डियर कल्याण! कति रोए, कतिलाई रुवायो…

 हृषिकेश ढकाल
१ मंसिर २०८१ ७:३१

डियर कल्याण,
कति रोए, कतिलाई रुवायो…

“पर्‍याे जो कम्मरमा एक मुजा जसै तिम्रो
फेरि साडी बनारसको मशहूर भैगयो।”

बाँसुरीको बजाई चालु छ…
डियर कल्याण,

सुरुमै एक ‘डिस्क्लेमर’ जो लगाउँदै छु; तिम्रो पेशा, तिम्रो कर्म प्रति प्रणत प्रणति छ किनभने हर पेशा, हर कर्म उही एकै ईश्वर हुन्। यो प्रयास तिम्रा प्रयासहरूमा अरू एक मिठोपनको लागि चमक थपको प्रयास मात्र हो, विशुद्ध मनोरञ्जनका लागि मात्र हो, कृपया अन्यथा नलिए, नरिसाए।

डियर कल्याण,
कति रोए, कतिलाई रुवायो ।

म पनि एक पत्र आज तिमीलाई जिन्दगीमा लेख्दैछु। कृपया प्रसारण चाहिँ नगरिदिए! ती ‘नोस्टाल्जिया’हरू सम्झी आज तिमीलाई म पनि लेख्तैछु।
के बतास जगायौ यस्तो!
के अतास चलायौ यस्तो!
आज!

विरही बाँसुरीको उच्चाटमा तिम्रा टिठलाग्दा आवाजहरू अझै झल्झल्ती छ। मोबाइलको जमाना थिएन, उमेर ‘बच्पन’ नै थियो। रेडियो थियो। त्यो बाल्यकालले तिम्रा ती पृष्ठभूमिका बाँसुरी झैँ कहालीलाग्दा विरही क्रन्दन कहिल्यै ध्यान दिन तिर ध्यान चाहिँ दिएन तर आक्कलझुक्कल तिम्रा निस्सास्सिँदै निस्किएका अमिलो एक दुई पङ्क्ति कानमा पर्न पुगेको चाहिँ हो जो एक धमिलो श्रुतिरूप सम्झना आज पनि आउँछ।

ती विरही रेडियोहरू सम्झना आउँछ। तिमीले त ती रेडियोलाई नै “दिल फेंक आशिकाना” जो बनाएका थियौं! हर घरका बाको समाचार र आमाको ज्ञानवर्द्धक रेडियो नाटकबाट फुर्सद निकालेपछि आफ्नै ‘हम दिल दे चुके सनम’ पारामा प्रलापी रोदनमा हराएका हुन्थे घरघरका रेडियो नै!

“तडप तडप के ईस दिल से आह निकलती रही,
मुझको सजा दी प्यारकी,
तो लूट गए…हाँ लूट गए…
हम तेरे मुहब्बत मेँ …”

सिंगाे किशोरकिशोरी अवयवमा भावित गाउँघर नै धुरुधुरु थियो, सम्झना आउँछ। ‘एन्टायर’ गाउँघरको किशोरकिशोरी आयामहरू नै सबै मनमनै धुरुधुरु थिए, मस्तिष्कले सम्झनीमा अझै पनि ल्याउँछ।

डियर कल्याण,
कति रोए, कतिलाई रुवायो।

यो लेख्दा म पनि तिम्रा कहालीलाग्दा पारामा शब्द मनमनै उच्चारण गर्दै लेख्दैछु र बज्दैछ त्यो ‘पागल’ बाँसुरी। सम्झन्छु! आफू सानै भएकाले उस समय किशोरी उमेरका गाउँघरका दिदीहरू धेरै ठूला लाग्थे र सम्झन्छु तिनका मनोलोकी ‘आशिकी’ पाराहरू! घरधन्दा सँगसँगै तिम्रा ‘वैरागी’ बतासमा ती बहेका। बहनुसम्म बहेका।

हायल-कायल बहेका! मनमनै रुन्थे पनि होलान् नै। डियर कल्याण आखिर किन? यस्तो रुवायौ! अहिले फर्केर सम्झँदा ती तिनका ‘भाइब’ बुझ्दछु। र, त्यस श्रोतादीर्घामा थपिन्थे कुरकुरे बैँसका ती किशोर दाइहरू!

डियर कल्याण,

किन रोयौ खुद, अनि किन ती सबलाई रुवायौ ?
के हतास चलायौ यस्तो ?
मनमा किन अत्यास दौडायौ यस्तो?

कति आउने ती वियोगी कथाहरू? त्यस्तो किन कष्ट छ हँ संसारमा?! अहिले फर्केर सोच्तछु।

बाहिर कलमा भाँडा मस्काउँदै रेडियोमा तिम्रा कहालीसँगसँगै मनैमनमा ती दिदीहरू पनि कहालिएका रहेछन्। न कुनै ‘देवदास’ न थिए तिनका न ती स्वयम् ‘पारो’! के नै हुँदो हो उमेर तिनको? “मार डाला! बैरी पिया! इस्…!” भन्दै काल्पनिक तड्पन महसुस गर्न?! काल्पनिक ‘देवबाबु’ प्रतिको काल्पनिक विरह पनि किन थियो ती आफूलाई ‘पारो’ सम्झने ‘पारो’हरूलाई त्यस्तो प्यारो?! “हमेशा तुमको चाहा, और चाहा, और चाहा, चाहा, चाहा…”
खैर!

बुझ्यौ डियर कल्याण, अनि यता किशोर दाइहरू पनि झन् के कम? उग्र! टाउकामा रुमाली फेटा, अनि बाआमाले दशैंमा हाल्दिएको जिनको ‘पँइँट’। अनि ती ‘पँइँट’ लाए पछि त ती ‘प्यार किया तो डरना क्या?’ भन्दै एक ‘सुरो’ अर्को सलमाल खान!

“ओ! ओ! जाने जाना,
ढुंडे तुझे दीवाना,
सपनों में रोज आए,

आ जिन्दगी में आना सनम..” – मनमा गीत घन्काई डगर-डगर बौरन्थे!

बाआमाले नदेख्ने गरी बजारबजार डुल्दथे! कुरकुरे किशोर बैँस आफ्नो साथैमा लिएर। टाउकामा रुमाल त छँदै नै थियो अब घुँडामा पनि! सर्टका टाँकहरू खुल्ला!
प्रेमीप्रेमिका हुने खासै जमाना थिएन जस्तो लाग्छ, त्यो समय यो समयबाट धेरै टाढा नभए पनि। यो समय त एकदम थोरै समयमा एक्कासी उग्र भएर आएको न हो!

अँ! तिनको उमेर पनि त्यस्तै। तर त्यो दोष तिनको थिएन। उमेरको दोष न हो! समयको दोष। दोषी समय! विपी कोइरालाका ‘दोषी चस्मा’ झैँ! र्‍याकमा राखेको रेडियोको स्पिकरमै अनुहार टाँसेर पेचकसले त्यै र्‍याकमा ओछ्इयाएको पत्रिकामा केराईको छापमात्र बनाउँदै केर्दै घोत्लिन्थे! के कल्पी घोत्लिन्थे होलान्? कसलाई सम्झी घोत्लिन्थे? केर्दा केर्दै पत्रिका नि च्यात्थे त्यो ‘पेन्चिस’ले कुनैकुनै बेला त! सम्झन्थे? या बल गरीगरी, सम्झीसम्झी कल्पन्थे?

९, १० पढ्ने उमेरमा स्कूलका तिनका मनश्चित्रमा भएका ‘क्रश’हरूलाई या क्याम्पसमा मन पर्‍या केटी? लभ नै नपरी यत्रो चुक अमिलो-‘ट्र्याजिडी’को ‘आवारगी’ तिनका मनमा जो दिलायौ! आखिर किन?! मायाँभन्दा पहिले ‘ट्र्याजिडी’ सिकाएर घर पठायौ र सुन्न लायौ त्यो ‘भाइरल’ बेतको र्‍याकको माथ्लो खण्डमा पत्रिककाको पोस बनाई राखिएको रेडियोमा आउने डियर कल्याण? ‘भाइरल’को त जमाना थिएन तर त्यो र्‍याक ‘भाइरल’ थियो। म यो तिम्रो लहजामा आज आएर लेख्तैछु र बज्दैछ अझै त्यो ‘सुपर’ भन्दा पनि उपर ‘सेन्टि’ बाँसुरी राग…

ओह्हो! ती रुमालहरू! ती रुमालहरूका कहानी पनि आफ्नै छन्। कतै ती ‘एपिक’ स्टुडियोहरूमा त कतै वनभोज-पिकनिक तिर, खिचिएका फोटा अझै पनि हुँदा हुन्, किशोरका निधाराँ दोबारेर मोडी बनाइएको फित्ता झैँ फेटा या त त्रिभुजाकारमा निधार भन्दा मास्तिर कपाल छोपी पछाडि गाँठो पारी बाँधिएको!

त्यस जमानाका कुनै बाबुसाहेबका पगरी झैँ सान थिए तिनलाई ती रुमाल। अनि किशोरीहरू “जाला उडेर जालै रुमाल..” भनी फहराउँदै आफैं समाउन खोज्थे होलान्! कतै किशोरीहरू “कुसुमे रुमाल..” भनी नाच्थे पनि होलान्-कहिले एक्लै कोठा मै त कहिले स्कुलको ‘फङ्सनमा’।

कतै क्याम्पसका किशोरीहरू हातका पञ्जामा गुजुमुजु पारी लेडिज साइकल डोहोर्याउँदै। केटाहरूका रुमाल ठूला हुन्थे, पातला, झिल्केमिल्के रंगका। केटीहरूका साना रुमाल, टवेल झैं भुवादार बाक्ला, पुरै रुमाल एकै रंगका-प्रायः गुलाबी! रुमाल मै प्रेम बोकी हिँड्ने ती दाइदिदीहरू अहिले कहाँ पुगे होलान्, के गर्दै होलान्!

डियर कल्याण,

थाहा छ? अस्ति भर्खर एक कल्याण नामका ‘अजनबी’ सर भेटिएका थिए र उनको साथमै थिइन् उनकी कार्यालयकी सहकर्मी। चिनजान पछि थाहा पाएको थिएँ कि “दे वर्क टुगेदर” भनेर। अक्सर रमाइलो गर्ने बानी छ, मैलै ती कल्याणलाई सोध्दिएँ; “सर! त्यो डियर कल्याण भन्ने आउँथे नि त्यो रेडियोतिर?!” “सुन्नुहुन्थ्यो?” आफूसँग उही मिल्ने थरका “फलानो ‘सिल्याब्रिटी’ को पर्छ?” भन्ने उटुङ्ग्याहा प्रश्न झैं! मैले चाहिँ यहाँ त्यो उट्पट्याङलाई ‘कल्याण’ नाम मै मिलाइदेको थिएँ! ती हल्का “हा” पारामा हाँसे तर तिनकी सहकर्मीले खुब सुन्दी रैछिन् कसो मरीमरी हाँस्न लागिन्।

मलाई पनि भयंकर हाँसो उठ्यो। र, भनिन्; “अम् खुब सुन्थेँं। कस्तो हुन्थ्यो के!” कस्तो हुन्थ्यो? के था त मलाई कस्तो हुन्थ्यो?! तर तिनको यो छोटो र अमूर्त व्याख्यामा मैले अनुमान लाएँ; “ती पनि रोइछन् क्यारे!” खुब। मैले, बुझ्यौ कल्याण, तिमीले चलाएको त्यो वैरागी बतासको असर बुझिहालेँ, ‘फर्दर’ सोधिनँ। साँच्चै हेर त! कति रोएछन् अनि कतिलाई रुवाएछाैं! मैले भनेकै हो त!

डियर कल्याण,
कति रोए, कतिलाई रुवायो ।

सायद यही ‘आशिकाना’ अमिलो व्याकुलताले चुरचुर रोदन भित्र हृदयको गहिराईमा भेटिन्छ; थोरै झिल्को मै पर्याप्त आनन्द दिने प्रेम! चिनी त धेर खाँदा तितो भएर गैगयो! प्रेम त मिठो छ। कहिल्यै तितो नलाग्ने, सधैँ मिठै मात्र बसिरहने। प्रेम।

खैर!
डियर कल्याण,

रेडियोमा तिमी छौ या छैनौ था छैन तर अचेल तिमीले चलाएको ‘तेरे नाम’ ‘पारा’मा अस्ति टिकटक तिर हल्का झुलुक्क देख्या थिएँ एक अर्का ‘वैरागी साहिँला’लाई। हर गाउँघरबाट अक्सर एक्कादुक्की यस्ता प्रेमवियोगी ‘वैरागी साहिँला’हरू निस्कन्छन् नै। यिनी पनि निस्केछन्। र, यी पनि तिमी जस्तै खतरा प्रतिभावान् रहेछन्; एउटा गीतलाई नै गीति कथा बनाएर विरह अलाप्दै थिए धमाधम र बज्दै थियो पृष्ठभूमिमा नीरव आवाजमा,

“रंगी सारी गुलाबी चुनरिया रे,
मोहे मारे नजरिया साँवरिया रे…
मोहे मारे नजरिया..”

तिनको प्रतिभा चाहिँ मान्नै पर्ने खालको नै थियो तर मलाई चाहिँ पार्श्वभूमिमा बजेको संगीत शब्दातीत बनाएर पगाल्दै लगी भावमूर्च्छित बनाउने लाग्छ! साधनाबाट टुसाएको संगीतले विस्तीर्ण व्यापकतामा फैलिएको अमूर्त परमात्माको ईशतत्त्व छुन खोज्छ!

यस्तै लाग्छ। हृदयबाट उठेको प्रणयतापले मस्तिष्कबाट शब्द पग्लिएर बिलाउँदछन्, मस्तिष्क शब्दातीत हुन्छन् र हृदय प्रेममा ओतप्रोत-पग्लिएर तरल हुन्छ। अनि पग्लिएको यो प्रेम पसेर मस्तिष्कमा मस्त आनन्द लट्ठ्याउँछ।

तरलतामा परमात्माले यहाँ परमानन्दी आनन्द अन्तर्निहित गरेको छ। त्यसैले प्रेमको आनन्दी मग्नतामा मग्न हुन मौकाछोपी बसेको हर उत्कट हृदय यहाँ मौका पाउनासाथ पग्लन उद्यत छ, उत्कट छ।

ए ! अँ ! यो गीत :
“रंगी सारी गुलाबी चुनरिया रे,
मोहे मारे नजरिया साँवरिया रे…
मोहे मारे नजरिया..”

यो गीत त ‘एपिक’ छ! एकदम ‘एपिक’ छ। बड़ा ‘एपिक’ छ। ‘क्लासिकल लभर’हरूलाई दर्द भरे प्रेमको एक नगमा, एक दर्द भरे ‘लभ एन्थम’! एक चर्चित तर प्रेमको गहिराइमा जानेवालाहरूका लागि एक डुंगा! धेरै अमिलो तर थोरै मिठो ‘दर्द-ए-दिल’ बोलेको यस गीत ‘रेट्रो लभर्स’लाई ‘फिट’ बस्ने।

मलाई पनि यो गीत तिम्रै पारामा दुई शब्द लेख्न मन लाग्यो आज। मेरा यी दुई शब्द यस प्रकार छन्:

चुनरियाहरू अक्सर गुलाबी नै हुन्छन्। गुलाबी चुनरिया। गुलाबी रंग प्रेमको प्रतीक हो, उनको प्रतीक हो। चुनरियाहरू गुलाबी नभए पनि उनले धारण गरे पछि गुलाबी हुन पुग्दछन्! प्रेमको रंगमा रंगिन पुग्दछन्। प्रेमको रंग शायद गुलाबी हुनु पर्दछ! यति सम्म कि घरी घरी उनलाई गुलाबी एक सुकोमल गुलाब नै देखिन्छ।

त्यही भएर “रंगी सारी गुलाबी चुनरिया” भनेको हुनुपर्छ शायद! (पृष्ठभूमिमा गाना चल्दै नै छ.. घरीघरी बोली आस्ते हुँदा गीत ठूलो हुँदै … “रंगी सारी गुलाबी चुनरीया रे…”) यो पहिलो पङ्क्तिमा बहुआयामिक अर्थ अन्तर्निहित देखिन्छ।

लेख्ने मान्छे साह्रै गहन रहेछन्! चुनरिया यदि गुलाबी नै थियो भने पनि उनीमा धारित भए पछि अझ उनको प्रणयरङमा मिट्ठो गुलाबी रंगीन पुगेको छ। यदि गुलाबी थिएन भने पनि उनमा परे पछि त्यसैत्यसै गुलाबी भएर आउँदछ स्वाभाविकतामा। जसरी मन परेको संगतले त्यही रंग आफूमा भर्दछ, त्यसरी नै होला कसैले लेखेका थिए:

“पर्‍याे जो कम्मरमा एक मुजा जसै तिम्रो,
फेरि साडी बनारसी मशहूर भैगयो ।”

चुनरिया पसलमा हुँदासम्म केवल एक चुनरिया मात्र न थियो, उनको काँधमा जसै पर्‍याे, गुलाबी एक चुनरिया भैगयो, अन्तिम एक चुनरिया हुन पुगी गो; प्रेमनामी ‘ओढनी’ जो भैगयो। नामी भैगयो! ल्याएर राखौँ कि “शोकेस”मा सजाएर! जुनीजुनीलाई, जनम-जनमलाई! हृदय मैं बसिरहुँ, प्रेम त्यतै छ। ननिस्कौं बाहिर, बाहिर त संसार छ! प्रेम हृदयमा छ, बाँकि त संसार हो।

“मोहे मारे नजरिया साँवरिया रे..”

नजरहरू अक्सर ‘कातिलाना’ नै हुन्छन्! हो! यो सही हो। त्यस्तै ‘साँवरिया’को नजरले उनलाई पनि मायाँमा भुतुक्क मरेतुल्य बनाएको छ रे! मायामा मरी नै चाहिँ नहालिएला कि?! “मरेँ जस्तो” चाहिँ भन्न खोज्या होला बरु! ‘मरेँ’ भन्नु एक विम्ब होला। पुरै हायलकायल-लट्ठ-मूर्च्छित! यो प्रेममूर्च्छना हो। एक विम्ब।

विम्बले प्रतिविम्ब घटित गराउँदछ यहाँ! जसरी क्रियाले प्रतिक्रिया। विम्ब उनको चुनरिया हो, हृद्को मूर्च्छा प्रतिविम्ब! शक्तिशाली चुनरिया रहेछ! प्रेमचुनरियाहरू अक्सर शक्तिशाली नै हुन्छन्। चुनरियाको रूप धारण गरेको प्रेम शक्तिशाली नै हुन्छ। प्रेम जहाँ पर्छ त्यो शक्तिशाली हुन पुग्छ। चुनरियामा प्रेम पर्‍याे या प्रेममा चुनरिया पर्‍याे, के फरक पर्‍याे?! कुरा एकै हो। प्रेमका अनेक रूप छन्; यहाँ चुनरिया स्वरूप भैगयो!

खैर ! अरू नसा के नसा ?! मायाँको नसा पो नसा! ‘मायामा मरेँ’ या ‘मायाले मार्‍याे’ भन्नेखालको “रिपीटेड” प्रयोग मायामा पग्लिएँ र मेटिएर मायाको अनन्त धारामा घोलिएँ भनेर भन्न खोज्या होला शायद! अनि … यस्तै यस्तै!

र, अब त अन्त्यमा! आवाज धिमा-रोक्किन लाग्दा अर्को गाना पनि उछिट्टिएर चिहाउँदै निस्कन खोज्दैछ:
“ओ, मोरे, चन्द्रमा, तेरी चाँदनी अंग जलाए
तेरी ऊँची तोर अटारी, मैंने पंख लिए कटवाए..”

हस् कल्याण,
आजलाई यत्ति नै !
डियर कल्याण !
आजलाई बिदो,
बाँकी अर्को भेटमा है….

पार्श्वभूमिमा उही संगीत क्रमशः ‘फेड’ हुँदै जान्छ :

अनि, पङ्क्तिकार पनि पग्लन खोज्छ …. चुनरिया सम्झेर…गुलाबी…एक चुनरिया…पुरै रंगिङ्गिएको जो छ…उनको रंगमा, गुलाबी एक रंगमा, प्रेमको रंगमा…

“रंगी सारी गुलाबी चुनरिया रे,
मोहे मारे नजरिया साँवरिया रे…
मोहे मारे नजरिया..”

श्रीराधा

hrisheekeshdhakal@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *