इन्ट्राको तिहार कार्यक्रममा नेपालीसँगै रमाए अमेरिकी सांसद (तस्बिर)
वासिंगटन डिसी। अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्गमा नेपालीहरुसंगै अमेरिकाका सांसदहरुले तिहार उत्सब मनाएका छन्।
सस्कीहाना टाउनसिप मिडल स्कूलको अडिटोरियम हलमा अक्टोबर २६ तारिक आयोजित पुरस्कार वितरण एवं तिहार उत्सव कार्यक्रममा अमेरिकी संघीय संसदका सदस्य कंग्रेसम्यान स्कट पेरी र उनको टिम एवं पेन्सिलभेनिया राज्यका सांसदहरु डेभ म्याडसन, जस्टिन फ्लेमिङ, स्वातारा टाउनसिपका कमिश्नर टम कनोलीसहितका जनप्रतिनिधिहरुले नेपाली मूलका बालवालिकाहरु र तिनका अभिभावकसंगै देउसी भैली एवं नेपाली सांस्कृतिक नृत्य र गीतमा रमाइलो गरेका थिए।
इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा भएको सो कार्यक्रममा पेन्सिलभेनिया राज्यका ह्यारिसवर्ग, ल्यान्कास्टर, स्क्रान्टन र पिट्सवर्ग शहरको इन्ट्रा म्युजिक स्कूलका वालवालिकाहरुले नेपाली सांस्कृतिक नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा तिनै बालवालिकाले देउसी भैलो खेलेर नेपाली सांस्कृतिक चाड मनाएका थिए।
कार्यक्रममा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले नेपाली संस्कृतिलाई आफूहरु बसेका स्थानहरुमा जीवन्त राख्न र आफ्ना सन्तान दर सन्तानसम्म नेपाली संस्कृतिलाई पुन्तान्तरण गर्न फाउण्डेसनले अमेरिकाका विभिन्न शहरहरुमा सांस्कृतिक नृत्य तथा गायनका निशुल्क कक्षाहरु संचालन गरेको जानकारी दिए। नेपाली मूलका ११ सयभन्दा बढी वालवालिका एवं किशोर किशोरीले ती कक्षाहरुमा नेपाली संस्कृतिक नृत्य र गायन सिकिरहेको उनले बताए।
आफ्नो संस्कृतिको पालना गर्न खोज्दा भुटानबाट लेखेटिनु परेको अवस्थाको स्मरण गर्दै उनले शरणार्थी भएर नेपाल वस्दा होस् वा पुनर्वासअन्तर्गत अमेरिका आएर होस् नेपाली संस्कृतिलाई जीवन्त राख्न र पुन्तान्तरण गर्न प्रयास गरिरहेको बताए। उनले नागरिकताले राष्ट्रियता फेरिए पनि नेपाली जातीय पहिचान कहिल्यै नफेरिने पनि बताए।
कार्यक्रममा अमेरिकी संघीय संसदका सदस्य कंग्रेसम्यान स्कट पेरीले आआफ्नो संस्कृति स्वतन्त्र र सुरक्षितरुपमा मनाउन पाउनु पर्ने धारणा राखे। उनले आफ्ना पुर्वज कोलम्बियामा आएको, आफ्ना चिफ अफ स्टाफका पूर्वज इटलीबाट आएको बताउंदै नेपाल र भुटानबाट आएका नेपालीहरुको सांस्कृतिक उत्सवमा भाग लिन पाउंदा खुसी लागेको बताए।
बरिष्ठ बासुरीवादक सुशील विश्वकर्माले बांसुरीबाट तिहारको धुन एवं कलाकारहरुले जहां छन् बुद्धका आंखा बोलको राष्ट्रिय गीतबाट शुरु गरिएको कार्यक्रममा नेपाली मूलका बालवालिकाले उत्साहपूर्ण प्रस्तुतिले दर्शकहरुले मनोन्जन दिएका थिए।
आयोजक संस्थाका तर्फबाट दावा तामाङ्गले स्वागत एवं ओमराज गुरुङ्गले धन्यवाद ज्ञापान गरेको सो कार्यक्रममा पेन्सिलभिनिया राज्यका सांसद डेभ म्याडसनले नेपाली मूलका वालवालिकाले प्रस्तुत गरेको आफ्नो सांस्कृतिक नृत्यले आफू प्रभावित भएको बताएको बताएका थिए।
आयोजक संस्थाका वेदव्यास काफ्लेले दिएको जानकारीअनुसार कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य र शास्त्रीय गायनका कक्षाको पहिलो बर्षको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुलाई प्रमाणपत्र र मेडलले पुरस्कृत गरिएको थियो।
कार्यक्रममा फाउण्डेसनका गीत र नृत्यका प्रशिक्षकहरु मुस्कान बलम्पाकी मगर, जीवन गुरुङ्ग, पार्वती राई, शंकर बिसी र विकास घले गुरुङ्गलाई उनीहरुले नेपाली संस्कृति सिकाउन गरेको योगदानको कदर गर्दै अध्यक्ष अधिकारीले मायाको चिनो प्रदान गरेका थिए। कार्यक्रममा नेपाली मूलका बालवालिका एवं किशोर किशोरीहरुले विभिन्न गीत र नृत्यका ३१ वटा प्रस्तुति दिएका थिए।
Facebook Comment