सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि आवेदन माग
काठमाडौं । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकका लागि सरकारले आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेको हो।
कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्ने जारी सूचनामा उल्लेख छ।
सरकारी सेवामा सहसचिव वा सो सरह वा सोभन्दा माथि वा सार्वजनिक संगठित संस्था वा निकायमा १०औं तह वा सोभन्दा माथि वा कानून बमोजिम दर्ता भएको वा कम्पनी/संस्थामा कार्यकारी निर्देशक वा प्रबन्ध निर्देशक वा सोभन्दा माथिको कार्यकारी पदमा रही काम गरेको अनुभव व्यवस्थापकीय तहमा कम्तिमा पाँच वर्षको अनुभव हासिल गरेका व्यक्तिले समेत आवेदक दिन सक्ने छन्।
कार्यकारी निर्देशक बन्न भविष्यमा सरकारी सेवा वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व रहेको संस्थाको सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त नभएको, भ्रष्टाचार, जबरजस्ती करणी, लैंगिक हिंसा, मानव बेचबिखन तथा ओसार पसार, लागू औषध, सम्पत्ति शुद्धिकरण, राहदानी दुरुपयोग, अपहरण, संगठित अपराध वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा अदालतबाट सजाय नपाएको व्यक्ति हुनुपर्नेछ। कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र वा नागरिकता नलिएको समेत हुनुपर्नेछ ।
दरखास्त दिँदा कम्तिमा ३ हजारदेखि बढीमा ५ हजार शब्दको सिलबन्दी व्यावसायिक कार्ययोजनासमेत माग गरिएको छ।
आवेदकले पेस गरेको व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तरवार्ताको मूल्यांकनका आधारमा सञ्चार मन्त्रालयले नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्ने छ।
Facebook Comment