रवि लामिछानेको बयानमा २३ घण्टामा ७४ प्रश्न

डिसी नेपाल
३० कार्तिक २०८१ १२:०१

काठमाडौं। रवि लामिछानेविरुद्ध परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरू भएको बयान बिहीबार राति ८ बजे सकिएको छ।

सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि लागेको कसुर सम्बन्धमा करिब २३ घण्टा वयान भएको हो।

बयानको क्रममा सोधिएको ७४ वटा सवालको जवाफ सहज रुपमा दिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख न्यायाधीवक्ता प्रेमराज पौडेलले बताए। सोधिएको सवालको सबै जवाफ उनले सहज रुपमा नै दिएका छन्।

‘अनुसन्धान अधिकारीले थप अनुसन्धान गरी अरू सम्बन्धितसँग बयान लिएर कागजात संकलन गरेपछि प्रतिवेदन तयार हुन्छ। सो प्रतिवेदन पेश गरेपपछि मुद्दा चल्ने नचल्ने वा कुन-कुन शीर्षकमा मुद्दा चल्ने भन्ने विषय बाँकी रहन्छ,’ उनले भने।

अनुसन्धान पूरा भएको नदेखिएको अवस्थामा, थप अनुसन्धान गर्नु परेमा वा मुद्दाको बीचमा थप बयान लिनुपर्ने देखिएकोमा बयान लिन सक्ने व्यवस्था रहेको उनले बताए। ‘त्यो कानुन टेकेर, अवस्था हेरेर बयान फेरि पनि लिन सकिने व्यवस्था रहेको छ,’ उनले भने।

जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान तीन घण्टा ३५ मिनेट लिइएको थियो।

दोस्रो दिन बिहान सवा १० बजे देखि सवा ७ बजेसम्म ९ घण्टा बयान लिइयो। सवाल-जवाफ नसकिएकोले बिहीबार बयानको अन्तिम टुंगो लगाउने गरी साढे १० बजेबाट बयान सुरू भएको थियो।

लामिछानेविरुद्ध परेको सहकारी ठगीविरूद्धको कसुरमा रहेर नै सवाल-जवाफ भएका छन्। उनको सहमतिमा नै सहज रुपमा जवाफ आएको र हालको लागि रुपन्देहीमा बयान सकिएको सरकारी वकिलको कार्यालयल जानकारी दिएको छ।

लामिछानेलाई सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्‍याइएको थियो। लामिछानेलाई शुक्रबार पोखरा लगिँदैछ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरू लगायतको उपस्थितिमा बयान लिइएको थियो। यसअघि सोही कसुरमा छविलाल जोशीसँग पनि बयान लिइएको थियो। छविसँग ५६ बुँदामा सवाल-जवाफ भएको थियो।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमका लागि रुपन्देही ल्याइएको थियो।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *