गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावमा अमेरिकाले भिटो लगायो
काठमाडौं । गाजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा पेश गरिएको प्रस्तावलाई अमेरिकाले भिटो गरेको छ । अमेरिकाले इजरायलका लागि भिटो शक्ति प्रयोग गरेको यो चौथो पटक हो।
सुरक्षा परिषद्का १५ मध्ये १४ सदस्यले गाजामा युद्धविराम प्रस्तावको पक्षमा मतदान गरेका छन् ।
प्रस्ताव अनुसार गाजा युद्ध तत्काल, बिना शर्त र स्थायी रूपमा समाप्त हुनुपर्छ। साथै, सबै बन्धकहरूलाई तुरुन्त र बिना शर्त रिहा गरिनुपर्छ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी उपराजदूत रोबर्ट वुडले यस मस्यौदामा युद्धविराम र बन्धकहरूको रिहाइबीच कुनै सम्बन्ध नभएको बताए।
अमेरिकी उपराजदूत रोबर्ट वुडले यो प्रस्ताव पारित गर्नुले हमासलाई वार्ता पुन: सुरु गर्न आवश्यक छैन भन्ने ‘खतरनाक सन्देश’ जाने बताए।
अमेरिकाको यो कदमको आलोचना पनि भइरहेको छ । सुरक्षा परिषद्को स्थायी सदस्य फ्रान्सले यो कदमप्रति दुःख व्यक्त गरेको छ ।
इजरायलका संयुक्त राष्ट्रसंघका राजदूत ड्यानी ड्याननले भने, ‘यो प्रस्ताव शान्तिको बाटो होइन तर थप आतंक, थप समस्या र रक्तपात फैलाउने रोडम्याप हो।’
यसैबीच हमासले गाजामा इजरायलको युद्धका लागि अमेरिका प्रत्यक्ष रूपमा जिम्मेवार भएको आरोप लगाएको छ ।
सुरक्षा परिषद्को स्थायी सदस्यमा पाँच देश समावेश छन् । यसबाहेक १० देशलाई यसमा अस्थायी स्थान दिइएको छ ।
Facebook Comment