इजरायलका राष्ट्रपतिलाई टर्कीको हवाई क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएन
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली राष्ट्रपति इसाक हर्जोगको विमानलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न नदिएको बताएका छन् ।
वास्तवमा, इजरायलका राष्ट्रपति गत हप्ता भएको कोप जलवायु शिखर सम्मेलनमा भाग लिन अजरबैजान जाने तय थियो तर उनले आफ्नो भ्रमण रद्द गर्नुपर्यो।
ब्राजिलको रियो दि जेनेरियोमा भएको जी–२० शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा एर्दोगानले यस्तो बताएका हुन् ।
यस क्रममा उनले भने, “हामीले इजरायलका राष्ट्रपतिलाई कोप शिखर सम्मेलनका लागि अजरबैजान जान हाम्रो एयरस्पेस प्रयोग गर्न दिएनौं। हामीले उनलाई अन्य रुटहरू खोज्न, अन्य एयरस्पेस मार्फत जान आग्रह गरेका थियौं। हामीले उनलाई वैकल्पिक मार्ग प्रयोग गर्न भन्यौं। “यद्यपि, इमानदारीपूर्वक भन्नुपर्दा उनी अजरबैजान जान सके कि सकेनन् भन्ने मलाई थाहा छैन ।”
टर्कीले गाजामा जारी युद्धलाई लिएर इजरायलको आलोचना गर्दै आएको छ। टर्कीका राष्ट्रपति इजरायली कारबाहीको विरुद्धमा निरन्तर बोल्दै आएका छन् ।
Facebook Comment