माछा पोखरीमा पसेको गोहीको उद्धार

लम्की । कैलालीको टीकापुर–७ बेलुवामा पोखरीमा पसेको मगर गोहीको उद्धार गरिएको छ । पथरैया नदीबाट स्थानीय टेकबहादुर मल्लको माछा पोखरीमा पसेको गोहीको प्रहरी र स्थानीय संरक्षणकर्मीले उद्धार गरी पथरैया र काढा नदीको दोभानमा छोडेका छन् ।
पोखरीमा गोही देखेपछि माछापालक मल्लले प्रहरीलाई खबर गरेका थिए । प्रहरी चौकी सत्तीका इञ्चार्ज दौलत पुजारा, प्रहरी हवल्दार रामचरण चौधरी, डल्फिन संरक्षण समितिका अध्यक्ष भोजराज ढुङ्गाना, स्थानीय संरक्षणकर्मी रामकृष्ण चौधरी, धनीराम रेग्मीलगायतले गोहीको उद्धार गरेका थिए । पथरैया नदीबाट माछा पोखरी एक किलोमिटरको दूरीमा पर्छ । डल्फिन संरक्षण समितिका अध्यक्ष ढुङ्गानाका अनुसार भाले जातको गोही डेढ मिटर लामो र १५ किलो तौलको थियो । रासस
प्रतिक्रिया
Facebook Comment