भारतीय सुरक्षा प्रमुखको नेपाल भ्रमण : सम्बन्ध सुधारको संकेत
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा रह्का छन्। मंसिर ५ गते अर्थात बुधबार उनी नेपाल भ्रमणमा आएपछि बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानर्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरे।
उनी अझै नेपालमा सैनिक कार्यालयहरुको भ्रमणमा जाँदैछन्। प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जाँदै छन्। यसअधि भारतीय सीमा सुरक्षा बलका महानिर्देशक अमृतमोहन प्रसाद आएर फर्किसकेका छन्। नेपालका सुरक्षा अंगका प्रमुखहरूले भारतीय सुरक्षा अंगका प्रमुखहरूको नेपाल भ्रमणलाई नियमित भनेका छन्।
तर प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएपछि हुन लागेको उनीहरूको यो भ्रमणलाई नेपालसँग भारतको सम्बन्ध थप सकारात्मक दिशातर्फ उन्मुख भएको सन्देशका रूपमा लिइएको छ।
स्थाल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको भ्रमणका क्रममा बिहीबार जंगी अड्डामा प्रधानसेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जंगी अड्डामा द्विपक्षीय वार्ता भएको थियो।
त्यसक्रममा भारतीय सेनाको ‘अग्निपथ’ बारे छलफल हुने बताइएको छ। तर यसबारे रक्षा मन्त्रालय, नेपाली सेनाले केही बताउन चाहेको छैन। ‘अग्निपथबारे पनि कुराकानी भएको छ तर यो विषय दुई देशको मामिला भएकाले अहिले नै केही गरिहाल्ने भन्नेचाहि रहेन’, नेपाली सेनाका उच्च अधकारीले भने।
भारतका तत्कालीन रक्षा मन्त्री राजनाथ सिंहले सन् २०२२ को जुन महिनामा अग्निपथ योजना सार्वजनिक गरेका थिए। यस योजना अन्तर्गत भारतीय सैनिकमा १७ देखि २३ वर्ष उमेर समूहका युवालाई चार वर्षका लागि भर्ना गरिने योजना हो। सेनामा भर्ती भएकाहरुलाई ‘अग्निवीर’ भनिने छ। यसबारे नेपालका ठूलै विवाद भएको थियो।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल भ्रमणलाई नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग रहेको ‘संयुक्त अपरेसन सेल’ गठन गरेर सुरक्षा निगरानी बढाइने भएको छ।
‘उहाँको भ्रमणलाई सेनाले उच्च महत्त्व दिएको छ, भ्रमणका बेला विरोध उत्पन्न हुन सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर संयुक्त अपरेसन सेल बनाउन लागिएको हो’, नेपाली सेनाका एक उच्च अधिकारीले भने।
भारत सरकारले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नदिएको विषयमा कूटनीतिक क्षेत्रमा विभिन्न आशंकासहितका टिप्पणी भइरहेका बेला स्थल सेनाध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्धमा सकारात्मक सन्देश दिने बताइएको छ।
ओली सरकारले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको छ। द्विवेदीको नेपाल भ्रमणका क्रममा सहयोग आदान-प्रदानबारे पनि छलफल भएको थियो। द्विवेदी ३० जुन २०२४ मा भारतीय स्थल सेनाप्रमुख नियुक्त भएका थिए।
Facebook Comment