निर्दोष भित्र दोषी सडकमा
पहेँलो बस्त्र लगाएका एक जना साधु प्रहरी कार्यालय पुगे। उनका आँखा आँसुले भरिएका थिए। उनले एसपीलाई भेट्न खोजे। एस्पीले उनलाई भित्र बोलाए।
ती साधु भित्र पसे। एस्पीका सामु पुगेपछि उनले आफ्नो छाती भित्र हात हाले। त्यहाँबाट एउटा पेस्तोल निकाले अनि त्यसलाई एसपीका टेबुलमाथि राखेर भने “साहेब यही पेस्तोल हो, यस कार्यालयमा यही पेस्तोल चोरीको आरोपमा रीतबहादुर नामका हबल्दार जेल गएका थिए।पेस्तोल स्टोरबाट हतियार चोर्ने हबल्दार रीतबहादुर होइनन् खासमा म हुँ ,पेस्तोल जिम्मा लिनुहोस्, मलाई गिरफ्तार गरेर कैद सजाय गर्नुहोस्।”
“तपाईंले यो कसरी चोर्नुभयो?” एसपीले सोधे।
करिब एक दशक अगडि पहिले ती साधु त्यसै प्रहरी कार्यालयमा प्रहरी जवानका रुपमा काम गर्दा रहेछन्। त्यसबेला हनुमान ढोका प्रहरी कार्यालयका हतियारहरु रीतबहादुरका जिम्मामा रहेछन्। यी प्रहरी जवानले रीतबहादुरलाई दाजु भन्दारहेछन्।
एकदिनको कुरा हो, हबल्दार रीतबहादुरले एकजना प्रहरी जवानलाई भनेछन् “म ट्वाइलेट गएर आउँछु , एकछिन यो कोठा रुँग है भाइ” यति भनेर रीतबहादुर ट्वाइलेट गएछन्।
ती प्रहरी जवानले त्यहाँ भएका पेस्तोलमध्ये एउटा सुटुक्क झिकेर आफ्ना कम्मरमा भित्रपट्टि लुकाएछन्। रीतबहादुर आएपछि ती प्रहरी जवान त्यहाँबाट हिँडेछन्।
साँझमा रीतबहादुरले आफ्ना जिम्मा भएका पेस्तोल गन्ती गरे तर त्यहाँ एउटा पेस्तोल थिएन। उनको सातो गयो। रीतबहादुरले कोठामा सबैतिर पेस्तोलको खोजी गरे तर पाइएन। उनले ती प्रहरी जवानलाई शंकामात्र गरेका भए कथाले अर्कै मोड लिन सक्थ्यो।
प्रहरी कार्यालयको नियम अनुसार प्रहरी कार्यालयमा आफ्ना जिम्मामा रहेको एकथान पेस्तोल हराएको हुनाले आफूमाथि अनुसन्धान गरिपाउँ भनी रीतबहादुरले निवेदन गरे।
कार्यालयले रीतबहादुरका ठाउँमा हतियारको जिम्मा लिन अर्कैलाई पठायो र रीतबहादुरलाई हिरासतमा राख्यो। कार्यालयले रीतबहादुरसित रिसाएको प्रहरी को छ त्यो पत्ता लगाएर रीतबहादुरमाथि सुरु ग¥यो केरकार।
रीतबहादुरलाई हिरासतमा बेस्सरी कुटे, पिटे, करेन्ट लगाए र नङमा सियो घोचेर बयान लिने काम समेत भयो। अन्त्यमा रीतबहादुरले साबिती बयान दिए “कार्यालयको पेस्तोल असनतिर भाडामा बस्ने नाम थाहा नभएको एकजना भारतीय नागरिकलाई मैले आफैं पाँचहजार रुपियाँमा बेचिदिएको कुरा स्वीकार गरे।
पेस्तोल चोरी गरेर लग्ने प्रहरी जवानलाई ठूलो पछुतो भयो। उनी रीतबहादुरले पाएको सजाय हेरिरहेको थियो। त्यसैबीच उसलाई हदैसम्मको आत्मग्लानि भयो। उसले त्यो पेस्तोल रीतबहादुरले चोरेको नभएर आफूले चोरेको हो भनेर फिर्ता गर्ने आँट गर्न पनि सकेन।
त्यसैबीच पेस्तोल चोर्ने प्रहरी जवान पीडित बन्यो। रीतबहादुरले त्यस प्रहरी जवानलाई आफ्नो एक आँतको भाइलाई जस्तो माया गर्दथ्यो। आफ्ना आँखा अगाडि त्यस्तो सजाय पाउँदा पनि रीतबहादुरले त्यस प्रहरी जवानलाई एकछिन कोठा जिम्मा लगाएर ट्वाइलेट गएको कुरा समेत नभनेका हुँदा त ऊ अझै भक्कानियो। रोयो।
त्यसको केही दिनमा विशेष अदालतले रीतबहादुरलाई सरकारी खरखजाना हिनामिना गरेको अपराधमा सातवर्षको कैद सजाय सुनाएर हिरासतबाट कारागार चलान गर्यो। रीतबहादुरको जागिरमात्र गएन रातो दिनको यातनाले शारीरिक र मानसिक रोगबाट पीडित थियो।
डा. भोगेन्द्र शर्मा अध्यक्ष रहेको लोकप्रिय संस्था यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) ले रीतबहादुरको कुरा थाहा पाएर रीतबहादुरलार्ई सक्दो सहयोग गरी उनका तर्फबाट मुद्दा लाडिदियो।
त्यो संस्थाले रीतबहादुरलाई यातना पाएकोमा क्षतिपूर्ति पनि दिलायो। सिभिक्टले यातनामा परेका धेरैलाई राहत दिएको थियो। त्यसैले त्यसबेला सिभिक्टको ख्याती प्रख्याती सबैतिर फैलिएको थियो।
रीतबहादुरले कैद भुक्तान गरेर सातवर्षपछि घर फर्किए। अर्का अभियुक्त पनि त्यही पेस्तोल चोरी काण्डमा चारवर्ष जेल गएको काण्ड बाहिर आयो।
त्यसैबीच रीतबहादुरले जुन हतियार चोरी गरेको अभियोगमा सातवर्षसम्म जेल बसेको थियो त्यही हतियार प्रहरी कार्यालयमा बुझाई तत्कालीन प्रहरी जवानले गिरफ्तारी दिएर केन्द्रीय कारागार गएको समाचार यातना पीडित सरोकार केन्द्र (सिभिक्ट) मा प्राप्त भएपछि सिभिक्टले त्यस कुरामा गम्भीर चासो राख्ने नै भयो।
आधारभूत कुराको अध्ययन गरेर सिभिक्टले रीतबहादुरलाई बिना अपराध सातवर्ष यातना दिई जेल सजाय भएकोमा क्षतिपूर्तिको मागदाबी सहित अदालतमा मुद्दा दर्ता गरेको थियो।
तर पूर्व प्रहरी जवानले बुझाएको पेस्तोलको नम्बर उडेर प्रष्ट नदेखिएको हुनाले रीतबहादुरले चोरेको पेस्तोल अर्कै हुनसक्ने प्रहरीले दाबी गरेर रीतबहादुरलाई सातवर्षको जेल सजायको क्षतिपूर्ति दिनबाट इन्कार गर्यो।
ती प्रहरी जवानले पेस्तोल चोरेर लगेपछि ती प्रहरी जवान मानसिक पीडामा परे। उनले हबल्दार रीतबहादुरलाई दिएको पीडा देखेर प्रहरीको जागिर छाडेर हिँडछन् , हरिद्वार , ऋषिकेश , वृन्दावन आदि ठाउँमा गएपनि उनीभित्र दन्केको पश्चातापको ज्वाला मत्थर हुनसकेन।
अन्त्यमा उनी घर फर्किए, उनले गोठभित्र गहिरो खाल्डो खनेर गाडेर राखेको पेस्तोल झिकेर त्यो पेस्तोल प्रहरी कार्यालयमा बुझाएपछि उनी हतियार तथा सरकारी खरखजाना चोरीको अपराधमा कारागारमा पुगे।
रीतबहादुरले जेलबाट छुटेपछि आफूले चोरेको भनेर त्यत्रो पीडा खपेको, कैदी जीवन बिताएको पेस्तोल त आफूले भाइ भनेर माया गरेका मानिसले पो चोरेर लगेको रहेछ, उसले त्यसो गर्ला भन्ने आफूले सपनामा पनि नसोचेको भन्ने थाहा पाए। त्यसबाट रीतबहादुरलाई ठूलो पीर पर्यो।
रीतबहादुर फलफूल, बिस्कुटको झोला बोकेर कारागार पुगे। रीतबहादुरले कारागार पुगेर त्यहाँका स्टाफसित अधिकारी थरका पूर्व प्रहरी जवान पेस्तोल चोरी अपराधमा जेल सजाय भोगिरकोका ती व्यक्तिलाई बोलाइदिनु भने।
पूर्व प्रहरी जवान आइपुगे, उनी रीतबहादुरलाई देख्नासाथ डाँको छोडेर रुन पो थाले। रीतबहादुरले उनलाई भने “मैले त्यस्तो माया गरेका मान्छेले मलाई किन त्यत्रो धोका दियौ भाइ? मैले तिम्रो के बिगारेको थिएँ? ” उनले सोधे।
रीतबहादुरतिर हेरेर पूर्व जवान रोइरह्यो, भन्यो “दाइ, मलाई माफ गर , मबाट अक्ष्यम्य गल्ती भएको छ। माफ गर दाइ , मलाई माफ गर!”
यातनाले गर्दा निर्दोष व्यक्ति अपराधी बन्छ अनि दोषी सडकमा हुन्छ भन्ने कुराको एउटा बिर्सिन नसकिने घटना हो यो।
(श्री गुरागाईं , गोरखापत्रका पूर्व प्रबन्ध सम्पादक, मधुपर्क , मुना , बालमञ्जरी , शमीका पूर्व सम्पादक , आरआर क्याम्पस , गोल्डेन गेट कलेजका पूर्व आंशकि प्राध्यापक हुन् )
Facebook Comment