धनगढीमाईमा मेयरले बजेटविपरित काम गरेपछि आन्दोलनको चेतावनी

डिसी नेपाल
३ मंसिर २०८१ १२:२०

सिरहा । धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतोले नगर सभाबाट सर्वसम्मत पारित गरेको बजेट तथा कार्यक्रमलाई लत्त्याउँदै प्रमुख प्रशासकीय अधिकृतले कानुन विपरीत मनोमौजी ढंगले बनाएको बजेट तथा कार्यक्रम उपर छानबिनको माग राख्दै नगर उपप्रमुखसहित कार्यपालिका सदस्यले विरोध गरेका छन्।

नगर प्रमुख शिवशंकर महतो र प्रमुख प्रशासकीय अधिकृत माधवेन्द्र चौधरीले आफ्नो अनुकूलको बजेट बनाएर सूत्रमा हाल्ने र नगरपालिकाको आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको विषय तत्काल छानबिनसहितको माग गर्दै १९ जना कार्यपालिका सदस्यले विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन्।

नगर सभाले सर्वसम्मत पास गरेको नीति तथा कार्यक्रम हुबहु प्रमाणित भई सार्वजनिक हुनुपर्नेमा पारित गरेको बजेटभन्दा फरक बजेट तथा कार्यक्रम नगर प्रमुखले प्रमाणित गरी कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहामा बुझाई सूत्रमा ईन्ट्री गरेको जनाइएको छ।

नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले नगर सभाले पास गरेको बजेट तथा कार्यक्रमलाई थप परिमार्जन गरी अर्को बजेट तथा कार्यक्रम गैरकानुनी रूपमा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरी नगरपालिकाको आधिकारिक वेबसाइटमा हालेकोले त्यसको तत्काल छानबिन नगरे आन्दोलनमा जाने ४ नम्बरका वडा अध्यक्ष ओम यादवले जनाए।

उनले भने, ‘नगर सभाबाट सर्वसम्मत पारित २०८१/०८२ को बजेट तथा कार्यक्रम (रातो किताब) कानुन विपरीत प्रमुख प्रशासकीय अधिकृतले परिमार्जन गरी हस्ताक्षर गर्दै सार्वजनिक गरेकोमा हामीले असहमति जनाए पनि नगर प्रमुखले कर्मचारीलाई आर्थिक प्रभावमा पारेर रकम कुम्लाउनकै लागी आफू अनुकूल बनाइएको रातो किताब कानुन विपरीत कोष तथा लेखा नियन्त्रण कार्यालयमा पेस गरेको उनको दाबी छ।

नगर प्रमुखले नियतबस नियमित राखिनु पर्ने कार्यपालिका बैठक सुनियोजितरुपमा नराखी महत्त्वपूर्ण प्रस्ताव/ निर्णय रोकी सेवा प्रवाह, विकासका कार्य, विषयगत शाखाको कामकाज र वडा कार्यालय ठप्प हुने अवस्थामा पुगेकोले नगर प्रमुखले तत्कालै समस्या समाधान नगरेको कडा आन्दोलनमा उक्रिने उनको भनाई छ।

अवैध ग्राभेल उत्खन्नलाई रोकी नियमानुसार कानुन बमोजिम राजश्वको प्रक्रियामा नल्याएको संयुक्त विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा संघीय सरकारले पठाएको सशर्त बजेटको सेनेटरी प्याड र दिवा खाजा कार्यक्रमलाई कार्यान्वयन गर्न बेवास्ता गरेको, नगरपालिका तथा वडा कार्यालयको अनुदानमा राखिएको शिक्षक/शिक्षिकाको तलब हालसम्म पनि नपठाएको, नगरपालिकाबाट सञ्चालित देशकै एक मात्र योग तथा नेचुरोपेथी कार्यक्रमका शिक्षकको म्याद हालसम्म नथपी धराशायी बनाएको आरोप लगाएको छ।

उनीहरूले नगरपालिकाको बेथिति, विसंगति र अनियमितताजस्ता कार्य तत्काल नरोकिए मंसिर ५ गते पछि कडा आन्दोलन घोषणा गरी तालाबन्दी समेत गर्न बाध्य हुने चेतावनी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *