कथा : मेहनती सरस्वती
सरस्वती गाउँमा जन्मिएकी हुन् । गरिब किसान परिवारमा । उनका बाबाआमाले गाईभैसी र बाख्रा पालेका थिए । खेतीपाती पनि थियो । यसैले सरस्वतीलाई धेरै दु:ख गर्नु पर्थ्यो । उनले बिहान सबेरै घाँस काटेर ल्याउनु पर्थ्यो । स्कूलबाट घर गए पछि पनि उनले काम नगरी सुखै थिएन ।
जे जस्तो अवस्था भए पनि उनले बाबाआमा र भाइलाई अति माया गर्थिन । भाइ सानै भएका कारण उनले भाइलाई काम गर्न दिन्नथिइन् । बरू पढाउन सघाउँथिन् ।
सरस्वतीले पढ्ने भनेको रातमा मात्रै थियो । तर पनि उनी आफ्नो कक्षाको प्रथम थिइन् । स्कूलमा पनि उनी अति व्यवहारिक थिइन् । धेरै नबोल्ने भएकीले उनलाई साथीहरू हेप्न पनि खोज्थे । तर के गर्नु कक्षाकी प्रथम उनलाई कसैको हेपाइको पर्वाह नै थिएन ।
मोबाइल बोक्न स्कूलले रोक लगाएको थियो । साथीहरू लुकीलुकी मोबाइल बोक्थे । फेसबुक र टिकटक त सबैको थियो । तर सरस्वतीको न मोबाइल थियो, न त फेसबुक र टिकटक अकाउन्ट ।
फेसबुक र टिकटक नबनाएकामा साथीहरूले मात्रै होइन शिक्षकले समेत अज्ञानी जस्तो सम्झन्थे । तर सरस्वती आधुनिक इन्टरनेटका बारेमा निकै रूची राख्थिन् र भविष्यमा आइटी इन्जिनियर बन्ने उनले लक्ष्य लिएकी समेत थिइन् ।
फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालले सस्तो मनोरञ्जन मात्रै दिने अनि सामाजिक सञ्जाल चलाउँदा महत्त्वपूर्ण समय खर्च हुने उनको तर्क थियो । उनको यो तर्क सुनेर सबै साथीहरू हाँस्थे ।
एसईईमा सर्वोत्कृष्ट नम्बर ल्याएर पास भएकी सरस्वती आज विश्वले चिन्ने आईटी इन्जिनियर बनेकी छिन् । उनी गुगलमा माथिल्लो पदमा जागिर खान्छिन् । उनका केही साथीहरू टिकटकमा नाचेको त देखिन्छ । तर के काम गर्छन् कसैलाई थाहा छैन ।
मासिक लाखौं तलब बुझ्ने उनले कमाइको दश प्रतिशत आफू पढेको विद्यालय र गाउँको विकासमा खर्च गर्ने निर्णय गरेकी छिन् ।
आज सरश्वतीका बाबाआमा मात्रै होइन उनले पढेको स्कुलका सर-मिस र उनको गाउँ नै उनीदेखि गर्व गर्ने भएको छ ।
Facebook Comment