङ्गदैर्घ्यमा प्रसारित जाग्दै सिङ्गो अस्तित्व लास्यरत-नृत्यङ्गत हुनु फूल हो, अस्तित्वको फुलाई हो। दुवै गोडा क्रमशः उफार्दै, आफ्ना सुन्दरतम मयूर फिँजाउँदै खुसीको उन्मादमा खुल्दै फैलने श्रीभाण्डीर-वनको मयुरलास्य फूल हो। भगवद् प्रेममा खुसी हुनु फुल्नु हो।

श्रीराधारानीको हृदय स्वरूप श्रीधाम वृन्दावन एक दिव्य फूल हो। धरतीमा फुल्नुभएकी जगज्जननी श्रीजानकीजीको जन्म एक फूल हो, अलौकिक फुलाई होश। परब्रह्म परमात्मा भगवान् श्रीरामचन्द्र र श्रीजी किशोरीजीको दिव्य विवाह एक अर्को फुलाई हो। सिङ्गो श्रीधाम मिथिलाधाम एक फूल हो।

“मिथिला दर्शनान् मुक्तिः” भनिएको नै हो-मुक्तिक्षेत्र-श्रीधाम मिथिलाधामको दर्शन मात्रले मुक्ति प्राप्त हुन्छ। मुक्तक्षेत्रको दर्शनले मुक्त भइन्छ, मुक्ति स्वरूप भइन्छ। फूलको दर्शनले हृदय फूलस्वरूप!

भगवान् शिव र शिवलिङ्गमा भेद छैन। क्रिमी-कीटादि स्थावर-जङ्गम सबै शिवलिङ्ग भनिएको छ। “सर्वं शिवमयं जगत्”। यो सबै शिवमय हो। यो चराचर सिङ्गो अस्तित्व सबै एकै शिवलिङ्ग स्वरूप हो, यही बताइएको छ।

ईश्वरको अभिव्यक्ति फूल हो; धरतीमा फुल्नुभएका ज्योतिर्लिङ्ग स्वयम्भू भगवान् श्रीपशुपतिनाथ स्वयम् अजर-अमर दिव्य फूलस्वरूप हुनुहुन्छ र माता श्रीगुह्येश्वरीदेवी पनि। दुवै भगवान् को श्रीअर्धनारीश्वररूप-प्रणयिता र प्रणयिनीको सह-अस्तित्व प्रणयरूप भएर अजर-अमर लोक-लोकान्तरमा फुलेको छ।

दुई बिचमा प्रकृतिको सङ्गीतमयी भएर ‘महफिल’ सङ्गीतस्थ बनाउँदै बग्ने श्रीवाग्वती-वाग्मतीगङ्गा अर्को फुलाई हो। सङ्गीत फूल हो। फूल सङ्गीत हो। भगवान् श्रीपशुपतिनाथको दर्शनार्थ हस्याङफस्याङ दौडँदै उहाँलाई भेट्न आउने श्रीवाग्वती देवीको गतितत्त्व, तेजतत्त्व, प्रेमगतितत्त्व, प्रेमतत्त्व प्रेमको फुलाई हो। फूल फूलमा मात्र सिमित छैन यहाँ! फूल त विराट छ, अप्रतिम, अनुपम छ।

छुँदा मात्र पनि चोट लाग्ला झैँ फूल कोमल छ। नाजुक प्रेम झैँ फूल फुलेको छ।

जति कोमल त्यति बलवान्! चट्टानी मनलाई खियाएर ईशत्वको मूल फुटाइदिने फूल सर्वशक्तिमान् हो। जति सूक्ष्म त्यति बलवान्! कोमलता देखि चट्टानी अनि सूक्ष्मतम देखि विश्वरूप; यी सबै विपरीत ध्रुव भित्र ईश्वर फुलेको छ। अनि दुवै ध्रुव बाहिर, दुवै ध्रुवलाई धारण गर्दै पनि ऊ फुलेको छ। जति नाजुक त्यति शक्तिमान्! जसरी पानी।

पानीको अदम्य शक्ति मानव मस्तिष्कको आयामबाट कल्पनातीत छ। अनि पानीको नाजुकता? नाजुकताको पराकाष्ठा! छुँदा मात्र पनि तरङ्गित भैदिने!
फूल नाजुक छ, प्रेम नाजुक छ। नाजुकता चरम बलवान् हुन्छ । संवेदनशीलता कमजोरी हैन ठूलो शक्ति हो।

फूल अर्पण हो, फूल अर्चन हो। फूल पूजा हो, ईश्वरको प्रीतिका निम्ति भक्त र भगवान् जोड्ने फूल साधन पनि हो अनि भगवद् दर्शनमा भक्तलाई फूलस्वरूपमा प्रतिष्ठित (स्थित) गर्ने फूल साध्य पनि हो। फूलभावको विकास साधना हो। फुलाई साध्य। अतः फूल भावमा मग्न साधक स्वयम् फूल हो। फूल के हैन? फूल सबथोक हो।

किनभने फूल ईश्वर हो, ईश्वर फूल हो। जसरी यहाँ चढाउने, चढ्ने र चढाएको स्विकार्ने सबै ईश्वर हो त्यसरी फूललाई फूल भनेर महत्व-मिठास बुझ्नेवाला पनि फूलै हो किनभने फूललाई फूलले नै चिन्दछ जसरी एक बालक अर्को बालकसँग हठात् मौन चिनजान मै घुल्दछ, रम्दछ। फूल ईश्वरको दिव्य लीला हो।

फूल यहाँ एक भौतिक वस्तु मात्र हैन। फूल एक तत्त्व हो, अवधारणा हो, प्रक्रिया हो, प्रणवको उच्चार्यमाण हो। जसरी वाचक र वाच्यमा भेद छैन त्यसरी फूल र फुलाउनेवालामा भेद छैन।

विकासको प्रक्रियामा भइपरि आउने वा रूपान्तरणको प्रक्रियामा बदलाव हुँदा कमीकमजोरी देखिन सक्नु स्वाभाविक हो। आध्यात्मिक, आदि दैविक र आदि भौतिक भूलचुकको उपचार दिन भूमिका खेल्ने क्षमता भएको फूल आयुर्वेद पनि हो।

पुराण-वेदादि शास्त्रहरूमा उल्लिखित अनेक फूल मार्फत फूलको सिङ्गो अवधारणामा रमण गर्दा हृदय चकित, भाव मूर्च्छित, अवाक् हुन्छ! फूलको अवधारणामा वा फूल चिन्तनमा रमण गर्दा हृदय परमानन्दको रागमा लट्ठ हुन्छ!
प्रेम फुल्छ, हृदय लपक्कै हुन्छ, पग्लन्छ; फूल फुल्छ, हृदय पगाल्छ!

एकै झिल्काले पग्लने मुटु
मोमको किन बनायो ?!
फेरि सुन्दरताको भरमार
केका निम्ति बनायो ?!

यस्तरी बारबार रित्त्याएको झैँ पगाल्ने अनि फेरि सग्लै राखिदिने यति सघन, यति गहिरो, यति धेरै, यति विस्तीर्ण ईश्वर साँच्चै महान् छन्। एक फूलमा नै सबै रहस्य अन्तर्निहित गराएर मौन ईश्वरले अनन्त व्याख्या बोलेका छन्, अनन्त बोलेका छन्। दृश्यमा यति विराट कि विश्वरूप अनि अदृश्यमा यति सूक्ष्म कि सुक्ष्मतम भन्दा पर अरूप! महाशून्य, निराकार, निर्गुण।
“अरूपाय सरूपाय विश्वरूपाय ते नमः।”

मानव मष्तिष्कको क्षमता भन्दा कता हो कता धेरै दूरटाढा-कल्पनातीत! अनन्तकोटी ब्रह्माण्डरूप अनि त्यो भन्दा विराट, पर-यी अनन्तकोटी ब्रह्माण्डका खातलाई त्रिशूलमा धारण गर्ने, अनन्तकोटी ब्रह्माण्डलाई आफ्नो बाँसुरीमा धारण गरी श्रीवेणुगीतले अस्तित्वलाई एक मुग्धाको लज्जारूपमा मुग्ध तुल्याउने परब्रह्म परमात्मा भगवान् श्रीकृष्ण । अनि उहाँको हृदय; श्रीराधिकारानी ।

र, सिङ्गो अस्तित्व उहाँ दुईका लास्यरमण स्वरूप। यी सबै सघनता धारित गर्ने यति बिघ्न भरिलो, खँदिलो भएर पनि अचेत नभई परमचेतमा रहनु, परमचैतन्यस्वरूप, परमचैतन्यरूप स्वरूपानन्द नै ईश्वर हो । यस्ता सर्वशक्तिमान्, सर्वज्ञ, सर्व-भूत, सर्वव्यापक ईश्वरको प्रेमित अभिव्यक्ति फूल हो । यो अभिव्यक्ति सर्वथा-सर्वदा निरपेक्ष प्रेमी ईश्वरको प्रेम हो ।

यसरी नै निष्काम आफ्नो स्वरूपको स्वरूपानन्दमा मग्न एक फूल हो। परम शक्तिमान् भएर पनि नाजुकताको हद-पराकाष्ठा नाघेर अभिव्यक्त ईश्वर साँच्चै महान् छन् । ‘महान्’ शब्द खुद अवाक् भई अर्थ दिन नसक्ने, परिभाषित गर्न नसक्ने ईश्वर महान् छन्। शब्दले शब्द कै सीमा राख्तछ । भनिएकै हो -“शब्द पिँजडा हो” तर अब महान् भन्दा पर महानतम र त्यो भन्दा पर भन्नलाई एक अज्ञानी जिज्ञासु पङ्क्तिकारले यही शब्द त भन्नु पर्यो!

उपसंहार

फूलभावमा पूर्णतः भावित फूलमय अति कोमल भावमा स्थित हुनुभएका महाकविजी भन्नुहुन्छः
“बनेर फूल झैँ सधैँ
हँसाउनु सुवास दी ।
सधैँ रमाउनु जगत्
रमेर नित्य आश दी ॥”

यहाँ फूलहरू फुलि नै रहनेछन् र फूलमा लेखिई नै रहनेछन् । र पनि, फूल उपर विजय प्राप्त हुने छैन । फूल अपराजिता हो-अपराजित । फूलमा वर्णन-व्याख्या चलि नै रहने छन् । फूलसँग तुलना यहाँ चलि नै रहने छन् किनभने तुलना जहिल्यै अतुलनीयसँग नै हुन्छ; फूल अतुलनीय छ ।

निरवच्छिन्न रूपमा यति धेरै परिभाषा दिने प्रयास हुँदा पनि तुलना-व्याख्या-वर्णन नसकिने हुनाले फूल यहाँ अव्यक्त नै रहिगयो-अपरिभाषित । मूर्तरूपमा थोरै अभिव्यक्त भएको यो कार्यरूप विस्तीर्ण संसार नै यति विराट छ भने कारणरूप अमूर्तको सघन विराटता कल्पना बाहिरको विषय हो ।

जसरी फूल मूर्त देखिन्छ यस मूर्त फूलको पछाडि फूलको अमूर्त अवधारणा आत्मारूपमा विराट भान हुन्छ, त्यसरी नै फुलाई पनि मूर्त जस्तो देखिए पनि फुलाईको पछाडि यसको विम्ब अमूर्त तत्त्वरूपमा छ । फूल र फुलाईमा भेद छैन जसरी आगो र तापमा भेद छैन ।

अमूर्तबाट अनेक मूर्तामूर्तको विस्तार उस ईशको शैली हो; “एकोऽहं बहु स्यामः” । अमूर्त फूलबाट मूर्त फूल, अमूर्त फुलाईबाट अनेक मूर्तामूर्त विवेचना ।
फूल मूर्त रूपमा त्यो तत्त्वको आलम्बन हो, आरोपण हो, प्रक्षेपण हो र अमूर्त रूपमा फूल अवधारणा तत्त्व पनि हो, त्यो तत्त्व-ईशतत्त्व मूर्त पनि अमूर्त पनि भए जस्तै । अतः त्यो ईशत्व लीलामय हुँदा मूर्तरूपमा फूल स्वरूपमा पनि र अव्यक्त हुँदा अमूर्तरूपमा फूलतत्त्व-फुलाई सुषुप्तिमा पनि ।

श्रीराधेश्याम

फूल !
प्रेमी ईश्वरको प्रेम !
फूल !
प्रणयिता विश्वात्माको प्रणय – फूल : परब्रह्म परमात्माको प्रेमित अभिव्यक्ति !

hrisheekeshdhakal@gmail.com

 

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *