हत्या गरिएका पूर्वराष्ट्रपतिका भतिजा रोबर्ट केनेडीले अमेरिकी राष्ट्रपति निर्वाचनमा कति मत पाए ?

डिसी नेपाल
२१ कार्तिक २०८१ ११:५८

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच टक्कर छ । तर, यो निर्वाचनमा उम्मेदवार उनीहरू मात्र होइनन् ।

यस पटकको निर्वाचनमा अमेरिकी पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा रोबर्ट एफ केनेडी जुनियर पनि उम्मेदवार छन् । उनी जोन एफ केनेडीका भाइ रोबर्ट एफ केनेडीका छोरा हुन् ।

रोबर्ट २०२३ सम्म डेमोक्रेटिक पार्टीका सदस्य थिए । पहिले उनले डेमोक्रेटिक पार्टीबाटै राष्ट्रपतिको लागि प्रतिस्पर्धा गर्ने बताएका थिए । तर पछि २०२३ मा उनले पार्टी परित्याग गरे र स्वतन्त्र उम्मेदवार बन्ने निर्णय गरे ।

उनका पिता रोबर्ट सिनियर आफ्ना दाजु राष्ट्रपति हुँदा अमेरिकाको महान्यायाधिवक्ता थिए । पूर्व राष्ट्रपति जोन एफ केनेडीको १९६३ मा राष्ट्रपति पदमा रहेकै बेला हत्या गरिएको थियो । यो अमेरिकाको इतिहासमा निकै विवादित हाइप्रोफाइल हत्या मानिन्छ ।

दाजुको हत्या भएको ५ वर्षपछि रोबर्ट सिनियर पनि १९६८ मा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका थिए । उनी डेमोक्रेटिक पार्टीबाटै उम्मेदवारीको लागि प्रतिस्पर्धा गर्दै थिए ।

हत्या भएको रातभन्दा अघिल्लो दिन मात्र उनले क्यालिफोर्नियामा डेमोक्रेटिक पार्टीको प्राइमरी चुनाव जितेका थिए । उनी राष्ट्रपतिको उम्मेदवार बन्नको लागि बलियो दावेदार थिए । उनीसँग उम्मेदवारीको लागि बहालवाला राष्ट्रपति लिन्डन जोनसन र बहालवाला उपराष्ट्रपति हुबर्ट हम्फ्रे प्रतिस्पर्धामा थिए ।

लिन्डन जोनसन जोन एफ केनेडीको हत्या भएपछि राष्ट्रपति बनेका थिए । हत्याका बेला जोनसन उपराष्ट्रपति थिए । हत्याको एक वर्षपछि १९६४ को निर्वाचनमा जोनसनले राष्ट्रपति निर्वाचन जितेका थिए ।

१९६८ मा रोबर्ट केनेडीको हत्या भएपछि उनी प्रतिस्पर्धाबाट बाहिरिए । केही दिनपछि लिन्डन जोनसनले पनि उम्मेदवारीको प्रतिस्पर्धाबाट नाम फिर्ता लिए । यससँगै डेमोक्रेटिक पार्टीको प्राइमरी हुबर्ट हम्फ्रेले जितेर राष्ट्रपतिको उम्मेदवार भए । तर, निर्वाचनमा उनले रिपब्लिकन पार्टीका रिचर्ड निक्सनसँग हारे ।

जोन एफ केनेडीको राष्ट्रपति पदमा बहाल रहेकै बेलामा हत्या भएपछि उम्मेदवार बन्न चाहेका उनका भाइको उम्मेदवारीको प्रतिस्पर्धाकै बेला हत्या भयो । यसपछि अहिले केनेडी परिवारका अर्का सदस्य रोबर्ट जुनियर निर्वाचन लड्दैछन् ।

रोबर्ट जुनियरले चुनाब जित्ने सम्भावना भने छैन । उनले अहिलेसम्म एउटा पनि इलेक्टोरल कलेज जित्न सकेका छैनन् । समाचार एजेन्सी एपीका अनुसार उनले अहिलेसम्म ५ लाख २३ हजार ७५० पपुलर भोट पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *