अब पढाइ र जागिर छोड छोरी, बिहे गर्नुपर्छ!
छोरी हुँ। छोरी भएकै कारण दाइ-भाइ उठ्नुभन्दा पहिले मिरमिरेमै उठ्नुपर्ने संस्कार मलाई सिकाइएको छ।
बिहानै उठेर हातमुख धोएसँगै चिया-खाजा पकाउने, दाइ-भाइलाई खाजा दिने, कोठा, आँगनको सरसफाइ गर्ने, आमालाई भान्सामा सघाउने र हतार-हतार खाना खाएर अफिस जाने मेरो दैनिकी नै हो।
दिनभर म अफिसको काममा जोतिएकी हुन्छु। बेलुकी घर आएर फेरी बिहान झैँ घरकै काममा खटिनुपर्छ। त्यही बीचबाट बचेको समय आफ्नो पढाइका लागि खर्चिन्छु।
मेरो चाहनाबारे कसैले सोध्दैनन्। तर, मैले परिवारका सदस्यहरूलाई उनीहरूका चाहनाबारे सोधिरहेकी हुन्छु। ती चाहना पूरा गर्ने प्रयास पनि गरिरहेकी हुन्छु। कहिले कुनै सानो गल्ती भयो भने मैले थुप्रै कुरा सुन्नुपर्छ।
परिवारमा अर्काको घरमा जाने चिजको रूपमा मलाई हेरिन्छ। किन पढ्नु, किन जागिर गर्नु? अर्काको घरमा जाने जात न हो भन्छन्। यस्तो सुन्दा मन कुँडिएर आउँछ।
मेरा चाहना मृत तुल्य छन्। किनकि म आफ्नो बारेमा सोच्न नै भ्याउँदिन। केरा रहर के हुन्? ममा के चाहना छन्? ती कसरी पूरा गर्ने? म अनविज्ञ तुल्य छु। मेरो दिमागमा एउटै कुरा भरिएको छ। म छोरी हुँ। मैले पाइलै पिच्छे सम्हालिनुपर्छ। बाहिर खुलेर निस्कनु हुँदैन, धेरै पढ्नु हुँदैन, काम गर्नु हुँदैन, यस्तै यस्तै।
आफ्ना जीवन्त सपना पूरा गर्ने र आजाद पन्छी झैँ खुला आकाशमा पागुर फिँजाएर उड्ने स्वतन्त्रता मलाई छैन। किनकि म छोरी हुँ। मलाई त पिँजडामै कैद भएको हेर्न चाहन्छ हाम्रो पुरुष प्रधान समाज। उनीहरूको रिमोट कन्ट्रोल बस्तु झैँ भएको हेर्न जान्छ। हावाको गति र पानीको वेगलाई कसैले रोक्न सक्दैन भन्ने बुझ्दा बुझ्दै पनि अबुझ नै बनेको छ मेरो जीवन। पीजडाको चरा जस्तै जकडिएको छ।
मेरो स्वतन्त्रता छेकिएको छ। परिचय मैभित्र सीमित छ। गोठको गोरुलाई केही समय चराउन जंगलमा लगिए पनि पुन: ल्याएर त्यही दाम्लोमा बाँधिन्छ। त्यस्तै भएको छ मेरो जीवन। घरको चार भित्ता मेरो संसार हो। काम गरे पनि स्वतन्त्रता पूर्वक गर्न सकिरहेकी छैन। घडीको सुईमा नाच्नुपर्छ।
बिदाको दिन पारेर साथीकोमा पढ्न गएकी थिएँ। त्यो घरमा ठूलो चर्चाको विषय बन्यो। म अरूको घर-घर जान थालेँ। मेरो जवानी पलायो, त्यसैले अब म घरमा अडिनै नसक्ने भएँ रे। मेरो उमेर बढ्दै थियो। उमेरसँगै घरमा घोचपेच पनि बढिरहेको थियो। छोरीले यो गर्न हुन्छ, यो गर्नु हुँदैन भन्दै विभिन्न पर्खाल खडा भइरहेका थिए। उमेरसँगै चेतना बढ्यो। तर, स्वतन्त्रता बढेन।
भित्ताको टेलिभिजनमा किशोरी र महिलामाथि भयाका अपराधका घटनाबारे दिनहुँ समाचार बजिरहेको हुन्थ्यो। कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्याको समाचार बजिरहेको थियो। हत्यारा पत्ता नलागेको वर्षौं भइसकेको थियो। आज पनि पहिचान खुल्न नसकेकी एक युवतिको काठमाडौंमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको समाचार पनि बज्यो। सबैका आँखा टेलिभिजनको पर्दामा भए पनि ध्यान मतर्फ नै केन्द्रित थियो।
मेरो उमेर बढ्दै थियो। उमेरसँगै घरमा घोचपेच पनि बढिरहेको थियो। छोरीले यो गर्न हुन्छ, यो गर्नु हुँदैन भन्दै विभिन्न पर्खाल खडा भइरहेका थिए। उमेरसँगै चेतना बढ्यो। तर, स्वतन्त्रता बढेन।
बाले मतर्फ पुर्लुक्क हेरेर भन्नु भयो- छोरी अब तैँले पढाइ छोडिदे। बिहे गर्नुपर्यो। समाजमा छोरी चेलीको सुरक्षा नै गर्न गाह्रो भइसक्यो। उहाँको अनुहारमा मप्रतिको प्रेम छचल्किरहेको थियो।
आज मलाई अफिसबाट आउन ढिला हुन्छ है आमा!
आमाले धेरै बेर सोचिन र भनिन्, ‘हुन्छ। तर, बेलुका तलाई लिन भाइ आउँछ। जुग जवाना राम्रो छैन। तेरै चिन्ताले सताइरहेको हुन्छ।’
मैले केही भन्न सकिनँ। उहाँको आग्रहमा सहमति जनाउँदै टाउको हल्लाएर अफिस निस्केँ।
मेरो कसैसँग प्रेम थिएन। म निर्धक्क थिएँ। तर, परिवार निर्धक्क थिएन। परिवारले छोरी यो कपडा लगाऊ, त्यो नलगाऊ भनेर सधैँ मेरो विचारमा हस्तक्षेप गरिरह्यो। ६ बजेभन्दा पछि बाहिर निस्कनै पाइन। घरको आज्ञा मेरा लागि फलामे जन्जिर सरह थियो। निर्देशन भयो त भयो।
छोटो कपडा लगाएर हिँड्दा छोरी बलात्कृत हुन्छ कि भन्ने पिर छ परिवारमा। मलाई भने त्यो बेकार लाग्थ्यो। आफू बलियो हुनुपर्छ लाग्थ्यो। केही समय पहिले एक जना सारी लगाएकै महिला बलात्कृत भएकी थिइन्। मेरो मनमा विद्रोह थियो, सारीले किन छेक्न सकेन बलात्कार। मलाई छोटो लुगा लगाउँदैमा मात्र बलात्कृत भइँदैन भन्ने प्रमाणित गर्न मन थ्यो। तर, त्यो सहज थिएन। १० वर्षकी नानी बलात्कृत भएको समाचार बाहिरियो। के उनी पनि छोटै लुगा लगाएर बाहिर निस्किएकी थिइन्।
हामी घर बाहिर मात्र होइन, घरभित्रै पनि असुरक्षित छौं। हामीलाई जन्जिरमा राख्ने होइन। समाजका मानिसको दिमागमा ढक्कन लागेर बसेको अवचेतनको जालो खोल्न मन थियो। छोरीलाई हेर्ने उनीहरूको दृष्टिकोण फेर्न मन थियो।
मलाई स्वतन्त्रतामा रमाउन मन छ। पखेटा काडेको चरी झैँ निल गगनमा उड्न मन छ। मलाई स्वतन्त्रताको स्वाद पान गर्न मन छ। जुनसुकै अँध्यारो बाटो एक्लै छिचोलेर साहस देखाउन मन छ। २१औं शताब्दीमा छोरीलाई पिजडामा कैद गर्नु कत्तिको जायज हो र?
केही छोरीहरू खेलाडी, हिरो, डाक्टर, पाइलट, शिक्षकका रूपमा समाजमा उदाएका छन्। अब सबै छोरी चेलीहरूले त्यस्तै हिम्मत राख्नुपर्छ। अब छोराको मात्र भर पर्नु हुँदैन। हामी आफैँ पनि आमाबुवाको सहारा बन्न सक्नुपर्छ। हामी अरूको घर जाने जात त हौं भनेर हेये भावमा बाच्नु हुँदैन। यही सोचले बाले छोरी बिहे गरौं भन्नु भयो। मैले बा तपाईंको शिर स्वाभिमानको सगरमाथा बनाउनु छ भने। र, त्यही यात्रामा छु।
Facebook Comment