बहुमत गुमाएपनि जापानका प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

डिसी नेपाल
१२ कार्तिक २०८१ १३:४०

काठमाडौं। जापानका प्रधानमन्त्री इशिबा शिगेरुले निर्वाचनमा आफ्नो दलले बहुतम हासिल गर्न नसके पनि तत्काल पद नछोड्ने भएका छन्। आइतबार भएको निर्वाचनमा जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले आगामी आम चुनावमा बहुमत गुमाएको हो।

एलडीपी र उसको सहयोगी कोमेटो पार्टीले २१५ सिट हासिल गरेको छ। बहुमतको आँकडा पार गर्न कुनै पनि दलले ४६५ मध्ये २३३ सिट जित्नुपर्नेछ।

त्यस्तै विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीसहित विपक्षी दलहरुले २३५ सिटमा जित हासिल गरेका छन्। यद्यपी संसदमा एलडीपी १८६ सिटसहित सबै भन्दा ठूलो पार्टी भने बनेको छ।

निर्वाचनको परिणामपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री शिगेरुले आफ्नो गठबन्धनले सरकार बनाउन प्रयास गर्ने बताएका छन्।

उनले भनेका छन्-‘हामीले जनताबाट अत्यन्त खराब नतिजा पाएका छौं । यो हाम्रो पार्टी र गठबन्धनका लागि ठुलो धक्का हो। हामीले जनताको मतलाई सहजरुपमा स्वीकार गर्छौं र आगामी दिनमा पार्टीलाई राम्रो ढंगले अगाडी बढाउछौं।’

प्रधानमन्त्री इशिबाले संसदमा अन्य दलहरुसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै अन्य दलहरुसँग सरकार निर्माणको छलफल शुरु गर्ने बताएका छन्। आफ्नो पार्टीले सबैभन्दा धेरै मत पाएकोले सरकार बनाउन पहल गर्ने जिम्मेवारी समेत आफ्नो भएको उनले बताएका छन्।

यद्यपी १४८ सिट जितेको विपक्षी दल संबैधानिक डेमोक्रेटिक पार्टीले पनि अन्य दलसँग छलफल गर्ने बताएको छ।

अक्टोबर १ मा जापानको प्रधानमन्त्रीको पदभार सम्हालेका इसिबाले जनताको समर्थन जुटाउनका लागि निर्वाचनको घोषणा गरेका थिए। २००९ पछि पहिलो पटक जापानको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनमा बहुमत गुमाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *