मब लिचिङ प्रकरण : न्यायका लागि लडिरहने पीडित परिवारको भनाई

डिसी नेपाल
३१ साउन २०७६ २१:१७

नयाँ दिल्ली (बीबीसी) । सन् २०१७ मा एकजना मुस्लिम किसान पहलु खानलाई कुटपिट गरेर मारेको अभियोग लागेका छ जनालाई भारतको एउटा अदालतले रिहा गरिदिए पनि आफूहरू लडिरहने उनको परिवारले प्रण गरेको छ।

गौरक्षक समूहका सदस्यहरूमाथि हत्याको आरोप लागेपछि उक्त विषय चर्चामा आएको थियो। हिन्दू धर्मावलम्बीहरूले गाईलाई पवित्र जनावर मान्ने गर्छन् जसका कारण कैयौँ राज्यमा गाई मार्नुलाई अवैध मानिन्छ।

‘हामीलाई मारे मात्र हामी लड्न छाड्ने छौँ,’ उनका छोराले भने। खानको परिवारले फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने बताएको छ। ‘म जिउँदो रहँदासम्म हामी लडिरहनेछौँ। सबै कुरा बेच्नुपर्‍यो भने पनि हामीले लड्नेछौँ’, उनका छोरा इर्साद खानले भारतको उत्तरी राज्य हरियाणास्थित आफ्नो निवासमा बताए।

मृत्यु भएको केही समयमै खानलाई उत्तर पश्चिमी राज्य राजस्थानमा पुरुषहरूको एउटा समूहले आक्रमण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो।
तर अदालतले उक्त भिडिओको आधिकारिकता प्रमाणित नभएको भन्दै त्यसलाई प्रमाणको रूपमा स्वीकार गर्न मानेन। बुधवार अदालतको फैसला सार्वजनिक भएदेखि आफ्नो परिवार शोकमा डुवेबो खानकी श्रीमती जैबुनाले बताइन्।

‘रिहा गरिएकाहरू रमाउनका लागि खुला भए पनि हामीले सबै कुरा गुमाएका छौँ,’ उनले भनिन्। खानको मृत्युपछि उनीहरूले कानुनी लडाइँ लड्नका लागि लाग्ने खर्च जुटाउन गाई बेचेका थिए। यसअघिको कुराकानीका क्रममा उनीहरूले आफूहरूले कुनै पनि किसिमको क्षतिपूर्ति नपाएको बताएका थिए।

सन् २०१४ मा भारतीय जनता पार्टी सत्तामा आएसँगै धेरै राज्यले गाई मार्न नपाइने नियम बनाएका छन्। सरकारी निषेधबाहेक गाईको रक्षा गर्न विभिन्न समूह विभिन्न राज्यहरूमा सक्रिय रहेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यस्ता समूहले आफूलाई क्रुद्ध बनाउने बताए पनि आक्रमणका शृङ्खला भने रोकिएका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *