भ्रष्टाचारको जड संसदीय व्यवस्था हो, यसलाई नफ्याँके जनताले राजालाई स्पेस दिन्छन्ः दीक्षित

डिसी नेपाल
१९ कार्तिक २०८१ १५:५०

काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको लागि संसदीय व्यवस्था नै अभिश्राप बनेको बताएका हुन् । संसदीय व्यवस्था अन्त्य नभएसम्म पार्टी, नेता र व्यक्ति परिवर्तन गरेर कुनै फरक नपर्ने बताए । उनले २००७ सालदेखि नेपाल संसदीय व्यवस्थाको अभिश्रापबाट बाहिर निस्कन नसकेको बताए ।

‘यो संसदीय व्यवस्था भ्रष्टाचारको लागि र भ्रष्टाचार संसदीय व्यवस्थाको लागि नै हो । यही हो हाम्रो जड, यो व्यवस्था नफ्याँकेसम्म व्यक्ति, पार्टी, नेता परिवर्तन गरेर केही फरक हुनेवाला छैन । किनभने आज भ्रष्टाचारको पैसाबाट जित्छन्, संसद्मा पुग्छन्, संसद्बाट अर्को भ्रष्टलाई मन्त्री बनाउँछन् । प्रधानमन्त्री पनि भ्रष्ट, मन्त्री पनि भ्रष्ट । यो साइकलबाट हामी निस्किन सकिरहेका छैनौं । यसलाई खत्तम नपारी कुनै हालतमा भ्रष्टाचार अन्त्य हुनसक्दैन,’– उनले भने ।

संसदीय व्यवस्थाको अन्त्य गरेर अब प्रत्यक्ष कार्यकारी प्रणालीमा जानु्पर्ने उनको भनाइ छ । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री बनाउने र संसद् बाहिरबाट विज्ञ मन्त्रीहरु बनाउन आवश्यक रहेको बताए । ‘हामीले अब कार्यकारी व्यक्तितिर नगई हुँदैहुँदैन । मन्त्रीहरु सबै संसद् बाहिरबाट ल्याउने, पोलिसी बनाउनका लागि सानो संसद बनाउने, हामीले कार्यकारी राष्ट्रपति व्यवस्थामा जानुपर्छ,’– उनले भने ।

साथै, उनले संसदीय व्यवस्थाबाट आजित भएर जनताले राजालाई स्पेस दिन खोजिरहेको बताए । उनले अहिले धेरै जनतामा त्यो प्रकारको चाहना रहेको दाबी गरे । संसदीय व्यवस्थाको विकल्प नखोज्ने हो भने जनताले विकल्प खोज्ने उनको भनाइ छ । ‘राजालाई कुनै स्पेस दिने हो भने, अहिले त्यो चाहना मान्छेमा देख्छु म, घर–घरमा त्यो चाहना छ । कमसेकम राजपरिवारसँग २ सय वर्षको अनुभव छ । उनीहरुले कही न केही सल्लाह, सुझाव दिनसक्छन्,’– उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *