रास्वपाले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर ८ गतेदेखि नयाँ चरणको आन्दोलन गर्ने घोषणा गरेको छ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा हिरासतमा राख्ने काम भएको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो।
पार्टी सभापतिका साथै समसामयीक जनजिविकाका विषयमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउन खोज्दा पनि प्रधानमन्त्रीले समय उपलव्ध नगराएका कारण दोश्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको रास्वपाले जनाएको छ।
पत्रकार सम्मेलनमा रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले आन्दोलनका एजेण्डा सुनाउदै सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न माग गरे। त्यस्तै उनले सहकारी पीडित र मिटरब्याज पीडितलाई न्याय दिनुपर्ने, उच्च ओहदामा रहेका सबैको सम्पत्ति छानबिन गरी सार्वजनिक गर्नुपर्ने माग रहेको बताए।
भ्रष्टाचार काण्डको न्यायिक छानबिन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्नुपर्ने, संविधान परिमार्जनका लागि सर्वपक्षीय सम्मेलन आयोजना लगाएतका एजेण्डा आफुहरुको रहेको झाले बताए।
झाले सहकारीमा ठगिएको ८७ अर्ब रुपैयाँमध्ये केहिमात्रै आम नागरिकको भएको र धेरै रकम जम्मा गर्नेहरु राजनीतिक भ्रष्टाचारी भएको आरोप लगाए। त्यस्तै उनले पहिलो र दाश्रो मिलेर बनेर बनेको सरकारले देश र जनताका लागि केहि काम गर्न नसकेको आरोप समेत लगाए। रास्वपाले उपनिर्वाचनको मनोनयनमा आफ्ना पार्टीका उम्मेदवारहरुमाथि आक्रमणको प्रयास भएकाले उपनिर्वाचन निष्पक्ष हुनेमा आशंका जनाएको छ।
Facebook Comment