विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई धरहरा उक्लिँदा ५० प्रतिशत छुट दिइने

डिसी नेपाल
८ मंसिर २०८१ १३:१५

काठमाडौं । धरहरा चढ्न विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुट दिइने भएको छ।

यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएकोमा अब धरहरा उक्लिन शुल्क तिर्नुपर्ने छ। धरहरा चढ्न प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क निर्धारण गरिएको छ।

विद्यार्थी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई भने उक्त रकममा ५० प्रतिशत छुट दिइने सहरी विकास मन्त्रालयले जनाएको छ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई ९ मंसिर, २०८१ देखि धरहरा सञ्चालन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिँदै शुल्कमा पनि स्वीकृति प्रदान गरेको हो।

मन्त्रालयको प्रस्ताव अनुसार प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति १००० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।।

धरहरामा पार्किङ गर्दा चार पाङ्ग्रे सवारीका लागि प्रतिघन्टा २० रुपैयाँ र दुई पाङ्ग्रे सवारीलाई १० रुपैयाँ शुल्क निर्धारण गरिएको छ। धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ तोकिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्त्वका विज्ञापन गर्न प्रतिघन्टा ५ हजार तोकिएको छ। धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकनका लागि प्रतिघन्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *