अर्थतन्त्रको मुटु, कलेजो कमजोर र हात, पाखुरा बलियो भएको छः अर्थविद् डा. अधिकारी
काठमाडौं। अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन्।
आज (सोमबार) रिपोर्टर्स क्बल नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिए पनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको बताए।
‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ। सरकारका मान्छेहरुले र नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्यो भने अर्थतन्त्र गजब रहेछ भन्ने देखिन्छ । तर, आम नागरिक, अम जनतालाई दैनिकीमा गएर सोध्ने हो भने अर्थतन्त्र सुध्रिएको छैन । हिजो जति पैसाले बस्तु र सेवा प्राप्त भइरहेको थियो, त्यो प्राप्त भइरहेको छैन,’ अर्थविद् अधिकारीले भने ।
गत सालको तु्लनामा खाद्यन्नको बजार मूल्य दोब्बरसमेत भएको उनले बताए । खाद्यन्नको सन्दर्भमा बजार मूल्य २० प्रतिशत बढ्नु सामान्य जस्तै भएको उनको टिप्पणी छ ।
हाम्रो जस्तो अर्थतन्त्रमा कूल ग्राह्यस्थ उत्पादनमा ऋणको अंश ३५ प्रतिशत भन्दा धान्न सक्ने क्षमता छैन । तर, अहिले ४४ प्रतिशत पुगिसकेको छ । नेपालको अर्थतन्त्रको मुटु, कलेजो कमजोर भएर हात, पाखुरा चाहीँ बलियो भइरहेको उनले टिप्पणी गरे । सरकारले अर्थतन्त्रको महत्वपूर्ण पक्षहरु चाहीँ कमजोर भइरहेको कुरा स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।
‘हाम्रो अर्थतन्त्र द्वन्द्वात्मक अवस्थामा छ । मुटु, कलेजो कमजोर हुँदै गएको छ, हात पाखुरा अलिकति बलियो देखिएको छ । अर्थतन्त्र राम्रो छ, गजबको छ भन्न हुँदैन,’– उनले भने ।
Facebook Comment