पुस्तान्तरको क्रममा पथरीको संगिनी

युवराज बास्कोटा
२२ कार्तिक २०८१ १४:३९

पथरी। चर्को उत्तेजित गीत संगीतमा झुम्दै गरेको हाम्रो समाजमा सुरिलो स्वर ध्वनी र लयको राम्रो संगम, महिला दिदी बहिनीको पीडाका कथा लयमा परिणत गरेर गाउने संगिनी प्रति अर्कषण बढेको पाइन्छ।

अहिलेका नयाँ पुस्तामा संगीनीको परिचय र महत्व बुझाउँदै यसको सम्वर्द्धनमा  महिला जागरण हरिकीर्तिन समूहको छातामुनि आबद्ध पथरी शनिश्चरे नगरपालिका- ३ मा अवस्थित आमाहरूको एउटा जाँगरिलो समूहले विगत केही समययता परम्परागत संगिनी स्वर र साधनामा रुचिपूर्वक मञ्चन गर्दै आएका छन्।

पछिल्लो दशकयता नेपाली समाजमा भित्रिएको पश्चिमा संस्कृति, आयतित बाजागाजा, लयआदिको प्रभावले लोपोन्मुख यो कलात्मक संस्कृतिलाई बचाउने र पुस्ता हस्तान्तरण गर्ने आमाहरूको योजना भएको बुझिन्छ ।

यसमा सहजकर्ताको रूपमा उभिएर सहयोग गर्दै आएका स्थानीय अर्जुन काफ्लेका अनुसार आमाहरू केही दिनमा संगिनी विकासक्रमको सिकाइ र उपलब्धी अध्ययनका लागि म्याग्दी, पर्वत, बागलुङ, स्याङजा, गुल्मी, पाल्पा, तनहुँलगायतका जिल्लामा जाने, यसबारे घनिमत अध्ययन गर्ने र स्थानीय आमा दिदीबहिनीमाझ बसेर प्राप्त ज्ञानमिश्रित अनुभव आदानप्रदान गर्ने सोचमा छन्।

संगिनी नाच मूलतः आमा वा दिदीबहिनीहरूले स्थानीय भाका र लयमा गीत गाएर फन्को मार्दै छमछमी नाच्ने एक परम्परागत नृत्य हो । वरिपरी गोलो घेरामा एक आपसमा हात जोडि वरिपरी घुम्दै शिरमा कलस राखेर गाउंदै नाच्ने गरिन्छ।

परस्पर मानवीय प्रेम र समर्पण रहेको संगिनी नाचमा प्रयोग गरिने शब्द चयन, भाका र स्वरसहितको साधनाभित्र धार्मिक ग्रन्थहरूको सार पाइन्छ। जस्तै कि रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको सन्देशात्मक तथ्यलाई गीत र रैथाने लयमा परिणत गरी ताली बजाई नाचिन्छ। सामाजिक मुद्दालाई पनि यसले कथावस्तुको रूपमा बोक्ने गर्दछ।

पैराणिककालका कथावस्तुहरू समेटिएकाले संगिनी गीत सुन्नमा कतिपयलाई आनन्द लाग्ने अग्रज आमा रमा काफ्ले भन्छिन्। यसमा संस्कार, संस्कृति र नैतिक मूल्यमा आधारित आचरण पनि भएकोले पुस्ता हस्तान्तरण जरुरी भएको उनको तर्क छ। युवा उमेर समूहका नानीहरू लिएर सिकाइको उत्तराधिकारी निर्माण गर्न लागेको दृश्यअघि बहुविधाले आकर्षित रमा आमा आफैंमा ढुक्क छिन्।

अन्य विधामा प्रयोग हुने गीत संगीत जस्तो केवल मनोरञ्जनको साधन होइन, सांस्कृतिक धरोहरको प्रतीक हो, जसले सामुदायिक एकता र सामाजिक सद्भावको पक्षपोषण गर्दछ।

महिला जागरण हरिकीर्तिन समूहले आफ्नो अभिनय र मञ्चनका क्रममा प्रयोगमा ल्याएका कतिपय संगिनी गीत र संगीतमा संस्कार र संस्कृति आदि पक्षलाई नियाल्दा यसमा परम्पराको निरन्तरता मात्र छैन, आजको पुस्ताले मन पराउने कतिपय गीतभन्दा सामाजिक सद्भावयुक्त सहिष्णुता, देशभक्ति र राष्ट्रभक्ति पनि निर्देशित छ। यो आज निकै खड्कँदो पक्ष हो, आफैंमा सर्वाधिक राम्रो विषय हो।

पूर्वजनप्रतिनिधि देवीप्रसाद घिमिरे, भूवनेश्वर पोखरेल, उमकान्त खतिवडा, टंकप्रसाद पोखरेल, प्रेमप्रसाद नेपाल, चन्द्रप्रकाश अधिकारी, बलभद्र आचार्य, लोकनाथ गौतमसहितको प्रयासमा उठेको बालन समूहको सक्रियता सँगसँगै संगिनी निर्माण र सञ्चालनमा सहकार्य गर्नुहुने देवीमाया लुइँटेल, टंक पोखरेल, यशोदा पोखरेल, निरा अधिकारी, मुना अधिकारी, सिता अधिकारी, पिंगला पोखरेललगायतको भूमिका उल्लेख रहेको स्थानीय बालन तथा संगिनीप्रेमी बताउँछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *