प्रधानमन्त्रीको चीन भ्रमण मंसिर १७ देखि

डिसी नेपाल
१४ कार्तिक २०८१ ७:४५

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो औपचारिक विदेश भ्रमण चीनबाट हुने भएको छ। चिनियाँ राष्ट्रपति सी जिङ पिङको निमन्त्रणामा आगामी मंसिर १७ गते प्रधानमन्त्री चीन जानुहुने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीको भ्रमण मंसिर २० गतेसम्म हुनेछ।

पछिल्लो सातादेखि परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गरिरहेको थियो। मन्त्रालयका एक उच्च अधिकारीले मंसिर १७ मा प्रधानमन्त्री चीन जाने पुष्टि गरे। ‘मंसिर १७ गते जाने र २० गते फर्कने गरी प्रधानमन्त्रीको चीन भ्रमणको समय तालिका व्यवस्थापन गरेका छौँ’, उनले भने।

प्रधानमन्त्री ओलीले गतमहिना संयुक्त राष्ट्रसंघको महासभा बैठकका दौरान चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए। सो क्रममा वाङले प्रधानमन्त्री ओलीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश र निमन्त्रणा अवगत गराएका थिए।

ओली नेतृत्वको सरकारले हालै एकसय दिन पूरा गरेको छ। सामान्यतया भारतबाट प्रधानमन्त्रीको औपचारिक भ्रमण हुने प्रचलन थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको व्यस्तताका कारण ओलीको भ्रमणका लागि विलम्ब भएपछि चीन भ्रमणको तयारी गरिएको थियो। चीनबाट फर्केलगत्तै प्रधानमन्त्री भारत भ्रमणमा जाने सम्भावना उच्च रहेको परराष्ट्र स्रोतको दाबी छ।

प्रधानमन्त्रीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा बेइजिङ जाने बताइएको छ। परराष्ट्रमन्त्रीको भ्रमणपछि प्रधानमन्त्रीको औपचारिक भ्रमणको कार्यक्रम सहितको तालिका सार्वजनिक हुनेछ। प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चीन पिङबीचको भेटवार्ता भने तय भइसकेको बताइन्छ।

यसपटक प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बिआरआई कार्यान्वयन र आपसी हित प्रवद्र्धन मुख्य एजेण्डा हुनेछ। प्रधानमन्त्री ओली २०७५ मा प्रधानमन्त्री हुँदा चीनसँग भएको पारवाहनलगायत सम्झौताको कार्यान्वयनका विषय पनि भ्रमणको प्राथमिकतामा रहेको छ।

भारतबाटै विदेश भ्रमण थाल्ने योजना बनाए पनि तीन महिनासम्म नजुरेपछि प्रधानमन्त्री ओली चीन जान लागेका हुन्। ओलीले राष्ट्रसंघ महासभाकै दौरान भारतीय समकक्षी मोदीसँग न्युयोर्कमा भेटवार्ता गरेका थिए।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *