मलेखु-मुग्लिन सडकको काम चाडपर्वपछि तीव्र गतिमा
चितवन। पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडकको काम चाडपर्व सकिएसँगै तीव्र बनाइएको छ। सम्झौताको आधा समय बितिसक्दा पनि कामले गति लिन नसकेपछि पछिल्लो समय कामलाई तीव्र बनाइएको हो।
शर्मा-जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो। तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो। अहिलेसम्म १८ प्रतिशत मात्र काम भएको छ। निर्माण कम्पनीका राजमार्ग इन्जिनियर सहन वैद्यका अनुसार पछिल्लो समय कामलाई तीव्र बनाइएको छ।
दैनिक १५० जनाले काम गरिरहेको उनले जानकारी दिए। ‘एक साता अघिसम्म १०० जना मजदुरले काम गरिरहेकामा अहिले यो संख्या बढाइएको हो।’ वैद्यले भने, ‘आउँदो सातासम्म २०० जना पुग्छन्।’
सडकका छ वटा पुलको काम भइरहेको छ। हुग्दिको पुलको भुइँको काम भइरहेको छ भने पाँचवटा पुलका पिल्लरसम्मको काम सकिएको छ। भित्तो काट्ने र नदीतर्फ पर्खाल लगाउने काम भइरहेको छ। वैद्यका अनुसार अब केही दिनमा नै कालोपत्रका लागि बेस राख्ने काम गरिँदैछ। निर्माण कम्पनीले नक्सांकन लगायतका कारण काम ढिला भएको भए पनि अब तीव्र पारिने जनाएको छ। वैद्यले भने, ‘निरन्तर काम गर्न पाएको भए यतिबेला ४० प्रतिशत सकिन्थ्यो।’
मुग्लिनबाट मलेखुसम्म ३९ किलोमिटर सडक यो खण्डमा विस्तारको काम भइरहेको छ। वैद्यका अनुसार विस्तार चार ढंगले गरिँदैछ। निकै साघुरा र भित्तो काट्न एवं पर्खाल उठाउन कठिन ठाउँहरुमा दुई लेन अर्थात् नौ मिटर फराकिला सडक बनाइँदैछ। उकालो ठाउँहरुमा तीन लेन अर्थात् १२ मिटरको हुनेछ।
झण्डै एक दशमलव पाँच किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ। बजार क्षेत्र कुरिन्टार, चरौदी, विशालटार, चुम्लिङ्टार, मझिमटार लगायतका करिब छ किलोमिटर क्षेत्रमा चार लेन अर्थात् १८ मिटर फराकिलो सडक बनाइँदैछ। मुग्लिन, बेनिघाट र मलेखु बजारमा छ लेन अर्थात् २६ मिटर फराकिलो सडक बनाइँदैछ। एक किलोमिटरभन्दा बढी क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो।
नागढुंगा-मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का इ विजय दरैका अनुसार चाडपर्व सकिएसँगै कामलाई तिव्र बनाइएको छ। पृथ्वी राजमार्गमा पर्ने नागढुंगा-मुग्लिन सडकलाई दुई भागमा विभाजन गरेर स्तरोन्नतीको काम गरिएको हो। भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्यांक गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएकाले प्रगति कम भएको दरैले जानकारी दिए।
विश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो। शर्मा-जेडआइ सिजी जेभीले रु चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ। राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुत काम गर्नुपरेको उनको भनाइ छ। त्यसका कारण चाहेर पनि तीव्र गतिमा काम गर्न सकिएको छैन।
Facebook Comment