स्थानीय तहको उपनिर्वाचनको ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता
काठमाडौं। मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनका लागि ४१० जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार आज विहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म निर्धारित समयमा ४४ स्थानका लागि ४१० उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
जस अनुसार कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा एक जना पुरूष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको छ। यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरूष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको आयोगले जानाएको छ।
साथै गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरूष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको छ।
उम्मेदवारको मनोनयन पत्र दर्ता भएका मध्ये सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा ३र३ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।
आयोगले सोमबार विहान १० बजेदेखि अपरान्ह ३ः बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, मंगलबार अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ।
त्यसैगरी बुधबार उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
Facebook Comment