नेपाल प्रहरीमा डीआईजीको दरवन्दी ३० पुर्‍याउने तयारी

डिसी नेपाल
२ मंसिर २०८१ ९:५५

काठमाडौं। सरकारले नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरवन्दी ३० पुर्‍याउने तयारी भएको छ। नेपाल प्रहरीमा अहिले जनपदतर्फ २० र प्राविधिक ७ गरी २७ रहेकोमा जनपदतर्फ ३ दरवन्दी थप गरेर ३० पुर्‍याउन लागिएको हो।

ट्राफिक, लागु औषध र विमानस्थल सुरक्षा गार्डका लागि ३ वटा दरबन्दी थप गर्न लागेको हो। हाल ८ वटा पद रिक्त रहेकोमा ३ वटा थप गरेर ११ वटा पदमा बढुवा सिफारिस गर्न लागिएको छ।

नेपाल प्रहरीमा यतिबेला रिक्त भएका ८ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को बढुवा रोकेर दरवन्दी थप गर्ने तर्फ लागिएको स्रोतले जनाएको छ । डिआइजीमा बढुवा हुनेहरु चलखेल गर्न थालेपछि प्रहरी प्रधानकार्यालयले डिआइजीको दरवन्दी थप गर्न लागेको बताइएको छ।

प्रहरी प्रधानकार्यालयले प्राविधिकतर्फको दुई दरवन्दीपनि थप गर्न माग गरेको छ। तर अर्थमन्त्रालयले यसलाई अस्वीकार गरेको छ। साथै सशस्त्र प्रहरीमा दुई एआइजीको दरवन्दी थप गर्न लागिएको छ। डिआइजी किशोर प्रधान र गणेश ठाडामगरलाई बढुवा गर्न लागि दुई एआइजी दरवन्दी थप गर्न लागिएको हो।

नेपाल प्रहरीमा भने असारदेखि डीआईजीको पद रिक्त हुँदै गए पनि बढुवा रोकिएको छ। हाल रिक्त डीआईजीको संख्या ८ पुगेको छ। अझ मंसिर २१ र २७ कुर्ने हो डिआइजीको दरवन्दी १० पुग्नेछ। २१ गते केदार ढकाल अवाकाशमा जाँदैछन् भने २७ गते एआइजी भीम ढकाल अवकाशमा जाँदैछन्।

असारमा एआईजीका लागि बढुवा सिफारिस भएर पनि पोषराज पोखरेल डीआईजीमै अवकाश भएका थिए। उनलाई बढुवा सिफारिस गरे पनि निर्णय नभएपछि उनी असार २१ गते नै अवकाश पाए। यद्यपि उनले आफू बढुवा नहुनुपर्ने कारण माग्दै सर्वोच्चमा मुद्दा हालेका छन्।

सो मुद्दा अहिले विचराधीन रहेको छ। गत साउनमा रामदत्त जोशी एआईजीमा बढुवा भएपछि दुईजना डीआईजीको पद रिक्त भएको थियो। तर त्यतिबेला नयाँ कार्य सम्पादन मूल्यांकनका लागि भन्दै बढुवा रोकिएको थियो। भदौ १६ गते विष्णुकुमार केसी ३० वर्षे सेवा अवधिका कारण अवकाश भए।

त्यसको एक महिनापछि असोज १४ गते डीआईजी यज्ञविनोद पोखरेल अवकाश हुँदा रिक्त डीआईजीको संख्या चार पुगेपनि बढुवालाई झन लम्ब्याइयो। कात्तिक ११ गते राजेशनाथ बास्तोलाको अवकाश र किरण राणा एआईजीमा बढुवा भएपछि ६ जना डीआईजी रिक्त भएको थियो।

किरण राणा एआईजी भएको दुई दिनमै र रामदत्त जोशी पनि एआईजीबाट अवकाश भएपछि रिक्त स्थानमा डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवाका लागि सिफारिस गरिएको छ। यससँगै हाल नेपाल प्रहरीमा रिक्त डीआईजीको संख्या ८ पुगेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *