सत्ताच्युत हुँदा रन्थनिएका प्रचण्डको अनियन्त्रित बोली
काडमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्तिहरुमा असन्तुलन छटपटाहट देखिन थालेको छ।
एकै दिन एउटै विषयमा बोल्दा पनि उनको बोली फरक देखिएको छ। साथमा उनका अभिव्यक्तिमा राष्ट्रिय हित भन्दा पनि आफू सत्ताच्युत हुनुपरेको पीडा र छटपटाहट झल्किन थालेको छ।
प्रचण्डले हालै भारतको एक प्रमुख अखबार ‘द हिन्दू’लाई अन्तरवार्ता दिएका छन्। त्यो अन्तरवार्तामा उनले बोलेका कुराहरुमा उनको दावी मात्रै छ तर कुनै प्रमाण छैन।
यतिमात्रै होइन भारतीय राजनैतिक नेतृत्व सामु मात्रै नभइ भारतीय पत्रकारको अगाडि पनि उनी नतमस्तक भएको समेत प्रस्ट देखिएको छ। भारतको अगाडि यो हदसम्म झुक्नु कुनै पनि नेपाली पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्रीको दावेदारको लागि सुहाउने कुरा होइन।
अन्तरवार्ताको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण द्विपक्षीय भन्दा पनि ‘चाइना कार्ड’ खेल्नेमा बढी केन्द्रित देखिएको दावी गरेका छन्। तर, प्रधानमन्त्रीमाथि आरोप लगाउँदै गर्दा उनले के कारण अथवा कुन आधारमा यो भ्रमण चाइना कार्ड खेल्नेमा बढी केन्द्रित देखिन्छ भन्ने कुनै प्रमाण दिएका छैनन्।
उनले यो भ्रमणलाई ‘अपरिपक्वता’ भनेका छन् तर शक्तिशाली छिमेकी राष्ट्रले औपचारिक निम्तो दिएपछि प्रधानमन्त्री जानु कुन कारणले अपरिपक्वता हो भन्ने खुलाएका छैनन्।
प्रचण्डले प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्ने बताएका छन्। उनले स्पष्ट शब्दमा प्रधानमन्त्रीको यो चीन भ्रमण ‘हुनु हुँदैनथ्यो’ भनेका छन्। तर, छिमेकी देशले निम्तो दिएपछि औपचारिक भ्रमणमा जाँदा यसले भारतसँगको सम्बन्धलाई कसरी असर गर्छ भन्ने विषयमा उनी चुइँक्क बोलेका छैनन्।
छिमेकीकहाँ सरकार प्रमुख किन जानु हुँदैनथ्यो भन्ने पनि उनले प्रस्ट पारेका छन्। उनले ‘नेपालले छिमेकी देशहरुको सम्बन्ध सल्नुलित राख्नुपर्छ’ त भनेका छन् तर सन्तुलनको नाममा ‘भारतलाई सर्वोपरि मानेर नतमस्तक हुनुपर्छ’ भन्ने कुराको घुमाउरो पाराले वकालत गरेका छन्।
प्रचण्डले प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि नेपालको भारतसँगको विशेष सम्बन्धलाई स्वीकार गर्नुपर्ने बताएका छन्। उनले स्पष्ट शब्दमा प्रधानमन्त्रीको यो चीन भ्रमण ‘हुनु हुँदैनथ्यो’ भनेका छन्। तर, छिमेकी देशले निम्तो दिएपछि औपचारिक भ्रमणमा जाँदा यसले भारतसँगको सम्बन्धलाई कसरी असर गर्छ भन्ने विषयमा उनी चुइँक्क बोलेका छैनन्।
अन्तरवार्ताका क्रममा प्रचण्डले कतिपय कुराहरु जानाजान लुकाएका छन् र आफू सत्तामा हुँदा भएका केही ‘देखाउन मिल्ने’ प्रसंगहरु मात्रै कोट्याउँदै आफू सत्तामा रहे भारतसँगको सम्बन्ध राम्रो हुने तर्क गरेका छन्।
पत्रकार सुहासिनी हैदरले भारत र नेपालबीच सम्बन्धमा तिक्तता आउनुका दुई प्रमुख कारणमा भैरहवा विकानस्थलका लागि थप रुट दिन भारतले अस्वीकार गर्नु र चिनियाँ लगानी भएका आयोजनाको विद्युत भारतले खरिद गर्न अस्वीकार गर्नु भएको उल्लेख गर्दै सोधेको प्रश्नमा प्रचण्डले हवाइ रुटबारे एक शब्द पनि बोलेनन्।
आफूले केही गर्न नसकेको यो विषय प्रचण्डले सरासर लुकाएका छन् र यो विषयमा भारतको दादागिरीको अगाडि नतमस्तक बनेका छन्।
प्रधानमन्त्रीको चीन भ्रमणले भारतसँगको सीमा विवाद फेरि ठूलो विषय बन्न सक्ने खतरा पनि प्रचण्डले औंल्याएका छन्। उनको भनाइको आशय थियो ‘प्रधानमन्त्री भारतको अगाडि नझुकी चीन जाँदा भारतले सीमा समस्या फेरि बल्झाउन सक्छ।’
अर्थात् उनी कालापानी-लिपुलेक-लिम्पियाधुरा भारतले बकसको रुपमा नेपाललाई फिर्ता देओस् भन्ने चाहन्छन्, भारतले मिचेको आफूनो भूभाग कडाइका साथ माग्नृ हिम्मत उनीसँग छैन। यसो गर्दा भारत रिसाउला भन्ने उनलाई डर छ।
जबकि यी मिचिएका भूभाग समेटिएको नक्सा नेपालको संघीय संसदले जारी गर्दा त्यसको पक्षमा मतदान गर्ने एक सांसद उनी स्वयं पनि थिए र उनको पार्टीका सबै सांसदले यसको पक्षमा मतदान गरेका थिए।
उनले आफ्नो भारत भ्रमणको क्रममा भारतले विद्युत खरिद गर्ने सम्झौता भएको उल्लेख गर्दै आफूलाई अझै ६ महिना सत्तामा रहन दिएको भए यसलाई अन्तिम रुप दिने तर्क गरेका छन्। अर्थात उनी आफू सत्तामा रहेको भए भारतलाई रिझाउन सकिने थियो भन्ने सन्देश भारतीय नेतृत्वलाई दिन प्रयासरत देखिन्छन्।
यो विषयमा कुरा गर्दै गर्दा भारतले चिनियाँ लगानी भएका आयोजनाको विद्युत खरिद गर्न नमानेको प्रसंग उनले जानाजान लुकाउँछन्। यसले प्रस्ट पार्छ- या त उनी नेपालका सबै जलविद्युत आयोजनामा भारतको लगानी होस् भन्ने चाहन्छन् वा भारतसँग गरिएको विद्युत बिक्री सम्झौता देखाउनको लागि मात्रै थियो।
किनकि सम्झौताअनुसार भारतलाई बेच्ने १० हजार मेगावाट विद्युत कहाँबाट आउँछ? भन्ने प्रश्नको उनले कुनै जवाफ दिएनन्। चिनियाँ लगानीको विद्युत भारतले नकिन्नु गलत हो भन्ने कुरा उनले कहिँकतै बोलेनन्।
‘द हिन्दू’सँगको अन्तरवार्तामा प्रचण्डले आफू फेरि सत्ताको दौडमा लाग्न नचाहेको बताएका छन्। तर, उनले घुमाउरो पाराले आफ्नो सत्ता लालसा समेत अभिव्यक्त गरेका छन्। उनले पटक पटक आफू प्रधानमन्त्री छँदा भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताएका छन्।
अहिलेको सरकारले भारतविरोधी गतिविधि गरेको र यो सही नभएको पनि उनले पटक पटक भनेका छन्। आफ्नो सरकार ढालिएपछि नेपालमा भारतसँगको सम्बन्धलाई लिएर जे भइरहेको थियो त्यो ठिक होइन भनेका छन्।
अर्थात उनी आफू भारतको सत्ताले चाहेअनुसारको प्रधानमन्त्री बन्न सक्ने सन्देश भारतीय नेतृत्वलाई दिन प्रयासरत देखिन्छन्। यसले उनी भारतको टेको लिएर प्रधानमन्त्रीको कुर्सीमा उक्लिन लालायित छन् भन्ने स्पष्ट पारेको छ।
एकातिर भारतीय मिडियासँगको अन्तरवार्तामा आफू प्रधानमन्त्रीको दौडमा नरहेको तर भारतले चाहेजस्तो प्रधानमन्त्री बन्न सक्ने सन्देश प्रवाहित गर्दै गर्दा अर्कोतिर उनले नेपालमा आफ्ना कार्यकर्ताहरुमाझ अबको सरकार आफू सम्मिलित भएर बन्ने दावी गरिरहेका थिए।
माओवादीको काभ्रे-काठमाडौं सम्पर्क समितिको भेलामा दाहालले प्रधानमन्त्रीको चीन भ्रमणले गठबन्धन तलमाथि हुन सक्ने दावी पनि गरिरहेका थिए। प्रचण्डको यो दावी प्रधानमन्त्रीको चीन भ्रमणप्रति भारत असन्तुष्ट छ र भारतले यो सरकार ढलाइदिन सक्छ भन्ने कुराको स्पष्ट संकेत थियो।
तर, भारतले नेपालमा यो सरकार ढलाएर नयाँ सरकार बनाउने प्रयास गर्न सक्ने संकेत देखिएका बेला उनले भारतीय नेतृत्वलाई रिझाउने खालको अभिव्यक्ति दिइरहेका थिए।
दाहालले प्रधानमन्त्रीको चीन भ्रमणलाई लिएर जस्ता किसिमका अभिव्यक्ति दिइरहेका छन् त्यसले उनीमा देशको विदेश नीति र मित्रराष्ट्रसँगको सम्बन्ध बिग्रने चिन्ता भन्दा पनि सत्ता गुमाउनुपर्दाको छटपटाहट स्पष्ट देखिन्थ्यो। सत्ता गुमाउनुपरेको पीडा र छटपटाहटले उनको बोली कसरी अनियन्त्रि हुँदै गइरहेको छ भन्ने पनि उनको अभिव्यक्तिले संकेत गरिरहेका थिए ।
अन्यथा चीनको वर्तमान सत्ताको सिद्धान्त र नेतृत्वको नाम समेत सापटी लिएर नेपालमा हजारौंको ज्यान जाने सशस्त्र युद्ध छेडेका र त्यही नामको पार्टीको नेतृत्व गरिरहेका प्रचण्ड चीनप्रति यतिसम्म सशंकित हुनुपर्ने थिएन।
चीनबाट आयातित वाद र उतैबाट आयातित ‘माओवादी’ नाम भएको पार्टीको नेतृत्व बहालवाला प्रधानमन्त्रीको चीन भ्रमणबाट चिन्तित हुनु स्वभाविक पक्कै होइन। बरु प्रधानमन्त्रीको रुपमा आफ्नो पहिलो कार्यकालमा पहिलो विदेश भ्रमण चीनबाट गर्दा सत्ताबाट गलहत्याइएका उनलाई अहिलेका प्रधानमन्त्रीलाई पनि त्यसैगरी सत्ताच्युत गराउने चाहना छ।
त्यो अवस्था आएमा नयाँ सत्ता गठबन्धनमा स्थान पाउने लालसा छ। त्यसकै लागि उनी भारतको रिसको आगोमा घिउ थप्दैछन् र आफू भारतका लागि ‘कम्फर्टेबल’ प्रधानमन्त्री भएको सन्देश प्रवाहित गर्दैछन् ।
प्रचण्ड सत्ताको चरम लालसा भएका व्यक्ति हुन् भन्ने त प्रस्ट छ। यो कुरा यसअघि उनी पटक–पटक यता र उता पोइल जाँदै सत्ता जोगाएको देखिएबाटै खुलासा भइसकेको हो। अहिले पनि ‘म्याजिक नम्बर’को प्रसंग पटक पटक कोट्याइरहेका प्रचण्डले सत्ताको लागि देशको ‘कूटनैतिक प्रोटोकल’ नै उल्लंघन गर्नु भने पक्कै पनि राष्ट्रियताको लागि प्रतिकूल हुनेछ।
Facebook Comment