युक्रेनमा रूसको सेप्टेम्बर यताकै ठूलो आक्रमण, पोल्याण्डको वायुसेना स्ट्याण्डबाइ

डिसी नेपाल
३ मंसिर २०८१ १३:४२

काठमाडौं । पोल्याण्डले युक्रेनमा रुसको “ठूलो मात्रामा” आक्रमणपछि आफ्नो वायुसेनालाई “स्ट्यान्डबाइ” मा राखेको जनाएको छ ।

पोल्याण्डको सशस्त्र बलको अपरेशनल कमाण्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै पोल्याण्डका विमान र सहयोगी देशका विमानहरूले पोल्याण्डको हवाई क्षेत्रमा गस्ती गर्न थालेको बताएको छ ।

पोल्याण्डले सबै सशस्त्र सेना र स्रोतहरू सक्रिय गरेको छ र ड्युटीमा रहेका लडाकु विमानहरू र जमीनमा आधारित वायु रक्षा प्रणाली र रडारहरू पनि तैनाथ गरेको छ ।

रुसले युक्रेनमा क्रुज र ब्यालेस्टिक मिसाइलका साथै ड्रोनबाट आक्रमण गरेको छ । यी आक्रमणमा पश्चिमी युक्रेनका क्षेत्रहरूलाई पनि निशाना बनाइएको छ।

गएराति रुसले युक्रेनका धेरै ठाउँमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । सेप्टेम्बरयता युक्रेनमा रुसले गरेको यो सबैभन्दा ठूलो हमला हो ।

यस हमलामा रुसले फेरि युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ, जसमा जेनेरेटर र प्रसारण स्टेशनहरू समावेश छन्।

युक्रेनको दक्षिणमा अवस्थित माइकोलाइभ सहर यस आक्रमणबाट सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक हो।

युक्रेनको आपतकालीन सेवाका अनुसार यस आक्रमणमा दुई महिलाको मृत्यु हुनुका साथै दुई बालबालिकासहित छ जना घाइते भएका छन् ।

निकोलाईका गभर्नर भिटाली किमले आइतबार बिहान धेरै ड्रोन आक्रमण भएको बताए। आगलागीका कारण आवासीय भवन, अग्लो भवन, कार, सपिङ सेन्टर र पूर्वाधारमा क्षति पुगेको उनको भनाइ छ ।

युक्रेनको राजधानी किभमा क्षेप्यास्त्र र ड्रोन रोकिएको थियो जसका टुक्रा धेरै ठाउँमा खसेका छन् तर कोही घाइते भएको खबर भने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *