कथा : शंका

शोभा अधिकारी
१७ कार्तिक २०८१ ११:३७

उनीलाई एक्लै कोठामा छोडेर हिँडेको पनि दुई दिन भइसकेको थियो। रातिको ड्युटी, दिउँसो एम.आर.पी. पासपोर्ट बनाउन नेपाली दूतावास जानैपर्ने बाध्यता थियो। उनी पढ्छु त भन्थिन् तर चौबिसै घण्टा फेसबुक, ट्विटर, इमो, भाइबर र म्यासेन्जरमा अनलाइन देखिन्थिन्। तैपनि मलाई सम्पर्क गरिनन् । मैले पनि गरिन ।

उनको सत्यता पत्ता लगाउने ठूलो इच्छा जाग्यो । उनको परीक्षा लिने निर्णय गरें। म्यासेज पठाएँ। म आज पनि आउन भ्याइन । राम्रोसँग बस्नु । म्यासेज हेरेको देखियो तर केही जवाफ आएन । ढुक्क परि होली भन्ने सोचें । भित्र भित्र रिसको राँको बल्यो।

भेन्डिङ मेसिनबाट इनर्जी ड्रिङ्क निकालेर सास नफेरी पिएँ। मेरा पाइला बासस्थानतिर लम्किए । झ्यालको सबै कोठामा पर्दा लगाएको टाढैबाट देखेँ। उनी बाहिर निस्केको पक्का भयो।

तर उनको कोठामा थोरै मात्र पर्दा खोलिएको थियो। त्यहीँबाट चियाएं। म त झसङ्ग भएँ। मेरो रिस पसिनामा परिणत भयो। उनको टाउको टेबलमा घोप्टो परेको थियो। घन्टी बजाएं। धेरै बेरपछि मात्र ढोका खोलिन् । म सरासर भित्र पसें। टाइट टिसर्ट, छोटो मिडीमा सजिएकी थिइन्। मुसुक्क हाँस्दै -“अब सँगै खाना खाने है ?”भनिन् तर मेरो आँखा अन्तै केन्द्रित भयो।

उनको गोरो तिघ्रामा, रातो कलमले लभको चिन्ह बनाएर बाँणले छेडेर लेखिएको देखें “सुरज ।” मैले धेरैचोटि आफ्नो नाम लेखें। तर कहिले यस्तो अनौठो अनुभूति भएन । तर आज मेरो नाम पढेर, म पानी पानी, नतमस्तक र निशब्द भएं। सोचें- शंकाले मान्छेलाई सन्काहा बनाउँदो रहेछ। हतार हतार उनलाई उचालें। “अबुई” भन्दै चिच्याएर ढोकातिर भागिन्। ढोकाको बन्द आवाज र श्रीमतीको आवाजसँगै मेरो पुरुषार्थ बिलायो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *