गाईजात्रामा हाँस्य कलाकार: हाम्रो पनि चाहना हो, नेताहरुलाई ब्यङ्ग्य गर्न नपरोस्

डिसी नेपाल
३१ साउन २०७६ १३:५५

काठमाडौं। आज गाईजात्रा । गाईजात्रालाई हाँस्य कलाकारको उत्सवका रुपमा समेत लिइन्छ।

हाँस्य कलाकारहरुले हरेक वर्ष ‘गाईजात्रा’मा विभिन्न विषयमा हाँस्यव्यङग्य प्रहशन गर्दै आएका छन्। पछिल्लो समय गाईजात्रामा कलाकारहरुको ब्यङ्ग्य बढी नेताहरुप्रति लक्षित हुँदै आएको छ।

राजनीतिमा देखिने विकृतिका कारण आफूहरु राजनीति क्षेत्र र नेताहरुलाई ब्यङ्ग्य गर्न बाध्य भएको कलाकारहरु बताउँछन्।

शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा अधिकांश कलाकारहरुले गाईजात्रामा नेताहरुलाई ब्यङ्ग्य गर्नु आफूहरुको रहर नभएर बाध्यता भएको बताए।

हाँस्य कलाकार दमन रुपाखेतीले भने, –‘हामी हरेक वर्ष नेतालाई गाली गर्दै आइरहेका छौं। त्यो हाम्रो रहर होइन। आउँदा वर्ष नेतालाई ब्यङ्ग्य गर्न नपरोस्।’

त्यस्तै हाँस्य कलाकार शिवशंकर रिजालले अन्य देशमा राजनीतिक ब्यङ्ग्य नगरिने बताउँदै नेपालमा नेताहरुकै कारण आफूहरु राजनीतिक ब्यङ्ग्य गर्न बाध्य भएको बताए। उनले पनि राजनीतिक ब्यङ्ग्यको अन्त्य हुनुपर्ने बताए। उनले भने, –‘दुईतिहाई बुहुमतको सरकारले विकासमा गति लिओस्। हामीले आउँदा वर्ष राजनीतिक विकृति विरुद्ध कहिल्यै ब्यङ्ग्य गर्न नपरोस् ।’

डा. घनश्याम खतिवडाले विगतमा गाईजात्रामा सान्दर्भिक ब्यङ्ग्य गर्दा धेरै परिवर्तनका संकेतहरु देखा पर्ने स्मरण गर्दै पछिल्ला वर्ष त्यस्ता संकेतहरु देखिन छाडेको बताए। उनले ‘द कपिल शर्मा’ शोमा राजनीतिक ब्यग्य नदेखेको बताउँदै भने, –‘हामीमाझ पनि त्यस्तो दिन आओस्।’ हाँस्य कलाकार राजाराम पौडेलले देश विकासका लागि नेतृत्व युवाको हातमा दिनुपर्ने बताए।

हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को क्यारिकेचर गरेका थिए।

त्यस्तै हाँस्य कलाकार सन्तोष खनाल, पल्पसा डंगोल, दिपक आचार्य लगायतले आफ्नो धारणा राख्दै देशको अहिलेको अवस्थाको विषयमा कमेडी प्रस्तुत गरेका थिए। कलाकारहरुले पछिल्ला वर्ष गाईजात्राको रौनक समेत घटदै गएको बताएका थिए। सामाजिक सञ्जालका कारण गाईजात्राको रौनक घटेको उनीहरुको भनाई थियो।

रिपोटर्स क्लबले गाईजात्राको अवसरमा हरेक वर्ष हाँस्य कलाकारहरुसंग साक्षात्कार गर्दै आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *