कार्तिक कृष्ण त्रयोदशी: दोस्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक सुरु, किनियो नयाँ भाँडा

डिसी नेपाल
१३ कार्तिक २०८१ २०:४२

काठमाडौं। कार्तिक कृष्ण त्रयोदशीका दिन आज नयाँ भाँडा किनी धनतेरस पर्व मनाइएको छ।

धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखी मनाइएको छ। यसैगरी आज धनका रक्षक देवता कुबेरको जयन्तीका अवसरमा कुबेरको विशेष पूजा आराधना पनि गरिएको छ। केहीले आज कुबेरको पूजा गरे पनि कूल परम्पराअनुसार कसैले भने लक्ष्मीपूजाकै दिन गर्छन्।

आजको दिन ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ। यसरी पूजा आराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीको परम्परादेखिको विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ। धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशीजस्ता नामले समेत चिनिन्छ। आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ। यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको थियो। भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साज सज्जा गरी राख्ने गरिन्छ। नयाँ भाँडा एवं गरगहना किन्ने क्रम लक्ष्मीपूजाका दिनसम्म जारी रहन्छ।

आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ। तिहारलाई दीपको पर्व पनि भनिन्छ। यो नेपालीको दोस्रो ठूलो चाड हो। बुधबार कागको पूजा गरी मीठा, मीठा कुरा खाना खान दिइन्छ। बिहीबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ। यसलाई नरक चतुर्दशी पनि भनिन्छ। यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ। शुक्रबार यस वर्ष तिहारको कुनै पर्व परेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *