अमेरिकी राष्ट्रपति निर्वाचन : विश्वकै सबैभन्दा शक्तिशाली व्यक्तिले कति सेवा सुविधा पाउँछन् ?

डिसी नेपाल
२० कार्तिक २०८१ १०:४४

काठमाडौं । कमला ह्यारिस वा डोनाल्ड ट्रम्प, यी दुईमध्ये को बन्ला अमेरिकाको राष्ट्रपति ? यो प्रशनको जवाफ मंगलबार हुने निर्वाचनपछि स्पष्ट हुनेछ । अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउनेछ वा डोनाल्ड ट्रम्पले पुनरागमन गर्नेछन् भन्नेमा सबैको नजर छ ।

अमेरिकी राष्ट्रपतिलाई विश्वकै सबैभन्दा शक्तिशाली पद मानिन्छ । परम्परा अनुसार अमेरिकामा नवनिर्वाचित राष्ट्रपतिले आगामी जनवरी २०, २०२५ मा चार वर्षे कार्यकालका लागि पदभार ग्रहण गर्नेछन् । यो जिम्मेवारी कसको काँधमा जानेछ भन्नेमा विश्वको नजर हुनु स्वभाविक हो किनकि अमेरिकी राष्ट्रपति आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय र भूराजनीतिक मामिलामा पनि निर्णायक हुन्छन्।

अमेरिकाका राष्ट्रपतिलाई विश्वकै शक्तिशाली व्यक्तिमध्ये एक मानिन्छ । यस्तो अवस्थामा अमेरिकी राष्ट्रपतिले कति तलब पाउँछन् भन्ने प्रश्नमा धेरैलाई चासो हुनु स्वभाविक हो । अमेरिकी राष्ट्रपति सरकारी कर्मचारी हुन् र उनी जनताप्रति उत्तरदायी हुन्छन् । उनको तलब देशको सरकारी कोषबाट खर्च हुन्छ ।

अमेरिकी राष्ट्रपतिको तलब औसत देशवासीभन्दा ६ गुणा बढी छ । औसत अमेरिकीले वार्षिक ६३ हजार ७९५ डलर (लगभग ८५ लाख रुपैयाँ) कमाउँछन्। अमेरिकाका शीर्ष धनीहरूले वार्षिक औसत ७ लाख ८८ हजार डलर अर्थात् करिब १० करोड ६० लाख रुपैयाँ कमाउँछन् । अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा छ ।

यस अनुसार अमेरिकी राष्ट्रपति देशका शीर्ष १ प्रतिशत धनीमा पर्दैनन् । अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडेनले वार्षिक ४ लाख डलर अर्थात ५ करोड ३८ लाख रुपैयाँ तलब पाउँछन् । यसबाहेक राष्ट्रपतिले खर्चबापत थप ५० हजार डलर अर्थात ६७ लाख रुपैयाँ पाउँछन् ।

वाशिंगटन डीसीमा रहेको ह्वाइट हाउस संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो। यहाँ बस्नका लागि उनले आफ्नो खल्तीबाट केही खर्च गर्नु पर्दैन ।

राष्ट्रपति पहिलो पटक ह्वाइट हाउसमा प्रवेश गर्दा उनलाई एक लाख डलर दिइन्छ। यो पैसा उनले आफ्नो सुविधा अनुसार घरको सजावटमा खर्च गर्न सक्छन् । राष्ट्रपतिले मनोरञ्जन, कर्मचारी र भान्छाका लागि पनि वार्षिक १९ हजार डलर पाउँछन् । अमेरिकी राष्ट्रपतिको सबै स्वास्थ्य सेवाहरू निःशुल्क हुन्छन्।

अमेरिकी राष्ट्रपतिले यात्राका लागि लिमोजिन कार, मरीन हेलिकप्टर र एयर फोर्स वन नामको हवाईजहाज पाउँछन् । राष्ट्रपतिको फ्लीटमा समावेश लिमोजिन कारहरू आधुनिक सुरक्षा र सञ्चार प्रणालीले सुसज्जित छन्।

राष्ट्रपतिको प्राथमिकता अनुसार लिमोजिन कारमा समय समयमा आवश्यक परिमार्जन हुँदै आएको छ । कारहरूलाई सुरक्षित बनाउन समय समयमा परिवर्तनहरू पनि गरिन्छ।

एयर फोर्स वनको विमानभित्र करिब चार हजार वर्ग फिट ठाउँ छ। यसलाई ‘फ्लाइङ क्यासल’ वा ‘फ्लाइङ ह्वाइट हाउस’ पनि भनिन्छ, किनभने यो एकदमै सुरक्षित छ। यसमा राष्ट्रपतिलाई आफ्नो दैनिक काम गर्नका लागि आवश्यक सबै सुविधा छ ।

राष्ट्रपति बाहेक एयरफोर्स वानमा करिब १०० कर्मचारीले यात्रा गर्न सक्ने व्यवस्था छ । अमेरिकाका राष्ट्रपतिले एन्ड्रयूज एयर फोर्स बेसबाट आफ्नो अन्तर्राष्ट्रिय उडानहरू गर्छन् । वाशिंगटनमा आफ्नो आधिकारिक निवासबाट एयरपोर्टसम्म जान उनी मरिन वन हेलिकप्टरमा यात्रा गर्छन्।

प्रत्येक सार्वजनिक अधिकारीले प्रत्येक वर्ष वा समय समयमा तलब वृद्धिको सुविधा प्राप्त गर्दछन् तर अमेरिकी राष्ट्रपतिको तलब २००१ पछि बढेको छैन। २००१ मा जर्ज डब्लु बुशले पदभार ग्रहण गरेपछि तलब बढाइएको थियो।

जर्ज वाशिंगटन अमेरिकाको पहिलो राष्ट्रपति थिए। उनले वार्षिक २ हजार डलर तलब पाएका थिए । त्यो समय अनुसार यो ठूलो रकम थियो। यसबाहेक, जर्ज वाशिंगटन आफैं एक समृद्ध किसान थिए। डोनाल्ड ट्रम्प, जोन एफ केनेडी र हर्बर्ट हुवर जस्ता धनी अमेरिकी राष्ट्रपतिहरूले आफ्नो वार्षिक तलब दान गर्थे।

यसबाहेक अमेरिकी राष्ट्रपतिले अवकाशपछि वार्षिक २ लाख ४० हजार डलर आजीवन पेन्सन पाउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *