कथा : अप्रत्याशित आँधी

प्रकाशचन्द्र खतिवडा
१७ कार्तिक २०८१ ७:०६

“लोग्ने मान्छेहरु कठोर स्वभावका हुन्छन् भन्ने परिणति धेरै स्वास्नी मान्छेहरुले प्रमाण सहित पेस गर्दा गर्दै पनि कृशुजी तपाईंं किन यसरी लोग्ने मान्छेहरुप्रति आशक्तिपना प्रकट गर्दै हुनुहुन्छ? त्यो मैले बुझ्न सकिराखेको छैन।

यातनाका चरम सीमाबाट तपाईंंहरु जस्ता जवान केटीहरुले मुक्ति पाउन विषका घुट्काहरु घुट्क्याएर, झुन्डिएर वा नदीमा हाम फालेर दूर्गतिपूर्ण आत्महत्या गरेका सूत्रात्मक सिलसिला तपाईंं किन दोहोर्याउन चाहानु हुन्छ?”

“आखिर लोग्ने मान्छेहरु के हुन र? त्यसमा पनि म। म त आफैं बाँच्न नजान्ने मान्छे जस्तो भएको छु। आफ्नो धरातलमा उभिएर म आफूलाई कहिल्यै पनि ठम्याउन सकिराखेको छैन। म आफ्नै धरातल त चिन्न सक्तिनँ भने अर्काको लागि म कुनै धरातल प्रदान गर्न सक्तिनँ।

हेर्नोस् कृशुजी, स्वाभिमानी लोाग्ने मान्छेहरु विरलै पाइएलान् वा नपाइएलान्? तपाईंं स्वाभिमानका प्रश्नहरु उठाएर मेरो मानसिकता खलबल्याउन पाउनु हुन्न। जब कि तपाईंं स्वयं स्वाभिमानी हुनुहुन्छ भने, त्यो स्वाभिमान बेचेर तपाईंं किन दासत्व स्वीकार गर्न चाहनु हुन्छ?”

तपाईंंलाई मैले अन्तिम चोटी भनेको थिएँ- “कृशुजी तपाईंं यसरी मेरो छेउ छाउ नआउनोस्। आउने दुष्साहस गर्दै जाने हो भने तपाईंं अर्थहीन हुनुहुन्छ र तपाईंंको भविष्य निरर्थक हुनेछ। तपाईंंको आफ्नो अनुहार छैन कि कसो? आफ्नो अनुहार किन मेटाउन चाहनु हुन्छ? तपाईंं आवेशमा आएर वर्तमानमा पौडँदै भविष्य बिर्सँदै हुनु हुन्छ।

वर्तमानलाई जति सजिलो सम्झनु हुन्छ, भविष्य त्यति नै वर्वरता पूर्ण हुने छ। हतारमा काम गरेर फुर्सदमा पछुताउन मिल्दैन बुझ्नु भो कृशुजी। सोच्नोस् तपाईंंको लक्ष्य के हो? आखिर बैंशको उन्माद तपाईंंलाई मात्रै हैन सबैलाई आउँछ। तर…..।” करण आफ्नो तर्क पेश गर्छ।

“तर के? तपाईं आफ्नो पौरुषत्व गर्भमा नै तुहाएर राख्नु हुन्छ त करणजी। एउटी नारी जो तपाईं प्रति समर्पित  हुन खोज्छे। उसैलाई व्यङ्य प्रहार गरेर तपाईं कुन ब्रम्हाण्डमा प्रतिस्थापन हुन खोज्दै हुनु हुन्छ। तपाईं जुन धर्ती कल्पना गर्नु हुन्छ, त्यो त कोरा हो। यदि सृष्टि लत्याउन खोज्नु हुन्छ भने तपाईं मानवको श्रेणीमा पर्न सक्नु हुन्न।

तपाईंको दिमागमा कसैले कोरा नारा भरी दिएको छ बुझ्नु भो। अनुहार त मेरो हैन तपाईंको मेटिने सम्भावना छ। जबकि तपाईं आफ्नो अनुहार मेटाउने र सम्भवतः शून्य प्राय बनाउने फोस्रो यात्रा तय गर्दै हुनु हुन्छ।” कृशुले पनि प्रत्यूत्तर दिई।

“कृशुजी१ मलाई तपाईंको कुनै दर्शनको आवश्यकता छैन। म यो तपाईंको लज्जासपद कुरा सुनेर वाक्क भैसकेको छु। तपाईं बारम्बार यीनै कुराहरु दोहोर्याउनु हुन्छ, जुन म बाट सम्भव छैन। जानोस् सम्भावनायुक्त पराक्रमी वीरलाई सुनाउनोस्। मेरो विषय यौन होइन। न म कुनै चरित्रहीन युवक हुँ। तपाईं स्वतन्त्र जीवन बिताउन सक्नु हुन्छ। अब आवेगका कुराहरु गर्दै नर्गनोस।” करण कृशुलाई सुझाव दिन्छ। त्यस पछि उ फर्केर आउँदै आइन।

यसरी उ मबाट टाढा भई। म उबाट टाढा भएँ। समयले अतीतलाई लत्याउँदै नयाँ यात्रा प्रारम्भ गर्दै आयो। म आफ्नै योजनारुप जीवनका लेख बेंसी गर्दै रहें। सबैका आ–आफ्ना विवशता हुन्छन् नै। विवशतासँग जुझ्नु प्रत्येक मोन्छेको कर्तव्य पनि हो। विगत र वर्तमानलाई विश्लेषण गर्दै भविष्यको योजना बनाउनु पर्दो रहेछ। अतीतमा झोक्राएर बस्नु मूर्खता हुने छ।

तर पनि कृशुसँगको तर्कपूर्ण परिस्थिति यदा कदा सम्झना आउने विषय बस्तु बनेको छ। हुन त अहिले उ के गर्दै छे? भन्ने पनि मलाई थाहा छैन। न त यो पाँच छ बर्षको समयावधिमा उसँग भेट नै भएको छ। न त सम्पर्क नै।  न कसैलाई कृशुको बारेमा सोध्ने धृष्टता नै गरेको छु। मेरो मानस पटलमा किन किन उसका हाउ भाउयुक्त तस्विर स्मरण बनेर बसेका छन्। ती तस्विरहरुले यदाकदा मलाई पिरोल्ने गर्छ।

यस बेला मेरो मनमा अनौठो प्रश्नले सताई रहेको छ। कुन स्वभावकी हो त्यो केटी? त्यसको मानसिकता किन त्यस्तो भएको थियो? म मा त्यस्ता असल गुणहरु उसले के के भेट्टाइ र खराब गुणहरु के के भेट्टाइ? उसको विश्लेषण कस्तो निस्क्यो होला? उसको र मेरो जिन्दगीको विश्लेषण मिल्ला या नमिल्ला।शायदै नमिल्न सक्छ।

हुन सक्छ, उसले जीवनमा एउटा कठोर पुरुषको चाहाना गरी। उसले शायदै कल्पना गरी नामर्द१ अथवा निर्दयी, ढुङ्गो जस्तो मन भएको।

के साँच्चै उसले मलाई सेवाको भावले नै चाहेकी थिई त? अथवा मेरो परीक्षा मात्रै लिन खोजेकी थिई? उसँग जीवनको कस्तो परिभाषा होला? उ जिन्दगीलाई कुन कुन कोण बाट हेर्छे कुन्नि१ शायद, जिन्दगीको परिभाषा नबुझेको हुनु पर्छ वा त बुझेरै पनि बुझ पचाएकी हो।

अब म भित्र एउटा शुषुप्त पीडा जन्मिएको हुन्छ। नचाहेरै पनि म उसलाई मेरो अगाडि प्रतिविम्ब उभ्याएर प्रश्न सोध्ने गर्छु- “कृशु, अहिले के गर्दैछ्यौ? तिम्रो मानसिकता ठिकमा आयो? जिन्दगीमा के कस्ता सफलताहरु भित्र्याउन सफल भयौ? विवाह गर्यौ? के कस्तो अनुभूति बटुल्दै छ्यौ दाम्पत्य जीवनको? म सँग रिसायौ हगि” उफ!

म भित्र यसरी स्मृतिका कठोर कुण्ठाहरु उब्जन्छन्।  अप्रत्याशित बेदनाहरु उम्लन थाल्छन्। र म सम्झन्छु यी जीवनका व्यङ्ग्यहरु। उ नतमस्तक भएर एकोहोरो मेरो कुरा सुनिरहेकी छ। म भने जीवनका व्यंग्यहरुले मुटु खोपाएर बाँचेको छु।

कृशुसँगको प्रत्येक जम्का भेटमा मैले कहिल्यै पनि उसलाई सहानुभूति प्रदान गर्न सकिनँ। म भन्ने जन्तु ज्यादै कठोर स्वभावको थिएँ। दयाको पात्र बनेर हरपल कृशु मेरो सामुन्ने उपस्थित हँुदा म निर्दयी बनेर झम्टन्थें। हुन सक्छ मलाई यो ज्ञानको कमि थियो कि, महिलाहरु कोमल स्वभावका हुन्छन् र उनीहरु असल लोग्नेको चाह राख्छन्।

म अनुभव गर्छु कि, त्यस बेला कृशु पक्कै पनि मुटु खोपाएर तड्पी तड्पी बाँचेकी थिई। शायद हुन सक्छ यसरी नै लोग्ने मान्छेहरु निर्दयी हुन्छ र प्रत्येक महिलाले उपमा दिन्छन्, गोमन जस्तो, अर्कालाई डसेर मारिदिने।

यसरी म भित्र अनेकौ ज्वारभाटाहरु उठ्न थाल्छन। म सम्झन्छु, बास्तवमा कृशु माथि मेरोतर्फबाट यो एउटा ठुलो उपहास थियो। उसका सपनाहरु बिबथोल्ने मलाई केही अधिकार थिएन। तर पनि मैले उसका सपनाहरु लाटकोशेरो बनेर बिथोली दिएँ। उसले त सपनाहरु देख्नु स्वभाविक नै थियो।

किनकि प्रत्येक महिलाहरुले लोग्ने रोज्ने अवसर पाउनै पर्छ। उसले त आफ्नो अधिकार उपयोग गरेकी थिई। म उसको अधिकार माथि अंकुश लगाउँदै निरंकुशताको कठोर बाणले उसलाई मर्माहत पार्न उद्यत रहेको थिएँ। यसरी मैले एउटी महिलाको चाहना लत्याएर कुन ठूलो पुरुषार्थ गरे हँ? यो नै मेरो लागि आजीवन जीवनको व्यंग्य भएर पिरोली रहने छ। शायद उसलाई पनि यी जीवनका व्यंग्यहरुले सताइ रहेका होलान्।
तर आज अचानक उसको यो चिठी
“करणजी,
   नमस्कार।
(म कुनै हालतमा पनि सेवा ढोग भन्न सक्तिनँ। कारण हाम्रो आौपचारिक रुपमा विवाह हुनै सकेन)

आज छ वर्ष भयो तपाईंसँग भेटघाट गर्ने क्रम अन्त्य भएको। त्यसैले मेरोतर्फबाट यो पहिलो तथा अन्तिम पत्र लेख्दै छु। कृपया दुःख नमान्नु होला।

जुन दिन तपाईंले कठोरताका सीमाहरु नाघ्नु भयो। म जीवनको पराकाष्ठामा फर्किन बाध्य भएँ। तपाईं जस्तो कठोर पुरुष शायदै संसारमा विरलै पाइएलान्। तपाईं जस्ता पुरुषको व्यवहारबाट त्रसित म एउटी कोमल नारी  अन्य पुरुषसँग कसरी सम्पर्क बढाउन सक्थें र? कुनै न कुनै दिन तपाईंबाट मैले यो अपेक्षा राखेकी थिएँ कि, तपाईं दयालु हुनु हुने छ र मलाई आत्मसाथ गर्नु हुने छ।

तर ढुंगो टुसायो, तपाईंको मन टुसाएन।

तपाईंबाट कठोरताको पाठ सिकेकै थिएँ। आखिर कठोरताको प्रतिफल मैले बेहोर्नै पर्यो र निणर्य लिएँ। म किन दासत्व स्वीकार गरुँ? सम्भावित लोग्ने (जसलाई म आज पनि उस्तै रुपमा हेर्छु।) बाट स्वाभिमानका पुराणहरु सुनेकै थिएँ।

तसर्थ म किन आफ्नो स्वाभिमान बेचेर नैतिकता चुकाउँ? चरित्रवान पुरुषको कठोरताबाट प्रभावित म चरित्रहीन नारी (जो आरोप मात्रै हो, कठोरताका बरबरता पूर्ण टोकाइहरु) कदापि हुन सक्तिनँ। चरित्रहीन त ती हुन, जो अर्काको जिन्दगीलाई व्यंग्य प्रहार गर्छन्।

करणजी, तपाईं जस्तो म जिन्दगीलाई एक कोणबाट मात्रै कदापि हेर्दिन। जिन्दगीका कोणबाट विमुख तपाईं जिन्दगीको सुरुवात गर्नै नजान्ने फुच्चे केटो जस्तो हुनु हुन्छ। नैतिकताका पाठहरु भट्याउन जति सजिलो छ, त्यसलाई व्यवहारमा उतार्न त्यतिकै कठिन पनि छ। शायदै, तपाईं विश्लेषण गर्न नै जान्नु हुन्न।

तर करणजी, मलाई माफ दिनोस्। अब तपाईं आफ्नो हार स्वीकारेर पश्चाताप पूर्ण जिन्दगी बिताउन सक्नु हुने छ। जो तपाईंलाई दुख्न थालि सकेको हुनु पर्छ।  सम्भवत ः म भन्ने नारीको आँसुको मूल्य तपाईंले खेद पूर्ण स्थितिमा तिर्नु पर्ने छ।

तपाईंको कठोरतापूर्ण व्यवहारबाट म लज्जित छु। तपाईंका आरोपबाट मुक्ति प्राप्त गर्न नसके पछि म निराशिएँ, त्रसित भएँ र अत्तालिएँ। अब मानसिक द्वन्द्वहरुले म भित्रको मुटु छिया छिया बनाएको छ। साहाराको नाममा मेरो भन्ने जन्तु लोप भई सकेको छ। समय मलाई निर्बल, निर्बल बनाएर जिन्दगीको उपहास गरि रहेछ। यो उपहासको पात्र बनेर म कदापि बाँच्न सक्तिन करण, कदापि। बाँच्न नजान्ने त म पो भएकी छु। यो समाजमा नारीको के नै सम्मान छ र? बाँच्ने दुष्प्रयास गरुँ ? आखिर दासत्व बाहेक….।

लोग्ने मान्छेहरु गोमन हुन, गोमन, प्रत्येक स्वास्नीलाई डसेर मार्ने। तसर्थ स्वीकार्नोस, यो कठोर मृत्यु। जुन तपाईं बाट प्राप्त जीवनका व्यंग्यहरुको प्रतिफल हो।
अस्तु
तपाईंको संसारबाट बिदा लिएकी
कृशु।”
“कृशु …..। यो मानसिक पीडा कैले सम्म दुख्ने हो। जीवनका व्यंग्यहरुको प्रतिफल कुन सम्भावनामा गएर थन्किने हो। म अर्थहीन छु कृशु, अर्थहीन। शायद, यो अप्रत्याशित आँधीको परिणाम शून्यता र नीरवता…।”

सुन्दरहरैंचा-६, दुलारी मोरङ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *