परिवर्तनको बाधक

कृष्ण बोहरा
१८ कार्तिक २०८१ ८:५०

संसार परिवर्तनशिल छ। समाज परिवर्तनशिल छ। हरेक बस्तु र घटनाहरु परिवर्तनशिल छन्। निरन्तर परिवर्तन हुनु नै प्रकृतिको नियम हो। यसैले यथास्थितिवाद संसारका नियमहरुको बर्खिलाप छ। तर यसो भन्दैमा खुरु खुरु परिवर्त हुन मात्र दिने सजिलो अवस्था छैन।

यसमा पुरानाहरुले सवै कुरालाई पुरानै रुपमा राखिरहन खोज्ने शक्ति र प्रवृत्ति पनि यहाँ बिद्यमान छन् भन्ने कुरालाई हामीले गौर गरेर बुझ्नुपर्छ। यो हाम्रो बिकासका नियमहरुमा लागू हुन्छन्। समाज बिकासमा लागु हुन्छ। बिज्ञान र प्रविधिको क्षेत्रमा लागू हुन्छन्।

राजनीतिमा पनि लागू हुँदै आइरहेका छन्। यसैले यो भन्न सकिन्छ कि परिवर्तनका नियमहरु सर्बव्यापी छन्। यसैले जो यसको बिरुद्ध जान्छ उसलाई यथास्थितिबादी भन्न सकिन्छ। राजनीतिमा यथास्थितीबादी र परिवर्तनकारी शक्ति भनि यसैले छुट्याउनु परेको हो।

यथास्थितिवादी र परिवर्तनवादी शक्तिको बीचमा जहिलेपनि द्वन्द्व भइरहन्छ। यही दुई शक्तिको बीचमा द्वन्द्व भएरै अहिलेसम्म परिवर्तनका अवयबहरु श्रृंखलाबद्ध रुपमा अगाडि बढेर यहाँसम्म आइपुगेको हो। म हाम्रो देशको राजनीति भित्र यही परिवर्तनकामी र यथास्थिति चाहने बिचको टकरावको श्रृङ्खलाहरुलाई यहाँ राख्न चाहन्छु।

राजतन्त्र

राजतन्त्र भित्रपनि पृथ्वी नारायण शाह एउटा कुसल राजनीतिज्ञ र परिवर्तनकामी राजा थिए। उनले परम्परागत रुपमा भाइ अंश लगाई टुक्रिएर कमजोर भएका राज्यहरुलाई एकजुट बनाई एउटै राज्य बनाउने सोचले काम गरे।

नेपाल मण्डल भित्रका यसैगरी टुक्रिएका अरु राज्यलाई पनि एकीकरण गरी एउटा बलियो राज्य बनाउनु त्यस बेलाको समयको माग थियो। किनभने नजिकै भारतमा संसारभर साम्राज्य फैलाउँदै गैरहेको अंग्रेजको शासन थियो।

उनीहरुबाट नेपाललाई बचाउनु पनि थियो। बलियो र एकीकृत राज्य बिना यो काम गर्न सकिँदैन थियो। उनले नेपालको एकीकरण गरि बलियो र ससक्त राज्य बनाएको देखिन्छ। अंग्रेजलाई नेपाल खानबाट बचाएको नै देखिन्छ।

यस दृष्टिकोणवाट नियाल्दा पृथ्वी नारायण शाहलाई दक्षिण एसियाका साम्राज्यवाद बिरोधी नेता थिए भन्न सकिन्छ। पृथ्वी नारायण शाहको नीति पनि देश र जनताको हित अनुकुल भएको देखिन्छ। म उनको दिव्य उपदेशलाई पनि यहाँ राख्न चाहन्छु।

-आर्थिक नीतिको सम्बन्धमा

-खानी भएको ठाउँमा गाउँ छ भनेपनि त्यसलाई सारेर खानी चलाउनु।

-कपडा बन्न जान्नेलाइ नमूना बनाई देखाइदिनु।

– आफ्नो देशको जडीबुटी देश लैजानु र नगद षैचनु।

-प्रजा मोटा भया दर्वावार बलियो रहन्छ। राजाका भण्डार भन्याका रैतानहरु हुन।

-आन्तरिक नीति

अन्याय मुलुकमा हुन नदिनु। निञा निसाप बिगान्य्रा भन्याको घुस लिन्या र घुस षान्या हुन। इन दुईको ता धन जीव गरी लियाको पनि पाप छैन, यी राजाका महासतुर हुन्।

-बिदेश नीति

यो राजे दुई ढुंगााको तरुल जस्तो रहेछ। चीन बादशाहसँग ठूलो घाहा राख्नु। दषिण समुद्रको बादशाहसँग पनि घाहा त राख्नु। तर त्यो माहाचतुर छ। हिन्दुस्थाना दबाईराख्या छ। सरजिमीमा परिरहेछ। हिन्दुस्थान जाग्यो भनि कठिन पर्नेछ भनि किल्ला खोज्न आउन्याछ।

माथिको भनाइबाट बिचार गर्दा पृथ्वी नारायण शाह त्यस जमानाका परिवर्तनकारी राजा थिए। तर उनी पछि उनका सन्तानहरुले उनका उपदेशहरुलाई बेवास्ता गरी चलेको देखिन्छ। राजा महेन्द्रको समयमा पूःन पृथ्वी नीतिलाई अनुसरण गरेको भन्न सकिन्छ।

राजा महेन्द्रको २०१७ शाल पछिका दश बर्षहरुमा उद्योग धन्दाहरुको व्यापक रुपमा स्थापना भएको देखिन्छ। संसारका थुप्रै देशहरुसँग कु टनीतिक सम्बन्ध स्थापनाका कारण नेपाल एउटा अखण्ड र असंलग्न राष्ट्रको रुपमा संसारको सामु चिनाउन पनि सफल भएको कुरा कतै नछिपेको तथ्य हो।

पूर्ब पश्चिम राजमार्गलगायत देशका महत्वपूर्ण राजमार्गहरु यसै बेला बनेको हो। शिक्षा क्षेत्रमा त्रिभुवन बिश्वबिद्यालयको स्थापना यसैबेला भएको हो। उत्तरी सिमानामा १७ ठाउँमा रहेको भारतिय सेनाका चेकपोष्टहरु यसैबेला हटाइएको थियो।

किसानको हितमा मोहियानी हकको स्थापना र जमिन्दारहरुलाई जमिनको हदबन्दी तोकिएको थियो। वास्तवमा यी कामहरु राजा महेन्द्रले उत्तरी छिमेकी देश चीनका शासक माओको सल्लाह बमोजिम गरिएको भन्ने छ।

जे भएपनि राजा महेन्द्रले पृथ्वी नारायण शाहको उपदेश हुबहु लागू गरेको मान्न सकिन्छ। यिनी पछि यीनका छोरा वीरेन्द्र पनि भद्र र जनताको हित अनुकुल शासन गर्नुपर्छ भन्ने राजा नै थिए।

बिश्व सामु नेपाललाई शान्ती क्षेत्र घोषित गरियोस् भन्ने प्रस्ताब राख्नु र असंलग्न परराष्ट्र नीतिलाई बलियोसँग अपनाउन कोसिस गर्नु राजा वीरेन्द्रको स्वाधीन राष्ट्रको रुपमा नेपाललाई उभ्याउने प्रयास थियो।

तर यो बेलासम्म परिस्थिति निकै परिवर्तन भैरहेको थियो। संसारभर लोकतन्त्रको हावा चलिरहेको समय थियो। लोकतान्त्रिक आन्दोलनलाई पनि राजा वीरेन्द्रले दवाउन चाहेको थिएनन।

पुनः माओेबादी आन्दोलन दबाउने नाममा सेना परिचालन गरी नेपाली जनता मार्ने काममा पनि उनी इच्छुक देखिएनन्। भाइ ज्ञानेन्द्रले भने परिस्थितिलाई यथास्थानमा राख्न चाहेका थिए। यही बेला राष्ट्रिय र अन्तर्राट्रिय यथास्थितीबादी शक्ति मिलेर राजा वीरेन्द्रको बंश नास गरेको अनुमान सबैले गरेका छन्।

राजा ज्ञानेन्द्रको शासन र सात दल

राजा ज्ञानेन्द्र जुन समय निकै शक्तिशाली थिए। वीरेन्द्रको बंशनास पछि श्रीपेज पहिरेका उनले भन्ने गरेका थिए, “म दाजु जस्तो शासक होइन।” कडाईकासाथ निरंकुश शासन गर्ने उनको भनाइको आसय थियो। तत्कालीन सात दलमा पनि निरासा र कुण्ठा बाहेक केही बाँकी थिएन।

संबैधानिक राजतन्त्र कालमा जनताका अपेक्षा पूरा गर्नतिर भन्दा पजेरो संस्कृति र भ्रष्टाचारमा रमाइरहेका शासकहरुलाई ज्ञानेन्द्रले सबक सिकाइरहेका थिए। राजालाई दाम चढाउने र प्रधानमन्त्रीका लागि नारायणहिटीमा निबेदन हाल्ने तहमा नेताहरु बर्लिएका थिए।

यसबाट के भन्न सकिन्छ भने ज्ञानेन्द्र जति यथास्थितिको पक्षपाती थिए त्यति सात दल पनि थिए भन्न सकिन्छ। मदन भण्डारी र मनोमोहन जीबित रहँदाको कार्यकाल छोडेर संबैधानिक राजतन्त्रको त्यो समयलाई नियाल्ने हो भने यस्तै देखिन्थ्यो। सात दलका बिरोध कार्यक्रमहरुमा मानिसहरु भेला हुनै छाडेका थिए। कारण जनतामा दलप्रति कुनै आशा भरोसा मरिसकेको अवस्था थियो।

मओवादीसँग सातदलको सहकार्य

ज्ञानेन्द्रले लात हान्न थालेपछि गिरिजाप्रसाद कोइरालाले माओबादीसँग सहकार्यको प्रस्ताव पठाए। माओवादी नेता प्रचण्डले गिरिजालाई, “तपाईं राजा नभन्नुस् म बहुदललाई स्विकार गर्छु भन्ने सन्देश पठाए।” यसपछि भएको दोश्रो जनआन्दोलनले पुनः दलहरुको शासन आयो।

बिस्तारै राजा फालिए, गणतन्त्र आयो। यस बेलाको परिबेश सम्म सात दल पनि यथास्थितीबाट परिवर्तनकामीको रुपमा रुपान्तरित भएको भ्रम नेपाली जनतालाई परेको थियो। गणतन्त्र आएपश्चात भएको चुनाउबाट माओबादी पार्टीले बहुमत ल्याएसम्म माओबादी पार्टी यथास्थितिकरणको बिपक्षमा र परिवर्तनकामी शक्तिको रुपमा देखिन्थ्यो।

तर राष्ट्रपतिको चुनाउमा गिरिजा प्रसाद कोइरालालाई समर्थन नगर्ने बित्तिकै प्रचण्डको कोइरलासँग मनमोटाव बढ्यो। जसबाट चुनाउ जितेर आएपनि गिरिजाप्रसाद कोइलालाले ३ महिनासम्म प्रधानमन्त्रीको पद छोड्नै मानेनन्। उनले राखेको सर्त मान्य हुने सर्तमा मात्र प्रचण्डलाई सत्ता छोड्न राजी भए।

सर्बसम्मत निर्णय गर्ने परिपाटीलाई बदलेर बहुमतको निर्णय गर्ने परिपाटीलाई मान्नुपर्ने सर्त थियो। यसपछि भने माओबादी पार्टीलाई पनि संसदीय व्यवस्था फलामको चिउरा चपाए सरी भयो।

पुराना दलहरु यथास्थितीकरण चाहन्थे माओबादीले अग्रगमन त भनेको थियो तर यो कस्तो हो? व्यबहारमा नदेखिकन माओबादी पार्टीमा पनि बिखण्डन सुरु भयो। यसपछि भने माओबादी पार्टी पनि कमजोर भयो र यथास्थितिकरणमै रमाउन थालेको महसुस सबैले गरेका थिए।

हर्क, बालेन र गोपी हमालको उदय

नेपालको राजनीतिमा हर्क, बालेन र गोपी हमालको उदय भयो। यो स्थानीय निकायमा पूर्व मध्य र पश्चिम नेपालमा समेत सबैतिर प्रभाव पर्नेगरी नयाँ सोच र नयाँ बिचारको उदय भएको थियो। हर्क बालेन र गोपी हमाल देखिँदा व्यक्ति देखिएतापनि यिनीहरुको आगमन जनआक्रोशको बिस्फोटन थियो।

निश्चित बिचार र सिद्धान्तले परिपक्व नभएपनि यो राजनीति र समाजलाई यथास्थितिकरण गरिराख्ने शक्तिको बिरुद्ध थियो। आजको मितिसम्म यिनीहरु यथास्तिको बिरुद्ध उभिएको नै देखिन्छ।

यथास्थितिमा रमाउने शक्तिहरु अहिले पनि उनीहरुलाई यथास्थितिमा कसरी ल्याउने भन्ने कसरत गरिरहेको देख्न सकिन्छ। यसैले उनीहरु यी तीन व्यक्तिहरुको खुब बिरोध गर्छन् र रिस गर्दछन्। मिल्ने भए थुन्ने र कारवाही गर्ने सम्मको हर्कतमा यथास्थितीवादी शक्तिहरु देखिएका छन्।

संसदमा रविको आगमन

रविको रास्वापा पार्टी बालेन, हर्क र गोपी हमालको बिजयबाट उत्साहित भएर देखापरेको अर्को शक्ति हो। यो पार्टीसँग पनि बिचार र सिद्धान्त त केहि पनि छैन। उत्साह उमंग र नयाँ केही गरौं भन्ने जोस जागर चाहिँ श्रृजना भएरै आएको हो।

रविका आफ्ना व्यक्तिगत कमजोरीलाई बिर्सने हो भने यसले पनि राजनीतिमा भएको यथास्थितिकरणलाई रोक्न ताकत राख्ने मनसाय यसमा भएको देखिन्छ।

स्वयम् प्रचण्ड र नारायणकाजी जस्ता नेताहरुलाई संसदियय व्यबस्था भित्र बसेर केही गर्न सकिँदैन होला भन्ने मरिसकेको जागर पुनः श्रृजना गरेर रक्त संचार गरेको अनुभूति हुन्छ। नेता नारायणकाजीले आफू गृहमन्त्री हुँदा ठूला ठूला भ्रष्टाचारका फाइल खोल्नु र यसमा कारवाहीको लागि प्रयास गर्नु यसैको प्रतिफल हो भन्न सकिन्छ।

अन्त्यमा  कुनै पनि बाद र व्यबस्था आउनु नै सफलताको कसी हैन। बरु सफलता यसको कार्यान्वयन पक्ष कस्तो छ? त्यसमा भर पर्छ। ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार माथि निर्मम नहुने हो भने चीनले कसरी प्रगती गर्न सक्थयो र सिंगापुर कसरी सिंगापुर हुनसक्थ्यो। उदाहरण यहि नै काफी छ।

यथास्थितिकरणलाई रोक्न सक्ने क्षमता नयाँ पिढीँमा जति बिकास हुनसक्छ नेपालको भविष्य त्यसमै निर्भर बन्नेछ। यसैले परिवर्तनको पक्षमा घर घर बाट उठ्नुपर्छ, हरेक पार्टीबाट जाग्नुपर्छ, बस्ती बस्तीबाट उठ्नुपर्छ। परिवर्तनको बिगुल देशैभर फुकिनुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *