मन्त्रीकै अगाडि एनआरएनएका गुटका नेताहरुको वादविवाद
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का तीन अलग अलग गुटका नेताहरुले बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाकै अगाडि वादविवाद गरेका छन् । विभाजित एनआरएनएलाई एकताबद्ध बनाउन मन्त्रीले छलफलका लागि जुटाइदिएकोमा उनीहरुले मन्त्रीकै अगाडि भनाभन गरेका हुन् ।
गैरआवासीय नेपाली संघ अहिले तीन गुटमा विभाजित भएको छ । संघमा बद्री केसीको एउटा समूह, शेष घलेको अर्को समूह र आरके शर्माको अर्को समूह छ । एक समूहले अर्कोलाई नमान्ने र आ–आफ्नै तरिकाले अधिवेशन र साधारण सभा गर्दै नेतृत्व चयन गर्ने क्रम चलेपछि मन्त्रीले संघलाई मिलाउन पहल गरेकी थिइन् ।
स्रोतका अनुसार सो छलफलमा बद्री पाण्डे, आरके शर्मा, शेष घले र उपेन्द्र महतो समेत सहभागी थिए । मन्त्रीले गुटका नेताहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिएपछि उनीहरुले अर्को समूहले संघलाई विभाजन गराउन खोजेको आरोप लगाउँदै वादविवाद गरेका थिए । उपेन्द्र महतोले सबै समूहलाई मिलाउने प्रयास गरेको भए पनि विवाद चर्किएको स्रोतको भनाइ छ ।
एनआरएको विवाद अदालतमा पनि चलिरहेको छ । एउटा रिटको सुनुवाइको क्रममा सर्वोच्च अदालतले सुनुवाइ गर्दै बद्री केसीको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएको भए पनि सर्वोच्चमै फरक रिटहरु अझै विचाराधीन छन् । अदालतले संघलाई मिलेर जान निर्देशन दिएको भए पनि संघभित्र गुटको विवाद भने चर्को बनेको छ ।
Facebook Comment