‘अनुसन्धानमा खटिएका कर्मचारीले कानुनका प्रावधान पालना गर्नुपर्छ’

डिसी नेपाल
२७ कार्तिक २०८१ ८:३२

काठमाडौँ। नेपाल प्रहरीले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराधसम्बन्धी मुद्दा प्रभावित हुनसक्ने भएकाले त्यसतर्फ गम्भीर हुन सचेत गराएको छ ।

अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानुनका प्रावधानलाई पालना गरी नागरिकलाई कानुनी राज्यको प्रत्याभूति दिलाउनुपर्ने जनाउँदै मातहतका कर्मचारीलाई निर्देशन दिइएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा सोमबार भएको अपराध अनुसन्धानसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले अपराध अनुसन्धानमा खटिने प्रहरीले ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । उनले मातहतका सम्पूर्ण कर्मचारीलाई कानुनका प्रावधान पालना गर्दै न्यायसम्पादन गर्न अनुरोध गरे।

प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नागरिक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी प्रहरीका काम, कर्तव्य सफल पार्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय मातहत रहेको तीनवटै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का सम्पूर्ण मुद्दा चल्ने २१ प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख र सहायकका साथै काठमाडौँ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीलगायतको उपस्थिति थियो ।

यसअघि उपत्यका प्रहरीले मातहतका मुद्दा चल्ने प्रहरी युनिटमा अनुगमन गरेको थियो । अनुगमनमा देखिएका कमीकमजोरीका विषयमा समीक्षा गर्दै सुधारका लागि उक्त छलफल गरिएको अपराध अनुसन्धान शाखा कार्यालयले जनाएको छ ।

उक्त विषयमा प्रहरी उपरीक्षक प्रवीण धितालले प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको उपत्यका प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । उपत्यकामा हुने अपराध नियन्त्रण गर्दै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन तीनवटै जिल्लाका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन पनि दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *