षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १९
राजदरवार हत्याकाण्डको प्रथम खण्ड
वि.सं. २०५८ साल जेठ १९ गते शुक्रबारको रात। नेपालको इतिहासमा त्यो रात अति नै विभत्स, कहाली लाग्दो र कहिल्यै बिर्सन नसकिने भयानक रात बन्न पुग्यो। त्यो दिन सदाझैं सबै कुरा सामान्य तवरले चलिनै रहेको थियो।
सम्पूर्ण नेपाली आआफ्ना दैनिक कामकाजमा लागिरहेका थिए भने माओवादी जनयुद्ध वाहेक अरु कुनै पनि अशान्त वातावरणको कल्पनासम्म पनि कसैले गरेको थिएन।
प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि सम्पूर्ण मन्त्रिमण्डल, दल तथा कर्मचारीतन्त्र आआफ्ना दैनिक कामकाजमा व्यस्त थिए भने राजा वीरेन्द्र पनि त्यसै गरी आफ्नो दैनिकी, अध्ययन र भेटघाटमा नै व्यस्त थिए।
बेलुकी राजा वीरेन्द्र पूर्व वडागुरुज्युको डिल्लीबजारस्थित घरमा एक पारिवारिक समारोहमा सरिक भएको र साँढे छ बजे दरवार फर्किएको कुरा सुन्नमा आएको थियो र त्यसपछि उनले अंग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’का सम्पादक माधवकुमार रिमालसँग राजदरवारमा अन्तरवार्ताको क्रममा भेटेका थिए। त्यो नै उनको जीवनको अन्तिम अन्तरवार्ता हुन गयो।
उता युवराज दीपेन्द्र त्यस दिन सातदोबाटोस्थित खेलमैदानमा केही दिनपछि हुने खेलकुदको तयारीको अवलोकन गर्न गएको खवर पनि प्रसार भएको थियो।
पछि उनका एक अंगरक्षकले दिएको बयानमा दीपेन्द्रले सातदोबाटो जाने क्रममा केही नबोली चुपचाप आफैंले चलाएको गाडी पेप्सीकोला जाने बाटोतिर बेतोडले हुइँकाएर फर्केको र त्यसपछि फेरि सातदोबाटो पुगिसक्दा पनि त्यहाँबाट अघि बढेर गोदावरी जाने बाटोमा हालको लिटल एन्जल्स् स्कूलसम्म हुइँकिएर तत्पश्चात् सातदोबाटोको खेल मैदानमा फर्केका थिए।
त्यतिबेला उनि निकै तनावमा भएको जस्तो देखिएको थियो। बेलुकी ४ बजे त्यहाँबाट फर्कँदा पनि उनले आफैंले गाडी चलाउँदै सातदोबाटोबाट चक्रपथ हुँदै कलंकी र बालाजु चोक छिचोलेर राजदरवार पसेका थिए।
बेलुकी पुनः गाडीमा महाराजगञ्जस्थित पशुपतिशमशेर राणाको घरमा प्रेमिका देवयानीलाई भेट्न गएका र फर्कँदा देवयानीसहित लाजिम्पाटको एम्बेसडर होटेलको पछाडिपट्टि सञ्जय दुगडको घरमा पसेका थिए।
देवयानी त्यहीँ उनकी साथी शिल्पा दुगडसँग गफ गर्न बसिन् भने दीपेन्द्र त्यहाँबाट निस्केर कान्तिपथमा साथी अनिल शाहको घरमा एकछिन बसेर दरवार पसेको कुरा सुन्नमा आएको थियो।
अरु बेला शान्त र शालिन स्वभावमा रहे पनि तनाव र रिस उठेको बेलामा युवराज दीपेन्द्रसँग बोल्ने आँट कसैको हुँदैनथ्यो भन्ने कुरा सुनिन्थ्यो। त्यो दिन बिहानको खानाको समयमा उनले आफ्नी आमा रानी ऐश्वर्यसँग आफ्नो बिहेको कुरा दोहोर्याएको र आमा-छोराको भनाभन भएको तथा बुवा राजा वीरेन्द्र चुपचाप सुनेर मात्र बसेका थिए रे।
राजा वीरेन्द्र प्रायः शुक्रबारको दिन परिवार तथा अन्य नजिकका व्यक्तिहरूसँग जमघट गर्न रुचाउँदथे। तर मुटुको रोगको उपचार गराएर बेलायतबाट फर्केपछि भने उनले मदिरा पिउन र धुम्रपान गर्न बन्द गरेका थिए।
आखिर पशुपति आर्यघाटमा ३० वर्षपछि अर्का राजाको अन्त्येष्टि हुनपुग्यो, त्यो पनि सम्पूर्ण परिवार सहित। यो हत्याकाण्ड नभएको भए राजा वीरेन्द्र आजसम्म पनि एक वयोवृद्ध अभिभावकको रूपमा हाम्रो साथमा हुने थिए होलान्। आधुनिक नेपालमा नेपालीहरूको सबैभन्दा ठूलो दुर्भाग्य र दुखद घटना नै यही हुन पुग्यो।
प्रत्येक महिनाको तेस्रो शुक्रबार राजदरबारभित्रै पारिवारिक जमघट र रात्रीभोजको आयोजना हुने परम्परा नै बसेको थियो।
सो दिन भन्दा अघिल्लो शुक्रबार भने राजा वीरेन्द्र आफ्ना सचिव नारायणप्रसाद श्रेष्ठको निवासमा र त्यो भन्दा अघिल्लो शुक्रबार अर्का सचिव चिरणशमशेर थापाको घरमा रात्रीभोजमा सरिक भएका रहेछन्।
जेठ १९ गतेको रात्रीभोज भने युवराज दीपेन्द्रको निवास त्रिभुवन सदनमा हुने भएको थियो। सो भवनमा राजा त्रिभुवन राजा हुँदा बस्ने गरेका थिए।
जेठ १९ गते शुक्रबारको दिन भएकोले दरवारमार्ग र ठमेलजस्ता व्यस्त ठाउँका रेष्टुरेन्टहरू सप्ताहान्तको आनन्द लिन आएका मानिस तथा पर्यटकहरूले भरिएका थिए।
यस्तैमा राति ९ बजेको समयमा लैनचौर, लाजिम्पाट, राजदरवारको उत्तरी क्षेत्र आदिमा राजदरवारभित्र गोली चलेको आवाज सुन्छन् मानिसहरूले। तर सो कुरालाई सैनिकहरूको नियमित अभ्यास होला भन्ने ठानेर कसैले पनि त्यति ध्यान दिँदैनन्।
त्यस्तै आवाज केशरमहलमा श्रुतीको घरपरिवारले पनि सुनेर राजदरबारमा बुझ्ने प्रयत्न गरेको कुरा सुन्नमा आएको थियो।
अन्य वखतको जस्तो सामान्य अभ्यास नभइ त्यो आवाज राजपरिवारको नियमित रात्रिभोजसहितको भेलामा राजा वीरेन्द्रलाई लक्षित गरेर चलाइएको गोलीको आवाज थियो।
गोली चलेको केही समय पछि बिस्तारै भुसको आगो सल्केर फैलिएझैं त्यो कहाली लाग्दो घटनाको अपुष्ट समाचार फैलिन थाल्यो। सञ्चार माध्यमबाट भन्दा पनि फोनको माध्यमबाट सो समाचार फैलिन थालेकोले फोनको नेटवर्क रातभरी व्यस्त रहेको थियो। आधा रातसम्ममा राजा वीरेन्द्र र राजपरिवारका अधिकांश सदस्य गोली लागेर सैनिक अस्पताल लगिएका र सबैको हालत निकै खराब भएको हल्ला चलिसकेको थियो।
भोलिपल्ट बिहान दैनिक छापा ‘नेपाल समाचारपत्र’ले मात्र दरवारभित्र गोली चलेको अपुष्ट समाचार प्रकाशित ग¥यो भने अन्य छापाहरू रातभर यो घटना बारे अनविज्ञ रहेको देखियो।
राजदरवार बाहिर र छाउनीको सैनिक अस्पताल बाहिर मानिसहरूको भिड बढ्दै गयो तथा त्यो दिनभर नै विदेशी छापा तथा टेलिभिजनका सयौँ सम्वाददाताहरू भारत लगायत विश्वभरबाट ओइरिन शुरु भयो।
रेडियो नेपाल र टेलिभिजनले भने त्यो दिन बिहानभर समाचार नै प्रसार नगरी सो घटनाभन्दा ३० वर्ष अघि २०२८ साल माघ १७ गते राजा महेन्द्रको निधन पछि निकै समय सो समाचार गोप्य राखेर रेडियोबाट विरहको धुन बजाए जसरी नै विरह कै धुन मात्र बजाइ रहे।
दिउँसो २ बजेतिर भने रेडियो नेपाल र नेपाल टेलिभिजनले राजदरवार हत्याकाण्ड बारे समाचारहरू प्रसार गरे। यस्तो भयानक हत्याकाण्ड र नेपालीहरूको निम्ति अति नै दुखद समाचारको विवरण सरकारी रेडियो, टेलिभिजन वा छापा वा निजी एफएम वा छापा जस्ता सञ्चार माध्यमले निकै अबेलासम्म पनि दिन नसक्दा मुलुकभर अन्योल छाउनुका साथै हल्लाका समाचारमा भर पर्नु पर्यो।
तर केही साप्ताहिक पत्रिका र त्यतिबेलाका सिमित अनलाइन पोर्टलहरूले भने सो काण्ड बारेका केही समाचार संकलन गरेर प्रसार गर्न थालेको पनि पाइयो।
राजतन्त्र एक पुरातन व्यवस्था भएको र नेपालमा प्रजातन्त्रले स्थायित्व पाएर अन्य क्षेत्रमा खुलापन आउँदै गर्दा पनि राजदरवार, सेना आदि जस्ता पुराना संस्थाहरूमा पुरातन संस्कार नै हावी भएकोले सातातिना कुरामा पनि गोप्यता राख्ने परिपाटी रहेको थियो।
त्यसैले यो अकल्पनीय भयानक घटनाको सूचना जनता माझ कसरी पठाउने भन्ने कुरामा सम्बन्धित निकाय निकै असमञ्जस्यको स्थितिमा पुगेको थियो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले समेत राजदरवार हत्याकाण्डको सूचना घटना घटेको एक घन्टाभन्दा बढी समय पछि मात्र पाएका रहेछन् राजदरबारबाट।
डा. भेषबहादुर थापाले आफ्नो पुस्तक ‘राष्ट्र-परराष्ट्र’मा आफू भारतको लागि शाही नेपाली राजदूत भएर नयाँ दिल्लीमा रहेको बेलामा जेठ १९ गतेको राति काठमाडांँबाट बिएल शर्माले फोन गरेर राजदरबारमा भएको घटनाको बारेमा सुनाएको कुरा उल्लेख गरेका छन्।
बिएल शर्मा राजा त्रिभुवनको शासनकालदेखि राजदरबारको भोजमा खाना क्याटरिङ गर्ने निकै विश्वासिला व्यक्ति थिए। पछि कमल थापाले फोन गरेर दरवारमा निकै नराम्रो घटना घटेको समाचार सुनेर आफू हेटाैंडाबाट सोही राति काठमाडांँ जान लागेको कुरा सुनाएछन्।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले पनि आफ्नो आत्मवृत्तान्तमा आफूलाई दरवारमा गोली चल्यो भन्ने खवर फोनबाट कसैले सुनाएको भए पनि राजाको निधन नै भइसकेका कुरा भने बिहानीपख मात्र थाहा भएको कुरा उल्लेख गरेका छन्।
माथि उल्लेखित उच्च पदस्थ व्यक्तिहरूलाई पनि राजदरबारमा घटेको त्यति भयंकर घटनाको विवरण निकै ढिलो प्राप्त भएबाट राजदरबारभित्रको गोप्यताको परिधि कति गहिरो र चौडा रहेछ भनेर थाहा हुन्छ, त्यसमाथि सो अप्रत्यासित घटनाले गर्दा त्यतिबेला दरबारभित्रको सम्पूर्ण व्यवस्थापन तथा चेन अफ कमाण्ड छिन्न भिन्न भएको अवस्था थियो।
त्यस दिन चलेको हल्ला मुताविक युवराज दीपेन्द्रले राजा सहित राजपरिवारका ९ जना सदस्यहरूलाई अत्याधुनिक राइफल चलाएर मारेका र आफूले पनि आत्महत्या गरेका थिए। तर उनको निधन त्यसको ३ दिन पछि मात्र भएको थियो।
उनले गोली हानेका परिवारका केही सदस्य गम्भीर घाइते मात्र भएका थिए र केही सदस्यलाई भने गोली लागेको थिएन। राजकुमार निराजनले सोही दिन बिबिएको परीक्षा सकेर साथिहरूसँग जमघट गर्ने योजना हुँदाहुँदै पनि राजदरवारको जमघटलाई प्राथमिकता दिएका रहेछन्।
दीपेन्द्रको गोलीबाट निधन हुनेहरूमा राजा वीरेन्द लगायत रानी ऐश्वर्य, भाइ निराजन, बहिनी श्रुती, फुपु शान्ति, शारदा र जयन्ती, फुपाजु खड्ग र काका धीरेन्द्र थिए।
त्यस्तै गोली लागेर सख्त घाइते भएकामा काकी कोमल, फुपु शोभा र केतुकी र बहिनी ज्वाइँ गोरख भने शल्यकृया र लामो उपचार पछि बाँच्न सफल भएका थिए।
सोही जमघटमा सरिक मुमा बडामहारानी रत्न र फुपू हेलेन अर्को कोठामा रहेकाले कुनै चोटपटक लागेन भने भाइ पारस, बहिनीहरू पूजा, पे्ररणा, सितास्मा, भाइ बुहारी हिमानी र बहिनी ज्वाइँ डा. राजिवराज शाही तथा नजिकका नातेदार रविशमशेर राणा र महेशकुमार सिंहलाई गोली लागेको थिएन।
राजासहित सम्पूर्ण व्यक्तिहरूलाई राजदरवारबाट स्वयम्भूस्थित सैनिक अस्पतालमा लगिएको तथा अधिकांशको बाटैमा वा अस्पताल पुगे लगत्तै निधन भएको कुरा पनि सुन्नमा आयो।
टाउकोमा गोली लागेका युवराज दीपेन्द्रलाई भने अस्पतालमा उपचार गर्ने कोशिश भइरहेको कुरा पनि सुनियो। मष्तिष्क रोगका वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाले पछि एक अन्तरवार्तामा आफूले दीपेन्द्रको उपचार गर्ने क्रममा उनको रगतको परीक्षण गर्दा उनको रगतमा मादक पदार्थ वा लागुऔषध नभेटिएको कुरा बताएका थिए।
जेठ १९ गतेको रातिको भयानक घटना पछि चितवनको वन्यजन्तु आरक्षसम्बन्धी अवलोकन सकेर विशिष्ट विदेशी पाहुनाहरूलाई पोखरा डुलाउन उतै गएका तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रलाई रातौंरात हेलिकप्टर र मोटर बाटोबाट सेनाले काठमाडौं ल्याएर सैनिक अस्पतालमा पुर्याएको थियो।
त्यहाँ अधिराजकुमार ज्ञानेन्द्र, प्रधानमन्त्री गिरिजा, राजसभाका अध्यक्ष केशरजङ, सेनाध्यक्ष प्रज्वल्लशमशेर तथा अन्य विशिष्ट व्यक्तिहरू मर्नेहरू तथा उपचाररत व्यक्तिहरूको निगरानी गर्दै निकै अन्योलका साथ रात बिताएका थिए।
राजगद्दी खाली राख्न नहुने जिकिरका साथ जेठ २० गते राजपरिषद्द्वारा गोली चलाएर राजाकै हत्या गर्नेलाई राजा घोषणा गर्न मिल्ने कि नमिल्ने भन्ने वहस पश्चात् अचेत अवस्थामा रहेका युवराज दीपेन्द्रलाई राजा र अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक यानी रिजेन्ट घोषणा गरियो।
जेठ २० गते शनिबारको दिन सैनिक अस्पतालमा राजनीतिक दलका नेताहरू, भुतपूर्व तथा बहालवाला प्रधानमन्त्री तथा मन्त्रीहरू, संबैधानिक अंगका प्रमुखहरू, निजामती सेवाका उच्च पदस्थ अधिकृतहरू, सेना तथा अन्य सुरक्षा निकायका उच्च अधिकृतहरूका साथै राजा तथा राजपरिवारका नजिकका व्यक्ति र कुटनीतिक नियोगका प्रमुखहरू पनि पुगेर अस्पताल परिसरमा पाल टाँगेर राखिएको राजा वीरेन्द्र तथा अन्य मृत परिवारजनहरूको पार्थिव शरीरमा अन्तिम दर्शन गरे।
रानीको निधारभन्दा माथिको भाग गोलीले पुरै क्षतविक्षत भएकोले उनको शवलाई विशेष प्रकारले सजाउनु परेको थियो।
जेठ २० गते नै प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र एमाले नेता माधवकुमार नेपालको तीन सदस्यीय दरवार हत्याकाण्ड छानविन समितिको घोषणा भयो तर छानविन शुरु भएको केही दिनमा नै माधवकुमार नेपालले रहस्यमय तवरले सो समितिबाट राजीनामा दिएर अन्यौल, विवाद र अपत्यारलाई जन्म दिए।
सनातन धर्म अनुसार मृत शरीरलाई धेरै समय राख्न नहुने परम्परा भए पनि भारतमासमेत हिन्दू नेता तथा अन्य हस्तीहरूको शवलाई केही बढी नै समयसम्म राखेर देश-विदेशका उच्च व्यक्तित्वलाई आएर श्रद्धाञ्जली अर्पण गर्ने समय मिलाउने चलन छ।
तर नेपालमा भने राजा वीरेन्द्र जस्ता विश्व प्रसिद्ध शान्तिका अग्रदूत महाराजाधिराजको पूरा परिवारसहित कहाली लाग्दो निधन हुँदा पनि विदेशी राष्ट्र प्रमुखहरू मात्र होइन, स्वदेशी हस्तीहरूलाई राजधानी आएर श्रद्धाञ्जली अर्पण गर्ने समय पनि दिइएन।
भेषबहादुर थापाको पुस्तकमा भारतका तत्कालीन राष्ट्रपतिले नेपाल आएर राजा तथा राजपरिवारको अन्त्येष्टिमा सामेल हुन चाहेकोमा नेपालको परराष्ट्र मन्त्रालयबाट उनलाई ‘राजाको अन्त्येष्टिमा विदेशीहरू बोलाउने परम्परा छैन र राजा महेन्द्रको पालामा पनि कोही विदेशी बोलाइएको थिएन भन्ने जवाफ प्राप्त भएको उल्लेख छ।
वास्तवमा दरवार हत्याकाण्डको बेलामा राजदरवारको व्यवस्थापन प्रणाली पुरै ढलेकोले नेपालको प्रजातान्त्रिक प्रणालीद्वारा निर्वाचित सरकार र प्रधानमन्त्रीले सो विषम परिस्थितिलाई आफ्नो काबुमा लिएर संयमित तवरले सेना, सुरक्षा निकाय तथा राजपरिवारका जिवित सदस्य जस्तै अधिराजकुमार ज्ञानेन्द्रसँग समन्वय गरेर देश-विदेशका सञ्चार माध्यमलगायत छिमेकी र मित्रराष्ट्रलाई प्राप्त भए जति सूचना प्रदान गरेर अब गर्नु पर्ने कामको निम्ति तयारी अवस्थामा रहनु पर्ने थियो तर सो हुन सकेन।
त्यतिबेला सरकारसमेत लाचार भएर बस्यो।
उता पुरातन तवरले चलेको राजपरिषद्ले विश्वमा चलिआएको चलनको कुनै वास्ता नै नगरी राजगद्दी खाली हुनु हुँदैन भन्ने पुरानिया विचारधारालाई नै अघि सारेर अचेत अवस्थामा जीवनमरणको स्थितिमा रहेका र दरवार हत्याकाण्डका अभियुक्त ठहरिएका युवराज दीपेन्द्रलाई राजा घोषणा गर्यो।
दीपेन्द्रको होस नफर्केर ३ दिन पछि उनको पनि निधन भए पनि उनको होस फर्केपछि उनको वयान सुन्ने गरी तत्काल अचेत व्यक्तिलाई राजा घोषणा गर्नु भन्दा राजप्रतिनिधि परिषद्को अध्यक्षमा अधिराजकुमार ज्ञानेन्द्रलाई नियुक्त गरेको भए उचित हुने थियो होला।
सो दिन अपरान्ह छाउनीबाट शुरु भएको शवयात्रा ठमेल हुँदै राजदरबारको दक्षिणी ढोका र ज्ञानेश्वरबाट पशुपति आर्यघाट लगिएको थियो। शवयात्रा शुरु हुने वित्तिकै भिडले प्रधानमन्त्री चढेको गाडीमा ढुंगामुढा गरेर आफ्नो आक्रोश पोख्यो। जनताको मुख्य आक्रोस नै त्यति धेरै सेनाको पहरा रहेको राजदरवारमा आफ्ना राजारानी कसरी सुरक्षित रहेनन् भन्ने थियो।
प्रधानमन्त्री आफैं किमकर्तव्यबिमुढ भएर अन्योलमा परेको वखत उनी माथि सबै रिस पोख्नु पनि गलत कुरा थियो। तर यस्तो घटना घट्दा पनि राजदरवार मामिला हेर्ने प्रधानमन्त्री र रक्षामन्त्री, गृहमन्त्री, सेनाप्रमुख, प्रहरी महानिरिक्षक वा राजदरवारका सचिव कसैले पनि नैतिकताको आधारमा आफ्नो पदबाट राजीनामा दिन चाहेनन्।
बाटोमा लाखौं जनताको रोदनका साथ अघि बढेको शवयात्राले वातावरण पुरै शोकाकुल बनाएको थियो। के बच्चा, के वयस्क वा के वृद्धवृद्धा, सम्पूर्ण नेपाली र नेपालका शुभचिन्तकहरू भयानक शोकमा डुबेको पल थियो त्यो। बाटोमा फूल, अबिर, खादा चढाउने तथा शवयात्रा देखेर सहन नसकी बाटैमा बेहोस हुने नरनारीको संख्या गनिनसक्नु कै थियो।
एकैचोटी राजा लगायत नौ जना अति विशिष्ट व्यक्तिहरूको शव पशुपतिनाथको मन्दिरको ब्रह्मनाल अगाडि आइपुग्दा आर्यघाटको सो भागपट्टि रहेका दुइ वटा शवदाह गर्ने भकारीले धान्न नसकेर अर्को एउटा अस्थायी चिता पनि बनाउनु परेको थियो।
राजासहित दुई कलिला अति हँसिला र असल स्वभावका २३ वर्षे राजकुमार र २५ वर्षे राजकुमारीको चिता जलिरहँदा त्यहाँ प्रत्यक्ष वा टेलिभिजन र भिडियो मार्फत देख्ने जो कोही पनि बलिन्द्रधारा आँशु झारेर रोएका थिए।
राजा र रानी सँगसँगै जलेर खरानी भएको पनि नेपालको इतिहासमा पहिलो घटना नै थियो। आज पनि यो सब घटना सम्झँदा हाम्रो पिँढीले के त्यस्तो पाप गरेको रहेछ र हामीले त्यस्ता भयानक दृश्यहरू देख्न कर लाग्यो र यस्तो दुख भोग्न वाध्य भयौँ जस्तो लाग्छ।
सेनाको सलामी र रातभरी नै टुँडीखेलमा पड्केका तोपका अन्तिम सलामीले सबैको मुटुलाई ज्यादै कमजोर बनाएको थियो भने त्यो समय बिरहमा चुर्लुम्म नडुबेका नेपालीहरू बिरलै थिए होलान्। वास्तवमा नै राजा वीरेन्द्र नेपालीहरूका मुटुका धडकन र परम अभिभावक थिए।
आखिर पशुपति आर्यघाटमा ३० वर्षपछि अर्का राजाको अन्त्येष्टि हुनपुग्यो, त्यो पनि सम्पूर्ण परिवार सहित। यो हत्याकाण्ड नभएको भए राजा वीरेन्द्र आजसम्म पनि एक वयोवृद्ध अभिभावकको रूपमा हाम्रो साथमा हुने थिए होलान्। आधुनिक नेपालमा नेपालीहरूको सबैभन्दा ठूलो दुर्भाग्य र दुखद घटना नै यही हुन पुग्यो।
अर्को अंकमा हामी युवराज दीपेन्द्रले आफ्ना बाबुआमासहित पूरा परिवारजनलाई मारेर वंश-विनाश गरेको बारेको प्रत्यक्षदर्शीहरूको बयान र यससँग सम्बन्धित अन्य गौड कुराहरू बारे विमर्श गर्ने छौँ।
क्रमशः …
– लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment