प्रवासमा बस्नेलाई वंशजकै नागरिकता दिइयोस्

डिसी नेपाल
४ मंसिर २०८१ ८:३१

क्यानडा। प्रवासमा बस्ने नेपालीहरुका लागि नेपाली नागरिकताकै निरन्तरता हुनुपर्ने माग गरिएको छ। गैरआवासीय नेपाली नागरिकता माग गर्नेहरुले गल्ती गरेको भन्दै प्रवासमा भए पनि नेपाली नै भएकाले नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने माग गरिएको छ।

प्रवासी नेपाली मञ्च क्यानडाको चौथो राष्टिय सम्मेलनको उद्घाटन गर्दै सो संगठनका अन्तर्राष्टिय सचिवालयका सदस्य एवं उत्तरअमेरिका क्षेत्रका प्रमुख प्रभु थापाले आफ्नो संगठनको तर्फबाट यस्तो माग अघि बढाइएको जानकारी दिए।

एक पटकका नेपाली हामी सधैंका नेपाली हौं उनले भने, हामी गैरआवासीय नेपाली हौं भन्नेहरुले गैरआवासीय नागरिकताको माग गरेर हामी सधैंका नेपाली हौं भन्ने कुरा विर्सिए त्यो गल्ती थियो त्यसैले हामी वंशजकै नागरिकताको निरन्तरताका पक्षमा लागिरहेका छाैं।

उनले प्रवासमा बस्ने नेपालीहरुको साझा उद्दश्य व्यक्तिगत र पारिवारिक जीवन सहज बनाउने र सकेसम्म आफ्नो जन्मभूमिलाई सहयोग गर्ने भएको बताउँदै संविधान संशोधन गरेर प्रवासमा बस्ने नेपालीले बंशजको नागरिकता पाउने अभियान पूरा गर्न सबैले साथ दिन आग्रह गरे।

सामुहिक प्रयासकै कारण प्रवासबाट मतदानको व्यवस्थाका लागि सरकार तयार भएको, अदालतबाट पनि आदेश आएको र कार्यान्वयनको प्रक्रियामा रहेको जानकारी पनि उनले दिएका थिए।

उनले देशका प्रधानमन्त्री र मन्त्रीहरु प्रवासमा आउँदा कालोझण्डा देखाउनेजस्ता अराजकताको अत्य हुनुपर्ने पनि बताए। देशको प्रतिनिधित्व गरेर आउनेहरुमाथि दुव्र्यवहार गर्दा नराम्रो सन्देश जाने भन्दै उनले केही समयअघि प्रधानमन्त्री र मन्त्रीहरु अमेरिका आउंदा कालोझण्डा देखाउन खोजेकोमा असन्तुष्टि पनि जनाएका थिए।

उनले प्रवासमा बस्ने केही नेपालीले स्वदेशमा जाँदा पनि एयरपोर्टदेखि नै तोडफोड गर्ने, होटलमा जाँड खाएर वितण्डा मच्चाउने काम गरेको सार्वजानिक हुँदा प्रवासमा बस्नेहरुप्रति नराम्रो धारणा बन्न सक्ने कुरामा पनि ध्यान दिन सचेत गरेका थिए।

सम्मेलनले रमेश धितालको नेतृत्वमा सर्वसम्मत क्यानडा कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मदन अघिकारी, सचिवमा सन्दिप पौडेल, उपसचिवमा कृष्ण पराजुली र विमला कार्की चयन भएका छन्।

त्यसैगरी सदस्यहरुमा लोक गुरुंग, केपी पन्त, सुदर्शन अधिकारी, सुजन खतिवडा, राजन पाइजा, दुर्गा केसी, अरविन पौडेल, राजु भट्टराई, रिंकु भट्टराई, प्रकाश ढकाल, दिनेश विष्ट, महेश विष्ट, सुदर्शन सापकोटा, सुरेश भट्टराई, हिमाल अर्याल, तारा लामिछाने, उद्दिम न्यौपाने, चयन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *