गुरु नानकको मानवतावादी दर्शन तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्छ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

डिसी नेपाल
३० कार्तिक २०८१ २३:३७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानकको शिक्षा तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्ने बताएका छन्।

शिख धर्मका प्रवर्तक गुरु नानकको पाँच सय ५५औँ जन्म जयन्तीका अवसरमा कुपण्डोलस्थित गुरुद्वारमा आज आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री श्रेष्ठले तत्कालीन समाजमा विद्यमान सामाजिक विकृति तथा कुरुतिका बिरुद्ध संघर्ष गरी गुरु नानकले आध्यात्मिक भावनाबाट समानता, बन्धुत्व, सद्गुणमा आधारित विभेदरहित सामाजिक आधार सिर्जना गरेको बताए।

विश्वमा बढ्दै गएको आर्थिक तथा सामाजिक असमानताले निम्त्याएको द्वन्द्व र हिंसात्मक घटना अन्त्य गर्न नानकलगायत मोहन गुरुले दिएको उपदेश महत्त्वपूर्ण हुने उनको भनाइ थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गुरु नानक जयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै गुरु धर्मरक्षक र समाज सुधारक भएको विचार व्यक्त गरे।

पूर्वमन्त्री रञ्जिता श्रेष्ठले गुरुले प्रतिवादन गरेको आध्यात्मिक दर्शन मानव कल्याणका लागि उपयोगी रहेको बताइन्। गुरु ग्रन्थका विद्वान गुरद्वीप राणाले हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन विश्वभरका शिख धर्मावलम्बीहरूले गुरु नानकको स्मृतिमा जन्मजयन्ती मनाउने गरेको बताउँदै आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिने प्रस्ट पारे।

गुरुद्वारका प्रमुख प्रितम सिंहले ज्ञानेश्वर, बालाजु, पशुपति, थापाथलीलगायत स्थानमा रहेको प्राचीन नानक मठ शिख धर्मालम्बीहरूको पवित्र तीर्थस्थल भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिए। पवित्र गुरु ग्रन्थको अध्ययन गरेर गुरुपर्वको विधि विधानअनुरुप समापन गरिएको छ। देशका विभिन्न स्थानमा रहेका गुरुद्वारमा आज नानक जयन्ती मनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *