पूर्णबहादुरको सारङ्गी हेर्न प्रधानमन्त्री ओलीलाई निम्तो

डिसी नेपाल
२० कार्तिक २०८१ १४:४४

काठमाडौं। कार्तिक १५ गतेबाट प्रदर्शनरत चलचित्र पूर्णबहादुरको सारङ्गी हेर्न प्रधानमन्त्री केपीशर्मा ओलीलाई निम्तो आएको छ। चलचित्रको निर्माण पक्षलाई फिल्म हेर्न आउनका लागि निमन्त्रणा दिएको ओलीले जानकारी दिएका छन् । फिल्म हेर्ने निम्तो आएपनि समय अभावका कारण हलमा जान नपाएको प्रधानमन्त्रीको भनाइ छ।

‘समय अभावले हेर्न पाएको छैन। फिल्मको समीक्षा हेर्दै गर्दा यसले हाम्रो सामाजिक परम्परा र व्यवसायिकताको अन्तरद्वन्द्वलाई राम्रोसँग उठान गरेको बुझेको छु। अनुकूलता मिले फिल्म हेर्ने छु’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

विजय बरालको प्रमुख भूमिका रहेको सो चलचित्र अहिले हलमा प्रदर्शनरत छ । लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्रले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ ।

मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गरेको छ ।

चलचित्रले दर्शकहरूलाई गहिरो भावनात्मक प्रभाव पार्दै हलबाट रुँदै निस्कन बाध्य बनाएको छ। प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगेका थिए ।

चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखा भरी आँसु लिएर फिर्किएको देखिन्छ । अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए ‘चलचित्रले धरधरी रुवायो’।

सिनेमाका मुख्य कलाकार विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली हल हल पुग्दा यस्तो देखिन्थ्यो अहिले दर्शकहरूले तिहारको देउसी भैलोभन्दा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ को गहिरो प्रभाव महसुस गरिरहेका छन्।

सिनेमाले कथाको गहिराइ र सांस्कृतिक पक्षप्रति दर्शकको भावनालाई यसरी छुन्छ कि दर्शकहरू हलबाट रुँदै निस्कन्छन्, दर्शकहरूको प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’अपेक्षा गरेभन्दा बढी राम्रो रहेको संकेत दिएको छ। यसले चलचित्रका लागि अब्बल ‘वर्ड अफ माउथ’मा साथ दिएको छ ।

सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने धेरैको विश्वास छ। चलचित्रले दर्शकको मन जित्न सफल भएकोले आगामी दिनहरूमा यसले अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *