७ बुँदे सहमतिकाे स्पिरिटअनुसारनै सरकार सञ्चालन भइरहेकाे छ : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
३० कार्तिक २०८१ १४:३४

काठमाडाैं। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले ७ बुँदे सहमतिकाे स्पिरिटअनुसारनै संविधान संशाेधन र सरकार सञ्चालन भइरहेकाे बताएका छन्। नेपाल प्रेस युनियन माेरङले शुक्रबार विराटनगरमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै उपप्रधानमन्त्री सिंहले यस्ताे बताएका हुन्।

‘सात बुँदे सहमतिअनुसार नै सरकार अघि बढेकाे छ। साे सहमतिअनुसारनै सरकार सञ्चालन हुन्छ,´ उनले भने, सरकारले नागरिककाे आकांक्षालाई केन्द्रमा राखेर काम अघि बढाएकाे छ। धेरै काम भएका छन्, केही हुँदैछन्। केही पनि भएन भन्ने हाेइन।’

उनले पछिल्लाे समय शिक्षा, स्वास्थ्य,पूर्वाधारलगायतका क्षेत्रमा भएकाे प्रगति हेर्न आग्रह गर्दै सरकारले केही पनि गरेन भनेर टिप्पणी गर्ने बेला भइनसकेकाे बताए0। संविधान संशोधनका विषय सात बुँदे सहमतिमा उल्लेख रहेको बताउँदै यो विषयमा दलहरूबीच छलफल गरेर सदनबाटै प्रक्रिया अघि बढ्ने सिंहकाे भनाइ थियाे।

उनले कांग्रेस एमाले गठबन्धनकाे सरकार बनेपछि लामाे समयदेखि अन्याेलमा रहेकाे टिआरसी विधेयक अघि बढेकाे र संसदले बनाएकाे समितिकाे प्रतिवेदनअनुसार सहकारी अपचलनमा संलग्नमाथि कारवाही अघि बढेकाे बताए। उनले सरकारले नागरिककाे चाहना पूरा गर्ने गरि काम गरिरहेकाे र परिणाम आउन केही समय लाग्ने पनि सिंहले बताए।

त्यस्तै, उपप्रधानमन्त्री सिंहले काेशी अञ्चल अस्पतालकाे निर्माणाधिन भवनकाे सराेकारवालाहरूसहित निरिक्षण गरेका छन्। काेशी अञ्चल अस्पताल परिसरमै निर्माणाधिन ५ सय शैय्याकाे अस्पताल निर्माणकाे गति सुस्त देखिएकाे भन्दै नहाँले असन्तुष्टि जनाए।

‘अस्पताल भवनकाे निर्माण समयमै सक्ने गरि काम गर्नुस्। प्रभावकारी रूपमा निर्माणको काम हुनुपर्छ। जनतालाई छिट्टै सेवा प्रवाह हुनुपर्छ ,’ उनले भने, ‘निर्माणका क्रममा केही समस्या भए भन्नुस्। मन्त्रालयले,सहजीकरण गर्नेछ। तर, काममा ढिलाई गर्ने, कन्ट्राक्टअनुसार काम भएन भने साेच्नुपर्ने अवस्था आउनसक्छ।’

०७९ पुस १३ गतेबाट निर्माण शुरू भएकाे अस्पतालकाे ०८२ पुस १२ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झाैतामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *