नेपालसँग साफमा पाँच फाइनल हारेको पीडा मेटाउने अवसर
काठमाडौं। साफ महिला च्याम्पियन्सिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने छ।
नेपालले साफ च्याम्पियनसिपमा छैटौं पटक फाइनल खेल्दै छ। गत साफमा काठमाडौंमै नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो। नेपालसँग सो फाइनलको हारको बदला लिने यस पटक सुनौलो अवसर जुरेको छ।
सन् २०१० मा पहिलो साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो। बंगलादेशमा आयोजना गरियो यो प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो। सो खेलमा भारतकी सस्मिता मालिकले खेलको ६५औं मिनेटमा गरेको गोलनै निर्णायक गोल बनेको थियो।
त्यसपछि २०१२ मा श्रीलंकामा आयोजना गरिएको दोस्रो साफमा पनि नेपालले फाइनलमा भारतकै सामना गरेको थियो। सो खेलमा नेपाल ३-१ गोलले पराजित भयो। यस फाइनलमा खेलको तेस्रो मिनेटमा नै दीपा अधिकारीले गोल गर्दै अग्रता दिलाएपनि नेपालले अग्रता जोगाउन सकेन।
त्यसपछि भारतका लागि सुप्रिया रोउत्राय, बमबम देवी र कमला देवीले एक एक गोल गरेर उपाधि जिते। भारत दोस्रो पटक च्याम्पियन बन्दा नेपाल दोस्रो पटक उपविजेता बन्यो।
त्यस्तै २०१४ मा पाकिस्तान भएको साफको फाइनलमा पनि फेरि एक पटक भारत र नेपाल आमने सामने भए। यस फाइनलमा भारतले नेपाललाई ६-० ले हरायो। भारतकी बाला देवीले ४ गोल गरेकी थिइन् भने कमला देवी र परमेश्वरी देवीले एक गोल गरेकी थिइन्। यसरी भारत लगातार तेस्रो पटक च्याम्पियन बन्यो भने नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो।
त्यसपछि २०१६ मा भारतमा आयोजना भएको साफमा भने नेपाल सेमिफाइनलमा भारतसँग नै पराजित भयो। फाइनलमा भारत र बंगलादेश पुगेका थिए। फाइनलमा भारतले बंगलादेशलाई ३-१ ले पराजित गरेर लगातार चौथो पटक उपाधि जितेको थियो।
त्यसपछि २०१९ मा नेपालमै आयोजना गरिएको साफमा नेपाल फेरि एक पटक भारतसँगै फाइनलमा पुग्यो। फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भयो। यस खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन्। यससँगै भारत लगातार पाँचौं पटक साफको च्याम्पियन बनेको थियो भने नेपाल चौथो पटक उपविजेता बनेको थियो।
त्यसपछि २०२२ मा पनि नेपालमा आयोजना गरिएको साफमा फाइनलमा बंगलादेश र नेपाल पुगेका थिए। पहिलो पटक नेपालले भारतलाई सेमिफाइनलमा रोक्दै फाइनलमा पुगेको थियो। तर फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भयो र फेरि उपविजेतामै चित्त बुझायो।
अब यस पटक पनि २०२२ कै अवस्था दोहोरिएको छ। आज हुने फाइनलमा नेपालका अगाडी २०२२ को फाइनल हारको बदला लिने अवसर त छँदै छ, अर्को तर्फ अहिलेसम्म ५ फाइनलमा हारेको पीडा मेटाउने सुनौलो अवसर पनि छ।
Facebook Comment