राज्यलक्ष्मी खतिवडाका दुई कविता
कसैको कोही पनि हैन
म बा आमाको छोरी हैन
म छोराछोरीको आमा हैन
म सासु ससुराको बुहारी हैन
खोइ के भनुँ? म को हुँ?
यो जिन्दगीमा थाहै छैन
म श्रीमानको श्रीमती हैन
म कसैको कोही पनि हैन
म दिदी बहिनीको दिदी बहिनी हैन
म दाजुको बहिनी हैन
म भाजुको नन्द हैन
म जेठाजुको बुहारी हैन
म जेठानीको देउरानी हैन
म देवरको भाउजु हैन
म देउरानीको जेठानी हैन
म मामा माइजुको भान्जी हैन
म भान्जा भान्जीको माइजु हैन
यो संसार यस्तै रैछ
म कसैको कोही पनि हैन
म आफन्तको आफन्त हैन
आफन्त भन्ने शब्द के हो ? थाहै छैन
कसै संग केही सम्बन्ध छैन
खै के भनुँ म
आफ्नै जीवनको भर छैन ।
जीवन एउटा यात्रा न हो
पवन भनौं हावा हैन
उडी जाने बेगै छैन
पानी भनुँ खोला हैन
बगी जाने साहस छैन
आगो भनुँ अग्नि हैन
बली जाने हिम्मत छैन
चरा भनुँ पंक्षी हैन
उडी जाने प्वाँखै छैन
यो बादलको पर्दा भित्र
खोली हेर्ने दृष्टि छैन
फूल भनुँ फूल हैन
काँडा भनुँ काँडा हैन
पहाड भनुँ पहाड हैन
हिमाल भनुँ हिउ छैन
जीवन एउटा यात्रा न हो
यहाँ कसैको केही पर्वाह छैन
जात्रा जस्तो भयो जीवन
यहाँ कसैको मर्यादा छैन
दुःखेको यो मुटु भित्र
मलम लाउने ठाउँ छैन
जिन्दगीको भारी बिसाइ
बास बस्ने गाउँ छैन
देवता भनुँ देवता हैन
भुत भनुँ भुत हैन
इष्ट भनुँ इष्ट हैन
मित्र भनुँ मित्र हैन
पराई भनुँ पराई हैन
आफ्नो भनुँ आफ्नो हैन
जीवनको कहानी हो यो
मैले गाएको गीत हैन
पानी भनुँ पानी हैन
शित भनुँ शित हैन
जीवनको खेला हो यो
मैले लाएको प्रित हैन
नाउँ छैन गाउँ छैन
थर छैन घर छैन
यो त सबैको यात्रा न हो
जीवनको भरै छैन
विपना भनुँ विपना हैन
स्वप्ना भनुँ स्वप्ना हैन
यात्रा हाम्रो अनन्त छ
अन्त्य हुने ठाउँ छैन।
सुन्दरहरंैचा–६, दुलारी, मोरङ
Facebook Comment