‘दलहरूबीच विश्वासको वातावरण बनाउनुपर्छ’
काठमाडौं। दलहरूबीच गहिरिँदै गएको विश्वासको सङ्कटलाई चिर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने आवश्यकता औँल्याइएको छ।
त्रिभुवन विश्वविद्यालय, द्वन्द्व, शान्ति र विकास अध्ययन विभागले आज यहाँ आयोजना गरेको ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रियामा सहभागी नेतालगायतले विशेष गरी शान्ति सम्झौतामा हस्ताक्षर गर्ने दलहरूबीच विश्वास कायम गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन जरूरी रहेको बताएका हुन्।
नेपाली कांग्रेसका नेता एवं तत्कालीन सरकारको वार्ता टोलीका संयोजक कृष्ण सिटौलाले १८ वर्ष पुगिसक्दा पनि शान्ति प्रक्रिया टुंगोमा नपुग्नु दुःखद् भएको बताए। उनले पछिल्लो समय प्रमुख दलहरूबीच झनै विश्वासको संकट गहिरिँदै गएकाले यसले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन अवरोध खडा गर्नेतर्फ सचेत गराए।
हरेक क्षेत्रका समस्या राजनीतिक सहमतिका आधारमै अघि बढाइएको दृष्टान्त प्रस्तुत गर्दै उनले पछिल्लो समय शान्ति प्रक्रियामा काम अघि बढाउन पनि राजनीतिक सहमतिले महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। नेता सिटौलाले भने, ‘तत्कालीन १२ बुँदे सम्झौताका हस्ताक्षरकर्ता सात दलमा सहभागी नेपाली कांग्रेस र (नेकपा) एमाले तथा तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी) केन्द्रबीच अझै विश्वासको वातावरण हुन जरूरी छ।’
कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि काम अघि बढाइएको र आउँदो चार वर्षमा त्यो पूरा हुने विश्वास व्यक्त गरे। उनले विस्तृत शान्ति सम्झौताको ‘स्प्रिरिट’ अनुसार मुख्य गरी पीडित पक्षसँग मेलमिलाप गर्ने कुरालाई नै प्राथमिकता दिइएको र गम्भीर प्रकृतिका घटनामा भने मिलमिलाप नहुने प्रष्ट पारे।
नेता ज्ञवालीले दोहोरो भिडन्तबाहेक बलपूर्वक हत्या, अपहरण, बेपत्ता तथा बलात्कारजस्ता घटनामा मिलाप नहुने बताए। उनले भने, ‘यौन, बलात्कार र दुव्र्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुरामा उन्मुक्ति हुँदैन, यी चार विषयले अन्तर्राष्ट्रिय प्रतिबद्धता र कानुनसँग पनि सम्बन्ध राख्छन्।’
कार्यक्रममा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पछिल्लो समय राजनीतिक नेतृत्वमा एकले अर्कालाई छक्याउने, झुक्याउने, छल गर्ने गतिविधि विकास भएको र यो प्रवृत्ति राजनीतिमा हानिकारक रहेको जिकिर गरे। यस्ता गतिविधिले नागरिकमा वितृष्णा पैदा हुँदै गएको पनि उनले उल्लेख गरे। नेता शर्माले शान्ति प्रक्रियालाई छिटो निकास दिनुपर्नेमा जोड दिएका छन्।
Facebook Comment