उम्मेदवार टुंगो लगाउन दलहरूलाई सकस

डिसी नेपाल
१ मंसिर २०८१ ७:४५

काठमाडौं। राजनीतिक दलहरूले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेका छन्। उपनिर्वाचनका लागि मनोनयन नजिकिएसँगै दलहरूमा उम्मेदवार चयनको रस्साकस्सी पनि तीव्र बनेको छ। उम्मेदवार चयनमा अन्य दलहरूभन्दा नेकपा एमाले अग्रस्थानमा देखिएको छ।

एमालेले उपनिर्वाचन हुने ४४ स्थानीय तह र वडामध्ये अधिकांश उम्मेदवार चयन गरिसकेको छ। केही दिनअघि बसेको एमाले सचिवालय बैठकले पार्टीका तल्लो निकायबाट सिफारिश नामावली स्वीकृत गरेको थियो। बाँकी रहेका केही स्थानमा पनि एक/दुई दिनमै उम्मेदवार टुंगो लगाउने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।

गत स्थानीय तह निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस र पहिलोपटक स्थानीय तह चुनावमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भने उम्मेदवार चयनमा सकस परेको छ ।

४४ रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर, एमालेबाहेक कांग्रेस र रास्वपालाई उम्मेदवार तय कठिन परेको छ ।

कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिका, कीर्तिपुर नगरपालिकाका १ र ४ नम्बर वडा तथा काठमाडौं महानगर पालिका वडा नम्बर १६ मा उम्मेदवार टुंग्याउन सकेको छैन । मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुख र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा निर्वाचन हुन लागेको हो ।

गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष ३४ गरी ४४ पदमा निर्वाचन हुन लागेको छ । कैलाली र ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखको पनि निर्वाचन हुँदै छ। कांग्रेसले केही स्थानीय तहका उम्मेदवार भने चयन गरिसकेको छ ।

रास्वपाको कात्तिक २८ गते बसेको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति बैठकले ४४ मध्ये १७ उम्मेदवार टुंगो लगाएको थियो। जसमा महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सुजाता फडेरा, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

तर, कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित अझै २७ उम्मेदवार चयन गर्न बाँकी छ ।

स्थानीय नेतृत्वको सिफारिशपश्चात् प्रारम्भिक निर्वाचनमा निर्वाचित भएकालाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ । उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार अन्य उम्मेदवार पनि टुंग्याउने तयारी भइरहेको छ । नयाँ पार्टी भएकाले सबैतिर संरचना नबन्दा उम्मेदवारी दिन समस्या भएको पराजुलीको भनाइ छ। ओखलढुंगा र कैलालीमा हुने जिल्ला समन्वय समितिको प्रमुखका लागि हुने निर्वाचनमा भने भाग नलिने रास्वपाले जनाएको छ।

कांग्रेसबाटै मेयरमा जित्नुभएका राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुर नगरपालिकाको मेयरको लागि उपनिर्वाचन हुन लागेको छ । तर, कांग्रेसलाई कीर्तिपुरमा मेयरको उम्मेदवार तय गर्न सकस देखिएको छ । माओवादीले कीर्तिपुरको मेयरमा प्राडा. शिवशरण महर्जन, एमालेले डा. सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिश गरेका छन् ।

तर, ११ जना आकांक्षी रहेको कांग्रेसलाई उम्मेदवार सिफारिश गर्न सकस देखिएको छ । ११ जनामा नगर समिति सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा सिफारिश भएको छ । यीबाहेक बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, समीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन उम्मेदवारका लागि सिफारिश भएकाे छ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले १७ वटा स्थानमा उम्मेदवार टुंगो लगाएको छ । नाउपाले बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलालीको जिसस प्रमुखमा रुक्मती थारुनी, कञ्चनपुर भीमदत्त नगरपालिका-६ मा वडाध्यक्ष हरिश चौधरीलाई उम्मेदवार बनाएको छ ।

लुम्बिनी प्रदेशको कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ मा वडाध्यक्षको लागि सूर्यकुमार चौधरी थारू, बर्दिया ठाकुरबाबा नगरपालिका-४ को वडाध्यक्षका लागि प्रितिलाल थारूको नाम टुंगो लगाएको छ भने गण्डकी प्रदेशको गोरखामा गोरखा नगरपालिका-५ मा वडाध्यक्षका लागि सुकमाया नेपाली, बागमती प्रदेशको नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्षका लागि अमृत तामाङलाई उम्मेदवार बनाएको छ ।

यस्तै, मधेश प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ मा अध्यक्षका लागि शिवकुमार राम र सोही पालिका-१ को वडाध्यक्षका लागि चन्द्रकिशोर चौधरीको नाम टुंगो लगाएको छ । रौतहटको ईशनाथ नगरपालिका-७ मा वडाध्यक्षका लागि टेक साहिद, रौतहटकै राजपुर नगरपालिका-६ मा वडाध्यक्षका लागि नरुद्धिन खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने रौतहटकै गढीमाई नगरपालिका-८ को वडाध्यक्षका लागि टेक सुनौलालाई सिफारिश गरेको छ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि बुद्धिचन विश्वासलाई उम्मेदवार बनाएको छ ।

सुनसरीको गढी गाउँपालिका-८ मा वडाध्यक्षका लागि ललित चौधरी, ताप्लेजुङको सिरीजंगा गाउँपालिका-३ का वडाध्यक्षका लागि प्रेममा देनलाई उम्मेदवार बनाउने नाउपाले निर्णय गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षका लागि सीताराम चौधरी र उदयपुरकै बेलका नगरपालिका-८ को वडाध्यक्षका लागि भुपेन्द्र राईलाई सिफारिश गरिएको पार्टीले जनाएको छ ।

प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका-१२ को रिक्त वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुंगोे लगाएका छन् । गत २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि वडाध्यक्ष पद रिक्त भएको हो ।

नेपाली कांग्रेसले अर्जुन तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । नेकपा एमालेले राजेश नगरकोटी, नेकपा माओवादी केन्द्रले रविन प्रधान, नेकपा एकीकृत समाजवादी (नेकपा एस) बलराम बल, रास्वपाले आशा वीरबल र राप्रपाले प्रेम लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ । शाही पार्टीमा प्रदेश सभा क्षेत्र १ की सदस्य हुन्।

२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको २०८० माघ ४ गते निधन भएसँगै यहाँ उपाध्यक्ष रिक्त छ । नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा उम्मेदवार छिन्। उनी यसअघि कांग्रेसकी जोशीसँग पराजित भएकी थिइन्। नेकपा माओवादी केन्द्रले राजुकुमारी विकलाई उम्मेदवार बनाउने भएको छ।

स्थानीय तह उपनिर्वाचनमा रिक्त दुई वडाध्यक्ष पदका लागि पाँच राजनीतिक दलले उम्मेदवारको नाम सार्वजनिक गरेका छन् । त्रियुगा नगरपालिका-१२ र बेलका नगरपालिका-९ को रिक्त वडाध्यक्ष पदका लागि ती दलले उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् ।

त्रियुगा नगरपालिका-१२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, नेकपा एमालेले लक्ष्मी नारायण चौधरी, माओवादी केन्द्रले नविक वान्तावा, नेकपा एसले निर्मला चौधरी र रास्वपाले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।

यसैगरी, बेलका नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ ।

हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *